समाज

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

फागुन २८, २०७५

    काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौंमा धातु संकलनका लागि महायज्ञको तयारी थालिएको छ।

    आठ प्रकारका धातु संकलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु संकलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए।

    महायज्ञको विषयमा सोमबार चितवनबाट आई काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा उनले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताए।

    पण्डित ईश्वरकृष्ण महाराजको संकल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना गर्दैछ। महायज्ञबाट करीब पाँच करोड बराबरको धातु संकलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ। महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत छ। देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ।

    तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र ३२ लाख संकलन भइसकेको छ। झण्डै आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र संग्राहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ।

    अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिए। महायज्ञमा रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षक बनाइने आयोजकको भनाइ छ।

    सरकारबाट ५० लाख सहयोग भए पनि अर्थसँगै धातुको अभाव भएको बताइएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नकुल अर्यालले चितवनबाट काठमाडौंमा आई पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो कार्यक्रम ठूलो अवसर भएको उल्लेख गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

    महायज्ञका मिडिया संयोजक नारायण ढुंगानाले देशकै नमूना कामका लागि सञ्चारमाध्यमले सक्दो सहयोग गर्ने आश्वासन दिए। प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशको गहनाको रूपमा रहने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]