समाज

सुख्खा क्षेत्रमा हुने 'ड्रागन' फलको व्यावसायिक खेती

माघ १३, २०७५

    धनकुटा : धनकुटा नगरपालिकाले सुख्खा क्षेत्रमा ड्रागन फलको खेती अभियान सुरु गरेको छ। व्यावसायिक कृषिका लागि एभोकाडोको राजधानी घोषणाा गरेको नगरपालिकाले सुख्खा क्षेत्रका लागि 'ड्रागन' फलको खेती सुरु गरेको हो।

    मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर अति सुख्खाग्रस्त क्षेत्र र आर्थिक रुपमा बिपन्न रहेको वडा ८ मा खेती सुरु गरिएको हो। सो क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए। क्याक्टस प्रजातिको वनस्पति ड्रागन फलको व्यवसायिक खेतीको सम्भावना खोज्दै पकेट क्षेत्रको रूपमा विकास गर्न धनकुटा नगरपालिकाले स्रोत केन्द्र निर्माण गर्ने भएको छ।

    विशेष गरेर सुख्खा क्षेत्रमा यसको व्यवसायिक खेतीको सम्भावना रहेकोले धनकुटा नगरपालिकाले नगरपालिकाको सबै भन्दा सुख्खा क्षेत्र मानिएको वडा ८ लाई ड्रागन फलको स्रोत केन्द्र तथा पकेट क्षेत्र बनाउन लागेको हो। अल्पसंख्यक आठपहरिया समुदायको बाहुल्यता रहेको ८ नं. वडामा खानेपानीको समस्या रहेको छ। सुख्खा ग्रस्त क्षेत्र भए पनि यहाँका किसान बर्खाको समयमा मकैजस्ता निर्वाहमुखी बालीको मात्रै खेती गर्छन्। सो क्षेत्रमा हुने खेतीको सम्भावना पहिल्याउँदै जाँदा ड्रागन फलको सम्भावना देखिएकाले स्रोत केन्द्र तथा पकेट क्षेत्रको रूपमा विकास गर्न कार्यक्रम सुरु गरिएको धनकुटा नगरपालिका प्रमुख तामाङले बताए।

    ‘ड्रागन फल खेतीको लागि यहाँको भूगोल उपयुक्त देखियो’ उनले भने ‘ड्रागन फलको खेतीले यहाँका स्थानीयको जीवनस्तर उकास्ने विश्वास नगरपालिकाले लिएको छ।’ नगरपालिका क्षेत्रका टेकुनाला, चुलिवन, सान्ताङ, याक्तेलगायत क्षेत्रमा ६ वटा समूह निर्माण गरिएको छ। ड्रागन फलको बिरुवा रोपाउने लक्ष्य राखेर गठन भएका ती समूहमा १४२ घरपरिवार आवद्ध छन्। समूहका सबै सदस्यलाई ड्रागन फलको सैद्धान्तिक तथा व्यवहारिक तालिम घरआँगनमै उपलब्ध गराइएको थियो। मेयर कृषि पर्यटन कार्यक्रमका अभियन्ता जीवनकुमार राईका अनुसार तालिम पश्चात ती सदस्यलाई ७० प्रतिशत अनुदानमा १ हजार ५५५ ओटा बिरुवा वितरण गरिएको छ।

    दुई वर्षभित्रमा ५० हजार बोट लगाइने नगरपालिकाको तयारी छ। यो फल नेपालमा झण्डै १५ वर्ष अघि भित्रिएको हो। नेपालमा सर्वप्रथम डा. जगन्नाथ राईले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा यसलाई भित्र्याएका थिए।

    ड्रागनबाट वार्षिक ७ लाख कमाउँदै अभियान्ता

    मेयर कृषि पर्यटन कार्यक्रमका अभियन्ता राईका अमेरिकी इञ्जिनियर साथीले भियतनामबाट कोसेलीका रुपमा सानो टुक्रा ड्रागन राईलाई ल्याइदिएका थिए। त्यही बिरुवा राईले आफ्नै करेसाबारीमा ३० बोट बनाएर फलाइरहेका छन्। हाल त्यही टुक्राले सिर्जना गरेको ड्रागन फलबाटै वार्षिक ७ लाखसम्म आम्दानी लिइरहेको अभियान्ता राईको भनाई छ। उनको सिर्जनाले नेपालको २० जिल्लामा सानो ठूलो परिमाणमा ड्रागन फलको खेती विस्तार भएको उनले बताए।

    ड्रागन फलका फाइदा

    ड्रागन फल खेती सम्भाव्यता बारे पुस्तक समेत लेखिसकेका कृषि अभियन्ता जीवनकुमार राईका अनुसार यो फल मेक्सिकोको रैथाने फल हो। क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँगले खेती गर्न सकिन्छ। यसमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइन्छन। यो क्यान्सर प्रतिरोधात्मक धेरै गुण भएको र यसको नियमित सेवनले मानिसमा क्यान्सर लाग्न दिँदैन।

    पछिल्लो समय यस फलको महत्व ज्यादै बढेर गएको छ। यसको खेतीबारीमा तथा गमला दुवैमा उत्तिकै गर्न सकिने उनले बताए। ‘यसको विरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ’ उनले भने, ‘एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ। यसको फल बजारमा प्रतिकिलो ६०० रुपैयाँ पर्छ।’

    ड्रागन फलको बजार नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको उनले दावी गरे। उनका अनुसार भर्खरै मात्र नेपाल प्रवेश गरेको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन्। यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली-जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन गर्न सकिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]