समाज

चिडियाखाना व्यवस्थापन गर्न प्राधिकरण बनाउने सरकारको तयारी

जेठ ३१, २०७३
    • भीष्मराज ओझा

काठमाडौं : सरकारले मुलुकभर सञ्चालनमा रहेका चिडियाखाना व्यवस्थापन र नियमन गर्न राष्ट्रिय प्राणी उद्यान प्राधिकरण बनाउने भएको छ। 

व्यवस्थापिका–संसद्को वातावरण समितिमा चिडियाखानाको नीति, योजना र भावी कार्यक्रमका बारेमा भएको छलफलमा सांसद्हरुको सुझावपछि वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले छिट्टै राष्ट्रिय प्राणी उद्यानसम्बन्धी प्राधिकरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रममा मुलुकभर २५ भन्दा बढी सानास्तरका चिडियाखाना कानुनविपरीत सञ्चालनमा रहेको आवाज उठेपछि सांसदहरुले त्यसबारेमा तत्काल आवश्यक नीति नियम बनाउनुपर्ने सुझाव दिनुभएको थियो। 

समितिले मुुलुकभरका चिडियाखानालाई व्यवस्थापन, सुदृढीकरण र नियन्त्रण समेत गर्न केन्द्रीय चिडियाखाना प्राधिकरणको कानुनी व्यवस्थाको अभाव देखिएको जनाएको छ। 

समितिका सभापति जनकराज चौधरीले चिडियाखानासम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्ने विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसद्मा तीन महिनाभित्र पेस गर्न वन तथा भू–संरक्षण मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिनुभयो। 

समितिले सो चिडियाखानाको विस्तारको रुपमा सूर्य विनायकमा विस्तार गर्न र काठमाडौँ उपत्यका बाहेक उपयुक्त अन्य स्थानमा समेत चिडियाखानाको व्यवस्था गर्नका लागि कारबाही अगाडि बढाउन समेत मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिएको छ। 

समितिले नेपालका विभिन्न स्थानमा रहेका ससाना चिडियाखानाको वर्तमान अवस्था, संख्या र नियमनसम्बन्धी अवस्थाबारे एक महिनाभित्र जानकारी उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ। 

सांसदहरुको सुझावअनुसार मन्त्री सापकोटाले केन्द्रीय सदर चिडियाखानाको नेतृत्वमा प्राधिकरण स्थापना गरिने र त्यसले मुलुकभरका चिडियाखानालाई आवश्यक पर्ने मापदण्ड निर्धारण गरी निमयन गर्ने बताउनुभयो। सरकारले प्रत्येक प्रदेशमा एक÷एक प्राणीउद्यान निर्माणका लागि सर्वेक्षण गर्न आगामी आर्थिक वर्षको बजेट रकम विनियोजन गरेको छ। 

मन्त्री सापकोटाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो हुँदै गएकाले नै भक्तपुरको सूर्यविनायकमा २४५ हेक्टर वन क्षेत्रमा खुला प्राणी उद्यान बनाउने कार्य अघि बढेको जानकारी गराउनुभयो। मन्त्रालयले सो उद्यानको शिलान्यास आगामी असार ९ गते गर्ने तयारी गरेको छ। 

सूर्यविनायकमा निर्माण गरिने उद्यान वन्यजन्तुलाई खुलारुपमा विचरण गर्ने गरी बहुआयामिक रुपमा विकास गरिने र उक्त उद्यान एकान्तपन, मनोरञ्जन र अनुसन्धानका लागि समेत उपयोगी हुने मन्त्रालयको भनाइ छ। 

सूर्य विनायकमा प्राणी उद्यानका लागि सरकारले अघिल्लो आवमा रु ५० लाख बजेट निकासा गरेको थियो भने यस आवमा रु चार करोड ५० लाख निकासा गरिसकेको छ। 

बैठकमा सदर चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल करिब १०४ प्रजातिका ७५४ विभिन्न वन्यजन्तु रहेको र हात्ती, गैँडा, बाघ, भालु, हिप्पो, नीलगाई जस्ता ठूला स्तनधारी वन्यजन्तुका लागि उक्त स्थान ज्यादै साँघुरो भएकाले व्यवस्थापनमा कठिनाइ भएको जानकारी गराउनुभयो। 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो। विसं २०५२ देखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको चिडियाखानामा वार्षिक करिब १० लाख दर्शकले अवलोकन गर्ने गरेका छन्। 

बैठकमा सांसदहरु वीरबहादुर बलायर, सकलदेव सुतिहार, डा दुमनसिंह थापा, पुरुषोत्तम पौडेल, राजाराम स्याङतान, पर्शुराम तामाङ, मधु शाही ठकुरी तथा सरिता प्रसार्इंले सरकारलाई सदर चिडियाखाना प्राथमिकतामा राख्न र त्यहाँ रहेका ठूला जनावरलाई सार्नका लागि प्राणी उद्यानको काम तत्काल अघि बढाउन सुझाव दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]