राजनीति

राजपालाई प्रधानमन्त्रीको सुझाव : जातीय र क्षेत्रीय राजनीति गर्न मधेसमा ठाउँ छैन

‘बोक्सी हुदैन, छ भने मतिर खनिए हुन्छ’

फागुन २५, २०७५

    रौतहट : प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हालैमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसकेन्द्रित राजनीतिक दल राष्ट्रिय जनता पार्टीलाई ‘जनतालाई झुक्याउने जातिवादी एवं क्षेत्रियतावादी राजनीति’को युग समाप्त भएको बताएका छन।

    शनिबार रौतहटको गरुडामा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले राजपाको नामै किटेर अब विकासको राजनीति शुरु भएको र जातिवादी र क्षेत्रीय राजनीति गरेर भोट लिने युगको समाप्त भएको बताए।

    राजपाले केहीदिन पहिले मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेसमा आन्दोलन चर्काउने धम्की दिइरहेका बेला प्रधानमन्त्री ओलीले मधेसको केन्द्रमा आएर राजपालाई चेतावनी दिएका हुन। उनले यसरी नै ‘छुद्र’ राजनीति गर्न थाले मधेसमा ठाउँ नपाउने बताए। ‘आधारहीन छुद्र राजनीतिलाई मधेसमा ठाउँ छैन’, राजपाको नामै किटेर ओलीले थपे, ‘राजपालाई म भन्न चाहान्छु, एक प्रदेशमा एक पटक जनतालाई झुक्याएर, अल्मल्याएर अलिकति बढी भोट पाइयो भनेर धेरै फूर्तीफार्ती नगर्न सुझाव दिन चाहान्छु। सरकारविरुद्ध फेहरिस्त बनाउने होइन, सरकार सिंगो देशको विकासमा लागेको छ।’

    एकतिर सरकारले काम गरिरहेको र जनताको लागि काम गरिरहेको भनेर राजपाको आलोचना गरेका प्रधानमन्त्रीले अर्कोतिर शुक्रबार मात्रै मधेसमा पृथकतावादी अभियान त्यागेको घोषणा गरेका सिके राउतको उदाहरणसमेत दिए। राजपाले संविधान संशोधनलगायतका माग गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको बेला प्रधानमन्त्रीले राजपालाई सम्झाउन सिके राउतको उदाहरण दिएका हुन। उनले स्वतन्त्र मधेसको नारा लगाउँदै हिँडेका राउतको नेतृत्व अब संविधान मान्ने, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र जनअभिमत मान्ने बाटोमा आएको तर राजपा भने उल्टो बाटोमा हिँड्न खोज्दै जनतालाई भ्रममा पार्ने काममा लागेको भन्दै आलोचना गरेका हुन।

    सम्बोधनका सुरुमै प्रधानमन्त्रीले जनताको उपस्थितिले नेकपाको मधेसमाथि हेर्ने दृष्टीमा दोष छ भन्नेहरूलाई जवाफ भएको बताए। उनलले मैथिलि भाषामा उक्त कुरा भनेका थिए। 

    प्रधानमन्त्रीले एकातिर मधेसको विकासमा आफू दत्तचित्त भएर लागेको फेहरिस्त राखे भने अर्कोतिर मधेसबाट निर्वाचित भएर गएका पार्टीले अप्ठेरो पार्ने मात्रै होइन फेरि अप्ठेरो पार्न खोजेको कुरा जनतामाझ राखेका थिए।

    प्रधानमन्त्रीले मधेसको विकासका लागि तराई मधेस विशेष पूर्वाधार कार्यक्रम अन्तर्गत ३५२ करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको र त्यसले यहाँका जनताको जीवनस्तरमा परिवर्तन आउने बताए। उनले पूर्वपश्चिम राजमार्गसँग मधेसका जिल्ला सदरमुकामलाई चारलेनको पक्की सडकले जोड्ने, पूर्वपश्चिम विद्युतीय रेल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिँचाई, कृषी कार्यक्रम, युवा रोजगार, बालबालिकालाई विद्यालय पढाउनेदेखि कुसंस्कार र कुसंस्कृति हटाउने योजनामा आधारित मन्त्व्य राखेका थिए। मेधसी जनताको जीवनस्तर उकास्ने आशा गरिएको हुलाकी मार्गको निर्माण नेपाल सरकारले नै गर्नेदेखि लिएर मधेसी जनताका दुःख बनेका भारतले सीमानामा निर्माण गरेका बाँध भत्काउनेसम्मका कुरा गरेर प्रदेश २ का आठओटै जिल्लाबाट आएका नेता, कार्यकर्ता र जनताको मन जित्ने प्रयासमा प्रधानमन्त्रीले आधा घण्टा खर्चिएका थिए।

    प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम राम्रो भएको र त्यसलाई साथ दिने बाचा गर्दै प्रधानमन्त्री ओलीले सरकार देशमा भइरहेका राम्रा कामको समर्थन गर्ने, विकासमा सम्पूर्ण ध्यान दिने भरमग्दुर प्रयास गरेका थिए। उनले भ्रष्टाचारको विरोधमा लाग्न जनतालाई पनि आग्रह गरेका थिए। सुशासनदिने र भ्रष्टाचार हुन नदिने आफ्नो पार्टीको मान्यता रहेको र जसबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई कार्यान्वयन गर्ने उनले बताए।

    प्रधानमन्त्री ओलीले आफ्ना आलोचकहरूको वशेषता यसरी बताएका थिए, ‘सरकारले पिच गरेका बाटोमा गाडी गुडाउँदै, सरकारले निर्माण गरेका ट्यांकीबाटी पानी पिउँदै र सरकारले दिएको बिजुली बालेर सरकारले के गर्‍यो? भन्नेहरू छन।’ यस्तो आलोचनाले अब काम नगर्ने उनको भनाइ थियो।

    विगतमा अस्थिर राजनीति देखिएको र अब जनताले स्थायित्व ल्याएकाले भ्रममा नपर्ने प्रधानमन्त्रीको दाबी थियो। ‘अरू पार्टीहरूका बहुमत उहिले कहिलेका थिए तिनीहरू देखियो। अस्थिरता र अस्थायित्वका लगातार सरकार परिवर्तन हुने र काम नहुने जनताले देख्यो र भोग्यो’, उनले भने, ‘अब स्थायी सरकार चाहियो भनेर जनताले हामीलाई ल्याएका हुन। सरकार परिवर्तन भइरहने होइन, काम गर्ने, विकास गर्ने, देशलाई-जनतालाई माया गर्ने सरकार चाहियो भनेर जनताले नेकपालाई बहुमत दिएको छ।’

    ओलीले समाज परिवर्तनमा जनताको अगुवाइ गरेर अघि बढ्न नेकपाका कार्यकर्ता र जनप्रतिनिधिलाई निर्देशन दिएका थिए। उनले कृषि, सामाजिक चेताना जगाउने, पछ्यैटेपन हटाउने र विकासलाई अगाडि बढाउने कुरामा नेकपाका कार्यकर्ता र जनप्रतिनिधि अगाड बढ्नुपर्ने बताए।

    बोक्सी हुने भए चुनाव किन हुन्थ्यो?’

    मधेसका जिल्लामा बोक्सीको आरोपमा महिला कुटिएका समाचार बेलाबेला आउने गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएका हजारौँ महिलातिर हेर्दै बोक्सी नहुने र त्यस्तो भ्रममा नपर्ने आग्रह गरेका थिए। उनले भने, ‘अन्धविश्वास र कुरिती छन्। त्यसमा नजानुस्। कोही पनि बोक्सी हुँदैन। बोक्सी हुन्थ्यो भने किन चुनाव लड्नुपर्थ्यो? त्यसैलाई लगाइदियो विपक्षीलाई सखाप पार्‍यो।’

    प्रधानमन्त्रीले जोड दिँदै भने, ‘दुनियाँमा कोही बोक्सी भए मतिर खनिए हुन्छ। मलाई खाइदिए हुन्छ। कोही पनि बोक्सी हुँदैन।’

    बोक्सीका नाममा वृद्धवृद्धामाथि अपराधिक कार्य नगर्न आग्रह गरेका प्रधानमन्त्रीले शिक्षामा जोड दिन सबैलाई अनुरोध गरेका थिए।

    सम्बन्धित समाचारः 

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]