काठमाडौं : व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन नहुनाको कारण छानबिन गर्न आइतबार पाँच सदस्यीय संसदीय उपसमिति गठन गरेको छ।
बैठकले छानबिनबाट महाप्रबन्धक लक्ष्मण हुमागाईं लगायत कर्मचारीलाई पदीय जिम्मेवारी बमोजिमको कामकारबाही गर्न नदिने तत्काल व्यवस्था मिलाउन सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिमा भएका छलफलका विषयलाई टेलिभिजनले प्रसारण नगरेको सम्बन्धी विषय उठेपछि बैठकले त्यस्तो काम आगामी दिनमा नगर्न र प्रसारण सामग्रीलाई सन्तुलित तथा व्यवस्थित तुल्याउन पनि टेलिभिजनलाई निर्देशन दिइएको छ।
नेपाल टेलिभिजनमा भएको भनिएको अनियमितताको छानबिनका लागि गठन गरिएका छानबिन समितिले महाप्रबन्धक सहितका केही कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो।
नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको विज्ञापनदाता ‘वर्ल्ड मिडिया ब्यान्ड हाउस’कम्पनीले उपलब्ध गराउनुपर्ने रकमको चेक नक्कली फेला पारेसँगै अनियमितताको घटना सार्वजनिक भएको थियो। विज्ञापनदाता कम्पनीले नक्कली चेक दिएको थाहा पाएपछि तत्कालीन महाप्रबन्धककै पहलमा विज्ञापनदातालाई पक्राउ गरिएको थियो।
यसअघि समितिको आइतबारको बैठकमा सदस्यहरुले टेलिभिजनको अनियमितताको घटना दलीय आधारमा होइन, यथार्थका आधारमा छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।