राजनीति

प्रधानमन्त्री रिबन काट्ने कार्यक्रममा नजाने, भन्छन्- 'फेरि पनि फस्ने सम्भावना छ'

साउन २२, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दोश्रो पटकको सत्ताआरोहणलाई जोखिमपूर्ण अवसर भएको बताएका छन्।

    गोरखा काठमाडौं जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले अहिले संसदमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको उपस्थिति तथा राष्ट्रिय अन्तराष्ट्रिय अवस्थाका कारण प्रधानमन्त्री पदको प्राप्ति जोखिमपूर्ण अवसर भएको बताएका हुन्।

    'हामी निकै चुनौतीपूर्ण मोडमा छौँ, पहिलो संविधानसभापछि पनि म प्रधानमन्त्री थिएँ, त्यतिबेला चुनाव जितेको र क्रान्तिबाट आएको भर्खरको रापताप थियो, हामीले धेरै गर्न चाह्यौँ तर सकेनौँ। अहिले त तेश्रो स्थानमा छौँ', उनले भने, '१० वटा समूह एकतापछि अब हामी एक नम्बर भइसक्यौं भन्ने मान्यतामा अघि बढ्नुपर्छ तर संसदमा त ८२ वटा टाउको गनिने हो त्यसैले यो जोखिमपूर्ण अवसर हो।'

    उनले विगतमा सरकार चलाउँदा आफूबाट गल्ती भएको स्वीकार गर्दै अब त्यसबाट शिक्षा लिएर चुनौतीको सामना गर्ने बताए। 'हामीले एकताबद्ध भएनौं भने यो चुनौती र जोखिम दुर्घटनातिर पनि जान सक्छ', उनले भने। उनले माओवादी विगतमा पनि जोखिमसँग खेल्दै आएको भन्दै जोखिम उठाउने बानी परेपनि कहिलेकाँही जोखिम पार गर्न नसकेर फस्ने सम्भावना पनि रहेको बताए।

    'गाडी चलाउन जान्नेहरु गाडी चलाउँदा नै दुर्घटनामा पर्छन्, पौडी खेल्न जान्नेहरु पानीमै डुब्छन्', उनले भने, 'हामी पनि जोखिम उठाउँदै आएको भएपनि यसपटक सही सलामत पार हुन्छौं भन्ने छैन त्यसैले धेरै नै सचेत हुनुपर्छ।'

    प्रधानमन्त्री प्रचण्डले आफू अब औपचारिक कार्यक्रम उद्घाटन र रिबन काट्ने कार्यक्रममा भन्दा नागरिकको काममा बढी सहभागी हुने बताए। 'म कुरा भन्दा काममा ध्यान दिने विचारमा छु, यस्ता कार्यक्रममा बढी हिँडे भने जनताको काममा ध्यान दिन सकिँदैन त्यसैले अपवाद बाहेक उद्घाटन र रिबन काट्ने भन्दा राष्ट्र र जनताको काम गर्छु। ४८ घण्टादेखि यही अभ्यास गर्दैछु।'

    प्रधानमन्त्री प्रचण्डले २०७४ माघभित्र संघ प्रदेश र स्थानीय निकायको चुनाव नगरेमा राजनीतिक षड्यन्त्रमा पर्ने खतरा रहेकाले सचेत भएर अघि बढ्नुपर्ने बताए।

    उनले भारत र चीनसँग सम्बन्ध सन्तुलित ढंगले अघि बढाउने पनि बताए। आफूले प्रधानमन्त्री भएको पहिलो निर्णयमा नै भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता अनुदान दिने निर्णय गरेको र अब एक दुई दिनमा नयाँ घोषणा गर्ने पनि दावी गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]