समाज

सवारीसाधनमा हिरोइनका 'कामुक' तस्विर टाँसे कारबाही, हटाउन थालियो झल्लर

फागुन ११, २०७५

    उदयपुर : कतिपय सार्वजनिक सवारीसाधानमा चालकको आँखै अगाडि पर्नेगरी ध्वजापताका झुण्ड्याएको र नायिकाका कामुक तस्विर टाँसेको पाइन्छ। प्रदेश १ मा गुड्ने सवारीसाधनमा अब भने त्यसो गर्न नपाइने भएको छ। सवारीसाधनमा ध्ववजापताका र पोस्टर राखे कारबाही हुने भएको छ।

    सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ ट्राफिक प्रहरीले सवारी साधानमा टाँगिएका, झुण्ड्यिाइएको झल्लर, पोस्टर र माला हटाउन थालेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार चालकको आँखैअगाडि सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुण्ड्याएर र टाँगेर सवारी चलाए कारवाही गर्न थालिएको छ।

    प्रदेश १ का १४ वटै जिल्लाका सडकमा गुड्ने सवारी साधनमा झल्लर, पोस्टर र माला हटाउने अहिले अभियानै चलेको छ। ‘धागोबाट बनेका झल्लर, विभिन्न ब्यानर, चुरा, पोते, धागो, धेरै कुरा लेखिएका स्टिकर, नायक नायिकाका पोस्टर, विभिन्न पम्प्लेट, खेलौना, प्लाष्टिकका माला र फूल झुण्ड्याएर, टाँगेर र टाँसेर हिड्न पाइँदैन,’ उनले भने, ‘१४ जिल्लामा अहिले हटाउने काम सुरु भएको छ। सजावटका नाममा आँखै अगाडि पर्नेगरी राखेर सवारी चलाउँदा चालकको ध्यान केन्द्रित त्यतै हुँदा दुर्घटना हुने गरेको अनुसन्धानबाट खुलेको छ।’

    एसपी पौडेललले दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाइ, सडक ट्राफिक सचेतना, सवारी साधनको गति मापन गर्न राडार गन, मापसे चेकजाँचमा ब्रेथलाइजरको प्रयोग, सडक छेउछेउमा राखिएको विज्ञापनको होर्डिङ बोर्डसमेत हटाउन थालेको छ। 

    प्रदेश १ का सवारी चालकले अनिवार्य  चालक पोशाक लगाउनु र बसपार्क सरसफाइ अभियान समेत चलाएको छ। ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्नका लागि थालेको नयाँ अभियानमा सडक छेउछा राखिएको होडिङ बोर्ड पनि हटाउन थालेको छ। चालु आर्थिक वर्षको माघसम्म प्रदेश १ मा ७२३ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १०४ जनाको मृत्यु भएको छ भने एक हजार ३२७ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।

    ट्राफिक प्रहरीले सुरु गरेको दुर्घटना न्यूनीकरण अभियान धेरै राम्रो भएको चालकहरूको भनाइ छ। ‘चालकको आँखा अगाडि राखिएको टाँसिएको झल्लर, नायिकाहरूको कामुक पोस्टर हटाउनु पर्छ,’ गाईघाट–काठमाडौं यात्रुवाहक बसका चालक यादव राउत भन्छन्, ‘कहिलेकाँही घुम्ती तथा टनिङ आइपुगेको हुन्छ, मस्तिष्कको आँखा त्यही पोस्टरमा घुमिरहेको हुन्छ। त्यसले दुर्घटनामा बल पुर्याउँछ।’

    प्रदेश १ मा टिपर सञ्चालनमा पनि समय निर्धारण गरिएको छ। टिपरका राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेदेखि दैनिक चार घण्टा प्रतिबन्ध लगाइएको छ। मुख्य राजमार्ग र सहायक राजमार्गमा  टिपरलाई रोक लगाइएको हो। पुस १ गतेबाट बिहान ९ देखि ११ र बेलुका ३ बजेदेखि ५ बजे सम्म टिपर आवागमनका रोक लगाएको हो। 

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]