समाज

पार्वतीको 'लाइफलाइन' श्रीस्वस्थानी व्रतकथा भोलिदेखि

माघ ६, २०७५

    काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबार शुरु हुँदैछ।

    स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ। 

    यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ। नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए।

    पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन्। व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन्। आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ। मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ। 

    व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्। खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए।

    स्वस्थानीको महिमा 
    यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न्। पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ। 

    देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनको लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकी थिइन्।

    यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। 

    एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ। श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ। 

    राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ। शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ। 

    स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ। 

    परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महीनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ। एक महीनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ। 

    शालिनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताए। स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ। 

    “मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो” उनले भने।

    मेला मूलआयोजक समितिका अनुसार यहाँ भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्वस्थित बनाउने तयारी भएको छ। 

    मेलाको तयारी पूरा 

    माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले शनिबार यहाँ पत्रकार सम्मेलन गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

    माघ ७ गतेदेखि एक महीनासम्म चल्ने शालिनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भएको मूलआयोजक समितिका अध्यक्ष्ग गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए।

    समितिले गएको वर्ष ३० लाख दर्शनार्थी सहभागी भएकामा वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको जनाएको छ । 
    मेलामा राखिएका विभिन्न पसलबाट पसलहरुले जथाभावी पैसा लिने गरेकाले समितिले यसवर्ष बजार व्यवस्थापन तथा अनुगमनका लागि छुट्टै टोली बनाएको उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]