समाज

मेलम्ची आयोजनाको ३० वर्ष: ठेकेदार बेपत्ता, काम अलपत्र

माघ २४, २०७५

    सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम यतिवेला ठप्प छ। निर्माण कम्पनी इटालियन सिएमसीले योजनाको अन्तिम चरणमा पुगेर काम छाडेपछि मेलम्ची खानेपानी आयोजना अल्झिएको हो। 

    ठेकेदार कम्पनीले काम गर्न छोडेपछि नेपाल सरकारले कसरी काम पुरा गर्न भन्नेमा लागेको छ। तर, फेरि त्यही कम्पनीलाई काम लगाउने कि अर्को नेपाली कम्पनीलाई कामको जिम्मा दिने भन्नेमा अन्योलता छ। सरकाले मेलम्ची आयोजनाको काममा फर्कन ठेकेदार कम्पनीलाई १४ दिनको समय दिएको थियो। सकारले दिएको समय बित्दासमेत निर्माण कम्पनी काममा फर्कने छाटकाट गरेको छैन।

    सकारले ५ माघमा  १४ दिन समयसिमा तोकेको थियो। १४ दिनभित्र काममा नफर्के सरकारले ठेक्का रद्द गर्ने जनाएको थियो। आयोजनाको कामलाई पूर्णता दिन मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिबीच वार्ता समेत सुरु भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ। ठेकेदार कम्पनीले बीचैमा काम छोडेर हिडेपछि मेलम्ची आयोजना पूरा कहिले हुन्छ भन्ने एकिन समयसीमा तोक्न सक्ने अवस्था छैन।

    मेलम्चीको पानी काठमाडौं लैजान काम सुरु भएको दुइ दशक बितिसक्यो। तर, पटक-पटकको सरकार परिर्वतन हुँदैमा मेलम्चीको पानी कहिले काठमाडौं पुग्छ भन्नेमा अन्योलता छ। ठेकेदार कम्पनी र सरकार बीचको जुहारीले गर्दा मेलम्चीको पानी काठमाडौँ पुर्‍याउन अझै वर्षौं लाग्न नसक्ला भन्ने अवस्था छैन। 

    के हुन्छ ठेक्का रद्द गरे?

    ठेकेदार कम्पनी र सरकारी टोलीले आयोजनाको विषयमा छलफल गरिरहेको छ। ठेकेदार कम्पनीलाई दिएको १४ दिनसम्ममा पनि सम्पर्कमा नआएपछि सरकारले कसरी काम गर्ने भन्नेमा बिकल्पहरुको समेत खोजी गरिरहेको छ। सरकारले अहिलेको निर्माण कम्पनीसँग ठेक्का रद्द गरेमा नयाँ प्रक्रियाबाट बाँकी काम गर्नुपर्ने हुन्छ। बाँकी कामको लागि करिब अब ६ महिना समय लाग्ने आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। उनका अनुसार आयोजनको विषयमा कसरी काम गर्ने सरकारले टुंगो लगाए पनि निरन्तर काम गरेमा पनि ६ महिनाभन्दा धेरै समय लाग्ने बताए।

    मेलम्ची आयोजनाको काम कहिले पुग्छ भन्नेमा अहिलेको अवस्थामा भन्न नसक्ने समेत उनले जनाए। सरकारले मेलम्ची आयोजनको बाँकी काम नेपाली सेनालाई जिम्मा दिने प्रस्ताव समेतअघि सारेको छ। नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं पुर्‍याउने लक्ष्यको साथ काम भइरहदा वित्तीय संकट परेपछि सिएमसीले आयोजनाको काम छोडेको जनाएका छ।

    कति बाँकी छ काम?

    दुई दशकअघिबाट काम सुरु गरेको आयोजनाको ब्रेकथ्रु गत चैतमा नै गरेको थियो। अम्बाथानबाट सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्ग निर्माण भएको छ। जसमध्ये ४१० मिटरको मात्रै अन्तिम ‘फिनिसिङ’ को काम हुन बाँकी रहेको आयोजनाले जनाएको छ। जसमा ८८५ मिटरमा ढलानको काम बाँकी छ। सुरुङ भित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई वटा भ्यान्टिलेसनको काम पनि बाँकी रहेको अधिकृत पन्तले जनाए। 

    ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’को काम भने यसअघि नै सकिसकेको छ। सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ। सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न बाँकी छ। जसमा अनलाइनका माध्यमबाट दैनिक अनुगमन प्रणालीको उपकरण राख्न समेत बाँकी रहेको आयोजनाले जनाएको छ। सबै काम सक्नका लागि आयोेजनाको धेरै समय नलागेपनि सरकारले कस्को हातमा आयोजनाको सुम्पन्छ अहिलेसम्म थाहा छैन। 

    यसरी भएको थियो आयोजनाको सुरु 

    २००१ मा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आधिकारिक सुरुवात भएको भए पनि २०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो। २०४७ मा स्टेनले एन्ड एशाेसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने २०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो। खानेपानी आयोजना निर्माणको लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रुप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो।

    सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो। त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो। मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्य अनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको थियो। 

    पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर, दोस्रो चरणमा याङरीबाट १७ करोड लिटर र तेस्रो चरणमा लार्केबाट दैनिक १७ करोडसमेत गरी काठमाडौं उपत्यका दैनिक ५१ करोड लिटर पानी लैजाने योजना रहेको छ। आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ।

    प्रतीक्षामा काठमाडौंवासी

    आयोजनाको काम पूरा गर्ने समय पटक-पटक फेरिँदै छ। सरकारले कहिले मेलम्चीको पानी काठमाडौं ल्याउँछ भन्ने काठमाडौंवासीको प्रतीक्षाको विषय हो। काकाकुल काठमाडौँवासीलाई मेलम्चीको मेलम्चीको पानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाको काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको लागि पाइप गाड्ने काम पनि सम्पन्न भइसकेको छ।

    सरकार परिर्वतन भएपिच्छे मेलम्ची खानेपानी आयोजनाको सुरुङ र विभिन्न निर्माणस्थलको निरीक्षण गरिने गरिएको छ। तर आयोजनाले काठमाडौंमा चाँडै पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको कैयाैँपटक भइसकेको छ। खानेपानी मन्त्री बिना मगरले पनि गएको दशैँमा नै मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेकी थिइन्। फेरि, उनको आयोजनासम्पन्न हुने मिति तिहारपछि सरेको थियो। 

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]