राजनीति

एमाले स्थायी समिति बैठक सुरुः छलफलमा सरकार फेर्ने बहसदेखि पार्टीभित्रको विवादसम्म

फोटोः सिबी अधिकारी/रासस
जेठ २२, २०७३

    काठमाडौं : दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ। खासगरी प्रमुख सत्ता सझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो। 

    एमालेले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको ‘तीनबुँदे भद्र सहमति’लाई लिएर दुवै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विवाद चुलिएको बताइन्छ। 

    वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन्। 

    केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका जिम्मेवार नेता पनि विगतको सहमतिअनुसार सरकार परिर्वतनको कसरतमा छन्। यद्यपि एमालेभित्रका एकथरि नेताले भने मुलुकको अहिलेको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतिको दिशामा पार्टीलाई अघि बढाउनुपर्ने तर्क राख्दै आएका छन्। 

    सरकार परिवर्तन लगायत पार्टीभित्र देखिएका यावत् विषयलाई समाधान गर्न एमाले स्थायी समिति बैठकमा केही दिन बहस चल्नेछ। मुलुकको वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले लिनुपर्ने धारणा र पार्टीको आन्तरिक जीवनमा देखिएका सवाललाई स्थायी समितिले छलफल गरी निर्णय लिने पार्टीका प्रवक्ता योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो। 

    “बैठकमा यसअघि भएका विभिन्न सहमतिलाई कसरी लिएर जाने भन्नेमा अहिलेको राष्ट्रिय राजनीतिले सहमतिको आवश्यकता महसुस गरिरहेको छ, त्यसैले सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दललाई समेत समावेश गरी कसरी बृहत्तर राष्ट्रिय सहमति कायम गर्न सक्छाँै सो विषयमा छलफल हुन्छ”–उहाँले भन्नुभयो । 

    स्थायी समिति बैठकका पाँच कार्यसूची छन्। समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, दलभित्रको आन्तरिक विषय, केन्द्रीय कमिटीको निर्णयानुसार प्रदेश कमिटी गठन, पार्टीका केन्द्रीय निकायको सल्लाहकार परिषद् मनोनयन तथा व्यवस्थापिका–संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका निम्ति दलले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ। बैठक केही दिन लम्बिने एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]