राजनीति

संसदमा प्रचण्ड भावुक, भने : 'मेरो अस्थिरताले एमालेलाई नै धेरै फाइदा भयो'

फोटो : रासस
साउन १९, २०७३

    काठमाडाैं : प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा बोल्दा निकै भावुक भए। अहिले  देशका बिभिन्न ठाउँमा बाढी पहिरोबाट ज्यान गुमाउनेहरुलाई श्रद्धान्जली दिएर मन्तव्य सुरु गरेका उनी बेलाबेलामा आक्रोशित पनि भए। तर मन्तव्यको अन्तिममा उनी निकै भावुक बने। सशस्त्र युद्धको स्मरण गर्दै गर्दा प्रचण्डको गला समेत अवरुद्ध भयो। 

    भावकु हुँदै के के भने प्रचण्डले? पढ्नुस् उनकै शब्दमा

    विगतले मलाई सँधै भावुक बनायो र बनाउँछ। एउटा व्यक्ति र नेताको रुपमा म एउटा किताब हुँ भन्ने मेरो दावी छ। मेरो सबल पक्ष के? मेरो दुर्बल र कमजोर पक्ष के भन्ने यहाँसम्म आउँदा मेरा सबै राजनीतिक सहयात्री, सबै दलका नेता र नेपाली जनतालाई राम्रोसँग थाहा भएको छ।

    मेरो योगदान र कमजोरीका कारणले देशलाई भएको योगदान र क्षतिबारे पनि देश र इतिहासले मूल्याङ्कन गरिरहेको छ। मैले एउटा ठूलो सशस्त्र विद्रोहको नेतृत्व गर्ने, अनि एउटा ऐतिहासिक शान्ति प्रक्रियाको नेतृत्व गर्ने, अनि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गर्ने, राष्ट्रिय सवालसँग सम्बन्धित हुँदै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र पार्टी विभाजनदेखिका सबै पीडाहरु मैले भोगेको छु। 

    म एउटा सामान्य गरिब किसानको छोरो हुँ। मेरो कल्पना पनि थिएन म प्रधानमन्त्री बनौँला भन्ने। एउटा सामान्य गरीब किसानको छोराले देशमा प्रधानमन्त्री हुने कल्पना गर्ने कुरा धेरै दूर कुरा हो। समाजका बेथिती, अन्याय, असमानता शोषणसँग कुँडिएर त्यसका विरुद्ध जानुपर्छ भन्ने आफ्ना अग्रजहरुका कुरालाई सपना र आदर्शका रुपमा अघि बढ्दै गएको एउटा सामान्य सिपाही जस्तो थिएँ र छु अझै पनि। जागिर खाँदै गर्दा एउटा हाइस्कुलबाट पूर्णकालीन भएर म कम्युनिष्ट आन्दोलनमा लागेँ। कालान्तरमा गर्दै जाँदा देशव्यापी सशस्त्र विद्रोहको सुप्रिम कमाण्डर बनेछु। त्यो बन्ने पनि मेरो सपना थिएन। बडो विचित्र हुँदो रहेछ मान्छेको जीवन।

    यस क्रममा म बाट कमजोर र भूलहरु भएकै छ। मलाई त्यसको हेक्का हुन्छ। मलाई साथीभाईहरु र जनताले पनि अलिक बढी भावुक, अस्थिर भन्छन्। सकारात्मक चाहनेले गतिशील, डाइनामिक र सिर्जनशील पनि भन्छन्। रिस उठेको बेला अस्थिर छन् कुराको ठेगान छैन भन्छन्। मलाई त्यसको राम्रो हेक्का छ। आलोचना गर्नेहरुको कोणबाट भन्नुपर्दा, म अलिअलि अस्थिर नभएको भए नेपालमा जनयुद्ध के हुन्थ्यो होला? शान्तिप्रक्रिया के हुन्थ्यो होला? संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था के हुन्थ्यो होला? म अलिअलि अस्थिर नभएको भए माधवजी, झलनाथजी, केपीजी के हुन्थ्यो होला? मेरो अस्थिरताले कहिले यहाँहरुलाई धेरै नै फाइदा पुर्‍याएको छ। 

    देशलाई कति फाइदा पुर्‍याएको छ। यसलाई अस्थिरता भनेर मूल्याकंन गर्ने हो कि गतिशीलता भनेर मूल्याङ्कन गर्ने हो मैले अहिले केही भन्नु छैन। यो त कि जनताको हातमा छ कि इतिहासको हातमा छ, मैले केही दावी गर्नु छैन। म जहिले पनि राष्ट्र र जनताको हितमा लडेर हिडेको छु। म अन्तिमसम्म राष्ट्र र जनताको हितमा लडिरहन्छु भन्ने प्रतिज्ञा दोहोर्‍याउन चाहन्छु। 

    सबै राजनीतिक दलका साथीहरुसँग राष्ट्रिय मुद्दाहरुमा सहकार्य गरी निरन्तर अघि बढौं, सहमतिद्वारा यो देशलाई अघि बढाऔं। पुनर्निर्माण, मधेस, जनजाति, थारुले उठाएको मागको सम्बोधन गर्न हामी नमिली सम्भव छैन। हामी एउटै डुंगामा छौँ। यो डुंगा डुबे हामी यो संसदमा रहेका सबै डुब्नेछौं।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]