समाज

सुमोका कारण अस्त-व्यस्त हेटौंडा, चोक-चोकमा विचौलिया हावी

फागुन १७, २०७५

    हेटौंडा : हेटौंडा-काठमाडौं छोटो मार्ग भएर सञ्चालन हुने सुमोका कारण फेरि हेटौंडा बजार अस्त-व्यस्त बनेको छ। हेटौंडाका सुमो व्यवसायी र विचौलियाको मिलेमतोमा बजार क्षेत्रका विभिन्न स्थानमा सुमो लुकाएर बजार क्षेत्रबाटै टिकट बिक्री वितरण हुन थालेसँगै हेटौंडा फेरि अस्त-व्यस्त बनेको हो। 

    हेटौंडा उपमहानगरपालिकाले हेटौंडा १ चौकीटोलमा एकीकृत सुमो काउण्टर सञ्चालनमा ल्याए पनि व्यवसायी र विचौलियाले त्यसलाई बाइपास गरेर अगाडि बढ्दा हेटौंडा बजारक्षेत्रमा विचौलिया सल्बलाउने वातावरण सिर्जना भएको हो। विशेष गरी सुमो व्यवसायीले हेटौंडाको जरुवा टोल, संगमचोक, देवीपथ तथा पिपलबोट भित्रपट्टि सुमो लुकाउने गरेका छन्। हेटौंडाको बुद्धचोकदेखि मकवानपुर उद्योग बाणिज्य संघसम्म विचौलिया दिनभर हातबाटै टिकट बिक्री गरी सुमो भरिरहँदा समेत सम्बन्धित निकाय मुकदर्शक बन्दा यस्तो अवस्था सिर्जना भएको हो।

    ‘बिहान पाँच बजेटबाटै हातमा टिकट लिएर युवा टिकट बेचिरहेका हुन्छन्। उनीहरूले सुमो काउण्टरमा जान लागेको यात्रुलाई समेत अटो रिक्साबाट ओह्रालेर टिकट भिडाउँछन्।’ हेटौंडा १ पिपलबोटनजिकै व्यवसाय सञ्चालन गरिरहेको एक व्यवासयीले भने, ‘हातमा टिकट बेच्ने युवाले जथाभावी बोलेर व्यवसाय नै सञ्चालन गर्न गाह्रो भइसक्यो’, उनले भने। उनले चौकी टोलमा काउण्टर सञ्चालन भएपछि केही सहज अवस्था सिर्जना पुरानै अवस्था देखिएको बताए।

    हेटौंडा बजार क्षेत्रका व्यवसायीले मुख्य सडकबाट करिब ५०० मिटर टाढा सुमो काउण्टर खोलेर टिकट बुकिड मात्र गर्ने र चौकी टोलबाटै सुमो छुट्ने व्यवस्था मिलाउने भने पनि त्यसलाई अटेर गर्दा यस्तो समस्या देखिएको हो। ‘चौकीटोलमा खानेपानी, विद्युत्, सरसफाइ र चमेना गृहसहितको एकीकृत सुमो काउण्टर रहेको छ। हामीले व्यवसायीलाई पटक-पटक त्यहीबाट सुमो सञ्चालन गर्न  र पार्किङ गर्न समेत आग्रह गरेका छौं। व्यवसायीले विचौलियालाई नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो।’ 

    हेटौंडा-१ का वडाअध्यक्ष तथा एकीकृत सुमो काउण्टरका सञ्चालन समिति संयोजक सविन न्यौपानेले भने,‘उपमहानगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यवसायीले वेवास्ता गर्दा बजार क्षेत्रमा विचौलिया हावी छन्। त्यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतसहितको बैठक बस्दा समेत व्यवसायीले अटेर गरिरहेका छन्।’ ‘काउण्टरबाटै सुमो सञ्चालन गर्नुको विकल्प छैन। त्यसका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न उपमहानगरलाई सम्पूर्ण व्यवसायीले आग्रह गर्नुपर्छ। यात्रुलाई सहज रुपमा सुरक्षित यात्रा गराउन समयमै व्यवसायी सचेत हुनुपर्छ’, वडा अध्यक्ष न्यौपानेले भने।

    व्यवसायीले सुमो काउण्टर व्यवस्थित नभएको, आफूलाई आवश्यक पर्ने टेवल कुर्सी उपमहानगरपालिकाले उपलब्ध नगराएको र वर्षातका समयमा ज्यादै समस्या सिर्जना भएको बताउँदै आइरहेका छन्। व्यवसायी र हेटौंडा उपमहानगरपालिकाको असमझदारीका कारण सुमोको यात्रा गर्ने यात्रुलाई प्रत्यक्ष असर परिरहेको छ। उपमहानगरपालिकाको आग्रहमा लागू भएको टाइम कार्ड समेत केही सुमो व्यवसायीले वेवास्ता गरिरहेको बुझिएको छ।

    हेटौंडाबाट कुलेखानी सिस्नेरी र फाखेल हुँदै दैनिक करिब ७०० सुमो आउ-जाउ गर्ने गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]