काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
- लक्ष्मी गारु / भक्तपुर- आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी । हिन्दू धर्मावलम्बीका भगवान् कुमारको जन्मदिन साथै नेवार समुदायको महत्वपूर्ण र वर्षको अन्तिम पर्व सिठी नखः ।
आज भगवान् कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा‘ खाने पर्व ।
नेवार समुदायमा सिठी नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । पहिलो सिठी नखः अर्थात् कुमार षष्ठी, महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । कुमारको पूजा–आराधना गर्नाले बर्सातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको श्रेष्ठ बताउनुहुन्छ ।
दोस्रो यस पर्व सँगै नेवार समुदायमा रोपाइँ सुरु भएको सन्देश दिने भएकाले किसान कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाती राखेर किसान अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफूलाई तयार पार्ने चाडका रुपमा रहेकाले पनि यसले विशेष महत्व राख्ने गरेको उहाँको कथन रहेको छ ।
सिठी नखःले परापूर्वकालदेखि पानीका मुहान सधैँ सफा राख्नुपर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनुपर्दछ भन्ने सन्देशसमेत सिठी नखःले दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउनुहुन्छ ।
त्यसैले नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलनसमेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधारा सरसफाइ गरेर सिठी नखः पर्व मनाइने गर्छ ।
यस चाडमा नेवार समुदायले विशेषगरी मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ । साथै भर्खरै गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पीठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र बर्खायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।
खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिठी नखःमा खाने बारा, चटामरी लगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने भएकाले पनि आजको दिनमा बारा, चटामरी खाने प्रचलन चलेको उहाँको भनाइ छ ।
यस दिन किसानले खेतबारीमा काम गर्दैनन् । एकाबिहानै घरमा रहेको गाईवस्तुको गोबर मल, कम्पोस्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरी बारा लगायतका पकवान खाने चलन छ । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुति रहेको पाइन्छ ।
सिठी नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।