राजनीति

सीमा निर्धारण टुंग्याएर चैतसम्म स्थानीय निर्वाचन गर्ने कांग्रेस माओवादी समझदारी

साउन १२, २०७३

    काठमाडौं : नयाँ सरकार गठनका लागि गठनबन्धन निर्माण गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरेका छन्। बुधबार सिंहदरबारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताको बैठकले चैतभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी राजनीतिक सहमति जुटाउने समझदारी बनाएका हुन्।

    'स्थानीय तहको संरचना अझ वैज्ञानिक र प्रभावकारी बनाउन स्थानीय तहको संख्या तथा सिमाना निर्धारण आयोगलाई सहयोग गर्ने र त्यसको निम्ति प्रमुख राजनीतिक दलहरूसँग परामर्श गर्ने' समझदारी भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    केपी ओली नेतृत्वको सरकारले आउँदो मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको थियो। तर नेपाली कांग्रेस सरकारले एकलौटी ढंगले निर्वाचन घोषणा गरेको भन्दै विरोधमा थियो। माओवादी केन्द्र पनि स्थानीय तहको संख्या र सिमाना निर्धारण नगरी पूरानो संरचनाअनुसार हुने स्थानीय निर्वाचनको विरोधमा थिए।  

    स्थानीय तहको सिमाना तथा संख्या निर्धारण गर्न सरकारले 'गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग' गठन गरेको थियो। गत वर्ष चैतमा गठन भएको आयोगको कार्यकाल एक वर्ष अर्थात् आगामी फागुनसम्म रहने संवैधानिक व्यवस्था छ।

    बिहान बसेको कांग्रेस माओवादी बैठकले आयोगसँग 'जतिसक्दो चाँडो प्रतिवेदन माग्ने' समझदारी गरेको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए।

    बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत नेता सहभागी थिए। यस्तै माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहभागी थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]