राजनीति

ठूलै शक्ति संघीयता असफल बनाउने खेलमा : सभामुख महरा

चैत १, २०७५

    धनगढी : प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता असफल गराउन ठूलै शक्ति लागिपरेको बताएका छन्। धनगढीमा जारी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख महराले भने त्यस्तो अवस्था रहँदा पनि थुपै काम भएको दाबी गरे।

    ‘अहिले हामी संघीयता कार्यान्वयको क्रममा छौँ। केही शक्तिहरू केही तत्त्वहरू संघीयता सकेसम्म यो देशमा सफल नहोस् भन्नेहरू पनि छन्, सभामुख महराले भने, त्यो मौलाउन नपाओस् भनेर हामी सचेत हुनुपर्छ।’

    संघीय संसदले गति पाउन नसकेको सभामुख महराले गुनासो गरे। उनले भने, ‘पहिलो अधिवेशन केवल उद्घाटन जस्तै भयो। दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट ल्यायौँ, मौलिक हकसँग सम्बन्धी केही कानुनहरू पास गर्‍यौँ।’ महराले तेस्रो अधिवेशन उपलब्धिमूलक भएको दाबी गरे । प्रदेश लोकसेवा मापदण्ड पास गर्नु महत्त्वपूर्ण रहेका उनले बताए। संघीय सरकारको ढिलाइले गर्दा संघीय सांसदले गति पाउन नसकेको उनले स्पष्ट पारे। ‘यहाँहरूलाई थाहा छ संघीय सरकारले विधेयक बनाउनु पर्छ, प्रस्तव तयार गर्नुपर्छ। त्यो प्रस्ताव तयार गर्न संघीय सरकारले केही ढिलाइ चाहिँ गरेकै हो।’

    संघीय संसद् स्थानीय सरकार र प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने पक्षमा रहेको उनले स्पष्ट पारे। ‘हिजो एकात्मक र केन्द्रीकृत अवस्थामा रहेको अधिकार हामी तल दिन चाहान्छौँ’ उनले भने, ‘संविधानको मर्म त्यही हो।’ केन्द्रले नीतिगत काम गर्ने, प्रदेशले योजना बनाउने र त्यो स्थानीय तहले कार्यान्वयन गर्ने गरी संविधान निर्माण गरिएको सभामुख महराले बताए।

    प्रतियोगिताका खेलहरू सुरु भएको ३ दिनपछि बुधबार औपचारिक रूपमा मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो। प्रतियोगिता उद्घाटन समारोहमा सभामुख महरासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्री उपस्थित रहेका थिए। सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का सामाजिक विकास मन्त्रीको पनि सहभागिता रहेको थियो।

    प्रतियोगिता उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले खेलकुलको माध्यमबाट प्रदेशलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए। मुख्य मन्त्री भट्टले भने ‘हाम्रो देशका युवाहरूलाई खेलमा जोड्न सक्यौँ भने अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त ढङ्गले परिचित हुन सकिन्छ।’

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको आठौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा आयोजना गरिएको मुख्यमन्त्री कपले खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदको माध्यमबाट प्रदेशमा समृद्धि ल्याउन सकिने बताएका थिए।

    बुधवारबाट सुरु भएको प्रतियोगिता ३ गते सम्पन्न हुने छ। प्रतियोगितामा  फुटबल, भलिबल, क्रिकेट र ब्याडमिन्टनका खेलहरू समावेश गरिएको छन्। प्रथम स्थान हासिल गर्ने प्रदेशलाई १५ लाख, द्वितीयलाई ८ लाख तथा तृतीयलाई ५ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र व्यवस्था गरिएको छ।

    प्रतियोगितामा प्रत्येक स्वर्ण पदक विजेतालाई १०-१० हजारको पुरस्कारको व्यवस्था गरिएको छ। प्रदेश सरकारले प्रतियोगिता सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको थियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]