समाज

मदन भण्डारी मार्गमा गुणस्तरहीन कालोपत्रे

माघ २२, २०७५

    उदयपुर : मदन भण्डारी लोकमार्गमा गुणस्तरहीन कालोपत्रे भएको रहस्य खुलेको छ। ठेकेदार कम्पनी जेडआइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सनले मापदण्डविपरीत गुणस्तरहीन कालोपत्रे गरेको रहस्य खुलेको हो।

    राष्ट्रिय गौरवको आयोजना मानिएको मदन भण्डारी राजमार्गमा सुरु गरिएको कालोपत्रे सरकारी पक्ष मौन बस्दा गुणस्तरहीन भएको सर्वसाधारणको भनाइ छ। 
    ‘गुणस्तरहीन काम भएको छ’, त्रियुगा नगरपालिका- ७ का कुलबहादुर दनुवारले भने, ‘ठेकेदार कम्पनीले सरकारी पक्षलाई मौन बस्न लगाएर गुणस्तरहीन काम गरेको हो।’ कालोपत्रे पनि मापदण्डविपरीत भएपछि लोकमार्ग आसपासका सर्वसाधारण विरोधमा उत्रिएका छन्।

    कालेपत्रेको चौडाइ ११ मिटर हुनुपर्नेमा १० मिटर मात्र भएपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन्। विगतमा स्थानीयसँग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयलाई झुक्याएर गुणस्तरहीन काम गरेको सर्वसाधारणको भनाइ छ। एक जना कालोपत्रेकै भुक्तभोगी स्थानीयले मट्टीतेल, डढेको मोविल मिसाएर अलकत्रा पकाएको, डबल बिटविन सर्फेस ट्रिटमेन्ट प्रणालीमा कालोपत्रे नभएको बताए।

    ‘अलकत्रा छरेको दुई दिनसम्म पनि मट्टीतेल र डढेको मोविलको भाग छुटिएर बसेको छ’, उनले भने, ‘अलकत्रा जाम नभएपछि सुख्खा बालुवा प्रयोग गरेको, कालोपत्रेको मोटाइ कम भएको छ तर सरकारी पक्ष मौन छ।’ चुहाडेचोक आसपासमा करिव १५ सय मिटर लोकमार्गमा गुणस्तरहीन काम भएको चर्चा छ। त्यस क्षेत्रबाहेकका ठाउँमा ११ मिटरको काम हुने तर आफ्नो ठाउँमा १० मिटर मात्र भएपछि स्थानीयले ११ मिटर चौडाइ नै कालोपत्रे गर्न मागसमेत राखेको स्थानीय राजेश कार्कीले बताए।

    ‘सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको छ’, उनले भने, ‘सडक आयोजना र ठेकेदारले जनताबीच पारदर्शी काम नगरेकाले पनि आर्थिक चलखेलको आशंका छ।’ ठेकेदार कम्पनीका प्रतिनिधिले ११ मिटर नै हुनुपर्ने भए पनि सडकले १० मिटर मात्र कालोपत्रे गर्न निर्देशन दिएको जेडआइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सन प्रतिनिधि छिरिङ लामाले बताए।

    ‘हामीले सडक कार्यालयले नै भनेबमोजिम गरेका छौँ', उनले भने। धरान-चतरा-सिन्धुली-हेटौँडा सडक (मदन भण्डारी लोकमार्ग)अन्तर्गत पूर्वी खण्डमा कालोपत्रे सुरु भएको छ।

    सरकारको पहिलो प्राथमिकतामा परेका धरान-चतरा-सिन्धुली-हेटौँडा सडक (मदन भण्डारी लोकमार्ग)अन्तर्गत पूर्वी खण्डको त्रियुगा नगरपालिकाको चुहाडे-गाईघाट खण्डबाट कालोपत्रे थालिएको हो। त्यही कालेपत्रे गुणस्तरहीन नभएको सडक आयोजनाको कार्यालय पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए। ‘हामीले जुन काम गर्न निर्देशन दिएका छौँ, त्यही काम भएको छ’, उनले भने, ‘चर्चा गरिएको जस्तो कुनै पनि काम गुणस्तरहीन भएको छैन।’

    कटिङ गरिएको भागमा ११ मिटर हुने र जुन ठाउँमा माटो भरेर सतह उठाइएको हुन्छ, त्यो ठाउँमा केही कम पिच भएको हुने खनालको भनाइ छ। सडक आयोजनाको पूर्वी खण्डमा सडक र पुल दुवै निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण सुरु भएको झन्डै अढाई वर्षपछि कालोपत्रे गर्न थालिएको हो। कालोपत्रेसँगै करिव सडक निर्माणको ५० प्रतिशत काम सकिएको आयोजना कार्यालय प्रमुख खनालले जानकारी दिए।

    भित्री मधेसको उयदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दुन क्षेत्रलाई जोड्ने यो सडक पूर्व-पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको हो। पुलको ६० प्रतिशत काम भइसकेको धरान-चतरा-सिन्धुली-हेटौँडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ। दुई खण्डमा विभाजन गरी लोकमार्ग निर्माण भइरहेको छ।

    पूर्वी खण्डको १३५ किलोमिटर सिन्धुलीको भीमानदेखि धरान खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्टलगायत संरचना निर्माण धमाधम भइरहेको आयोजना पूर्वी खण्ड कार्यालय गाईघाटका प्रमुख खनालले जानकारी दिए। पूर्वी खण्डको १३४ किलोमिटरमा ४३ वटा पुल निर्माण हुँदै छन्। तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको लोकमार्गको पूर्वी खण्डतर्फ जेडआइसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको हो। 

    ११ मिटर चौडाइको सडकमा दुई पत्रमा पिच सुरु भएको छ। पहिलो लेयरमा ११ मिटर चौडाइ, छ सेन्टिमिटर मोटाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइ, चार सेन्टिमिटर मोटाइमा पिच हुने खनालको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]