राजनीति

विप्लवले हतियार नबुझाए खोस्ने प्रधानमन्त्रीको चेतावनी

विप्लवलाई चन्दा असुल गर्न दिनुपर्छ भन्ने बुद्धिजीविप्रति दया लाग्छ : प्रम

चैत ३, २०७५

    विराटनगर : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन्।

    विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजार उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाप्रति आक्रोश व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले विप्लव समूहले चन्दाका नाममा धम्क्याउने र लुटपाट गरिरहेको आरोप लगाए।

    सरकारले यस्ता गतिविधि रोक्न प्रतिबन्ध लगाएपछि केही बुद्धिजीविले नकारात्मक टिप्पणी गरेको विषयमा आफूलाई त्यस्ता बुद्धिजीविप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ थियो। ‘हिंसात्मक र ध्वंसात्मक गतिविधि नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति नकारात्मक टिप्पणी गर्ने बुद्धिजीविहरुप्रति दया लागेर आउँछ,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा यस्तो तमासा गर्न पाइँदैन।’

    प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न सबैलाई आग्रह पनि गरे। विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने पनि बताए। ‘सरकारले हतियार बुझाउन समायवधि दिएको छ,’ ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ।’

    यस्तै, प्रधानमन्त्री ओलीले सिके राउतले जनताको अभिमत मान्छु भनेर सरकारसँग सहमति गरेको भन्दै प्रधानमन्त्री ओलीले सहमतिलाई केहीले राष्ट्रघात भनेर आरोपप्रति खण्डन पनि गरे। राउतसँगको सहमतिसँगै विखण्डनवाद समाप्त भएको ओलीको दाबी थियो। प्रधानमन्त्री ओलीले विखण्डनवाद र हिंसाको राजनीति समाप्त भएको भन्दै देश समृद्धिको अभियानमा लागेको पनि बताए।

    कृषिबजार उद्घाटन

    विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफुट थोक बजारको संचालनमा आएको छ। प्रदेश १ कै नमूनाको रूपमा लिइएको यो तरकारी बजारको स्टक क्षमता देशभरमै ठूलो रहेको छ। उक्त कृषि बजारको प्रधानमन्त्री ओलीले उद्घाटन गरे।

    गत असारमै निर्माण सम्पन्न गरी हस्तान्तरण हुने बताइएको उक्त कृषि बजार विराटनगर महानगरपालिका र कटहरीको सीमानामा पर्छ।

    ७ दशकअघि स्थापना भएको विराटनगरको गुद्री बजार साँघुरो भएपछि नेपाल सरकार र विश्वबैंकको संयुक्त १५ करोड ४८ लाख ४९ हजारको लगानीमा बजार सेड निर्माण भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव यज्ञधोज जिसीले जानकारी दिए।

    स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ५ बिघा २ धुर जग्गा ५० वर्षका लागि लिजमा लिएर तरकारी बजार निर्माण गरिएको हो। उक्त तरकारी बजारको चावी प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई सोही समारोहका अवसरमा हस्तान्तरण गरे।

    थोक बिक्रेताका लागि गोदामसहितको बजारमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटरमा सटर र कृषकले आफ्नो उत्पादन आफैं बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्गमिटरको सेड निर्माण गरिएको छ। समारोहमा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले अब प्रदेशको उत्पादनको बजारीकरणमा समस्या नहुने भन्दै कृषकले ढुक्क भएर उत्पादन गर्न आग्रह गरे।

    सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जग्गा खण्डीकरण भएकोले अब सहकारीको माध्यमबाट धेरै कृषिजन्य वस्तु उत्पादनमा लाग्नुपर्नेमा जोड दिए। सरकार दिनदिनै एक कदम अगाडि बढिरहेको र नयाँ नयाँ काम गरिरहेको बताउँदै उनले किसानले पनि डोकोमा कृषि सामाग्री उत्पादन गर्नेभन्दा ट्रकका ट्रक उत्पादन गर्नेतिर ध्यान दिनुपर्ने बताए।

    उद्घाटन भएको तरकारी बजारमा भण्डारण एरिया देशकै सबैभन्दा ठूलो छ भने ५० हजार मेट्रिक टन तरकारी कारोबार हुने भएकोले यसको अत्यन्तै ठूलो महत्वका साथ हेरिएको छ। बजारमा तीन तले प्रशासनिक भवन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह र बैंक काउण्टरसमेत रहनेछ।

    तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार व्याट्री, सिसिटिभी, सुरक्षा गार्ड पोस्ट र गाडी पार्किङको व्यवस्थासमेत बजारमा रहेको निर्माण कम्पनी भूमि कन्स्ट्रक्सन प्रालिले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]