फिचर

मधेश आन्दोलन सूत्रपात भएको दिन माघ ५

मधेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि

माघ ५, २०७५

    जनकपुरधाम : मधेशको वर्षौंदेखिको सपना साकार भएको छ। २००७ सालदेखिको संघीयताको एजेण्डा बल्ल आएर कार्यान्वयन भएको छ। देशमा ७ वटा प्रदेशहरू निर्धारण भएका छन्। सबै प्रदेशमा सरकारसमेत निर्माण भइसकेको छ। संघीयताका लागि मधेसमा ठूलो जनविद्रोह भयो।

    २०६३ सालमा सुरु भएको मधेस जनविद्रोह संविधान जारी हुँदासम्म ३ पटक मधेस आन्दोलन भएको थियो। दर्जनौं मधेसी जनताले आफ्नो ज्यानको वलिदानी दिए। सयौं आन्दोलनकारीहरु घाइते भए। सयौं अशक्त भए। सयौँमाथि राजनीतिक मुद्दाहरु दर्ता भए। सयौं नागरिकहरु अहिले पनि आन्दोलनकै कारण जेलमा छन्। यति महँगो मूल्य चुकाएर अहिले मधेसले प्रदेश नं.२ मा मधेस प्रदेश तथा मधेश सरकार निर्माण गर्न सफल भएको छ।

    आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त गठबन्धनले प्रदेश नं.२ मा सरकार निर्माण गरेको छ। संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत गद्दीको नेतृत्वमा मधेसमा सरकार निर्माण भएको छ।

    ३ फागुनमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तिनै जनालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। त्यसैले वर्तमान सरकारबाट मधेशले सुशासन र विकासका साथसाथै रोजगारीको अपेक्षा राखेका छन्।

    शहीदलाई सम्मान

    नेपाली कांग्रेस र नेकपा एमालेको गढ रहेको प्रदेश नं.२ मा मधेसवादी दलले सरकार बनाउन सक्नुमा मधेस आन्दोलनमा मधेसी जनताले दिएको सहादत नै महत्वपूर्ण भएका कारण नवनिर्वाचित सरकारले पनि सहिदलाई बढी अर्थ दिएका छन्। प्रदेश २ को मन्त्री परिषद्को पहिलो ऐतिहासिक बैठकबाट शहीद परिवारहरुप्रति मधेस सरकार अति नै संवेदनशील रहेको कुरा उनीहरुले गरेको निर्णयबाट पनि बुझ्न सकिन्छ।

    प्रदेश-२ मन्त्रिपरिषद्को पहिलो बैठकले मधेश आन्दोलनका शहीद परिवार र घाइतेका परिवारको हितका लागि महत्वपूर्ण निर्णयहरु गरेको थियो। सोहीअनुरुप आज वलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले रोजगार र राहत दिने भएको छ। मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका ५८ सहिदको तथ्याङ्क फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ४६ जनाका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने भएको छ।

    अन्य १२ शहीदमा बाराको फेटा १ का स्व. मजिद महम्म्द मंसुरकी श्रीमतीले अस्पतालमा जागिर पाएकी छिन्। पर्सा वीरगंज १६ का स्व. सोहनप्रसाद गुप्ताकी श्रीमती वडा सदस्यमा निर्वाचित छिन्। पकहा मैनपुरका स्व. सत्रुधन पटेलकी आमा उपमेयरमा निर्वाचित छिन्। महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ का रामशिला मण्डलका रोजगारी गर्ने कोही छैनन्। त्यसैगरी महोत्तरीकै जलेश्वर नगरपालिकाका स्व. गणेशप्रसाद चौधरीकी बुहारी र स्व. रोहनप्रसाद चौधरीकै आमा प्रदेशसभामा सदस्य पदमा निर्वाचित छिन्।

    यसैगरी मनरा सिसवा नपा ८ का स्व. उमेश कापरको श्रीमती उद्योग पर्यटन मन्त्रालयमा जागिर पाइसकेकी छिन्। महोत्तरी गाउँपालिका वडा नं. २ का राम विवेककुमार यादवको श्रीमती मुख्यन्यायााधिवक्ताको कार्यालयमा जागिर पाएकी छिन्। जनकपुरधाम वडा नं. १९ का नितु यादवका दाजु नगर प्रहरीमा जागिर पाइसकेका छन्। सर्लाही बरहथवा नगरपालिका १७ का रामएकवाल रायकी पत्नी २०६४ सालमा सभासद् भइसकेकी छिन्। त्यसैगरी सप्तरी हनुमाननगर ३ का रामकृष्ण राउत र राजविराज ७ का स्व. दिलिपकुमार साहको परिवारमा जागिर गर्ने कोही छैनन्।

    त्यसैगरी, आन्दोलनको क्रममा गोली लागि घाइते भएका तथा शरीर अंगभंग भएकालाई अवस्था हेरी ५० हजार देखि ३ लाख सम्म राहत उपलब्ध गराइने भएको छ। पहिलो चरणमा ९७ जना घाइतेलाई राहत दिने निर्णय मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकबाट भएको छ। पुस २९ गते बसेको मन्त्रिपरिषदको बैठकले मधेश आन्दोलनका घाइतेलाई राहत तथा सहिद परिवारबाट एकजनालाई रोजगारीको व्यवस्था मिलाउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए।

    किन मनान्छ लिदानी दि

    २०६३ माघ ५ गते का दिन सिरहा जिल्लाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो। तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानसपटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाका लागि दर्ज भएको छ।

    यसै दिन मधेशीको पहिचान, स्वाभिमान र आत्मसम्मानको लागि आन्दोलनको सूत्रपात भएको दिनको रुपमा सम्झिने गरिन्छ। माघ ५ गतेको घटनाले सिर्जना गरेको मधेस आन्दोलनको उत्कर्ष उर्जाले नै नेपाललाई संघीय मुलुकमा रुपान्तरण गरेको बुझाइले समेत यो दिनलाई मधेशवादी शक्तिले विशेष रुपमा बलिदानी दिवस मनाउने गरेको छ।

    वितेको ११ बर्षमा मधेश र देशले माघ ५ को जगमा धेरै कुरा पाएको छ। यसले नेपालको राजनीतिमा नवीन युगको शुत्रपात गरेको छ जसमा उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँ उचाई र नयाँ आत्मविश्वास प्राप्त गरेको छ।

    मधेशी पहिचान राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित भएको छ। यो कुराको लागि सकडौं वीर मधेसीहरुले सहादत दिएका छन। यो वलिदानी दिवस उनीहरुको सहादतको प्रतिको उच्च सम्मान र श्रद्धाञ्जली हो। तर धेरै कुरा अझ पनि पाउन बाँकी छ। तसर्थ बलिदानी दिवस सहिदहरुको बाँकी सपना पूरा गर्ने हाम्रो संकल्प पनि हो। यो आन्दोलन मधेश र मधेशी जनताले सम्पूर्ण अधिकार प्राप्त नहुन्जेल जारी रहने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षीय मण्डलका संयोजक राजेन्द्र महतो बताउँछन्।

    यसैबीच, आज सिरहा जिल्लाको लहानमा शहिद रमेश महतोको शालिक निर्माण भएको स्थानमा प्रदेश सरकारले बलिदानी दिबस मनाउदै छ। प्रदेश सरकारले शहिद तथा घाइते परिवारलाई लहानमा राहत तथा रोजगारीको नियुक्ति दिने भएको छ।

गोविन्द महतो

महतो ०७६ वैशाखसम्म थाहाखबरका धनुषा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]