फिचर

'मर्नु न बाँच्‍नुका' खानेपानी आयोजनाहरू

कतिपयमा १९ वर्षमा आधा पनि काम भएन

चैत १७, २०७५

    बाग्लुङ : कुनै आयोजनाको अवधि कति होला? ठ्याक्कै यति नै भन्ने नभए पनि सामान्यतया साना आयोजना दुईदेखि चार र ठूला आयोजना पाँचदेखि १० वर्षमा पूरा हुने गरेका छन्।

    तर, बाग्लुङको एउटा सानो आयोजना १९ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन। बागलुङ नगरपालिका–११ (साबिकको रायडाँडा गाविस)लाई खानेपानी उपलब्ध गराउन सुरु भएको रायडाँडा खानेपानी आयोजना १९ वर्ष बितिसक्दासमेत पूरा भएको छैन। २०५६ भदौ ७ मा  यो आयोजना सुरु भएको थियो।

    उपभोक्ता समितिमार्फत काम भइरहेको योजनाको हालसम्मको प्रगति ८३ प्रतिशत मात्रै छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत उपभोक्ता समितिलाई बर्सेनि बजेट उपलब्ध हुँदै आएको छ। तर सरकारले हरेक वर्ष उपलब्ध गराउने बजेटले आयोजनाको सानातिना काम गर्न समेत पुग्दैन।

    ‘उपभोक्ताले गरेको कामभन्दा निकै कम बजेट आउँछ, कामको भुक्तानी दिनै पुग्दैन,’ आयोजनाका अध्यक्ष दीपेन्द्र थापाले भने, ‘समयमा भुक्तानी नभएकाले सबै काम सकियो भन्न पाइएको छैन।’ थापाका अनुसार आयोजनाअन्तर्गत अब केही बस्तीहरूमा धारा पुर्‍याउने, जमिनबाहिर रहेको पाइपलाई जमिनमुनि गाड्नेलगायतका काम मात्रै बाँकी छ।

    २०५६ मा स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेर सुरु भएको बुर्तिबाङ खानेपानी आयोजनाको पनि १९ वर्ष समय बितेको छ। तर अझै पूरा भएको छैन। प्रगति भने ४८ प्रतिशत मात्रै भएको छ।

    द्वन्द्वको समयमा साबिकको जिल्ला विकास समितिलाई खानेपानी आयोजनाका लागि लाखौँ रुपैयाँ बजेट आउँथ्यो। तर जिविसले यो योजनालाई १० हजार रुपैयाँका दरले दिने गरेको थियो। रायडाँडाका सर्वसाधारण सबैको घरमा निर्वाध पानी आउने दिन कहिले आउँछ भन्न सकिन्न। चार हजार ७२२ घरधुरीमा खानेपानी पुर्‍याउने गरी सुरु भएको आयोजना 'मर्नु न बाच्नु'को अवस्थामा पुगेको छ।

    चालु आर्थिक वर्षमा यो आयोजनाका लागि तीन लाख ९४ हजार रुपैयाँ बजेट बिनियोज भएको छ। गत वर्ष उपभोक्ताले गरेको कामको भुक्तानी नपाएकाले यस पटक उपभोक्ता समिति बजेट सम्झौता गर्न नै आएको छैन। प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिम्मेवारी लिएर यो योजनाका बाँकी काम अघि बढाएको छ।

    ‘गत वर्षकै पैसा पाइएको छैन, यो वर्ष बजेट भए/नभएको विषयमा जानकारी भएन,’ अध्यक्ष थापाले भने, ‘नयाँ स्टिमेट गरेर आउने बजेटले गत वर्षको भुक्तानी गर्न मिल्दैन। नयाँ काम गर्न उपभोक्ता तयार छैनन्।’ २०७७ असार मसान्तसम्म आयोजनाको काम सक्ने दाबी डिभिजन कार्यालय गरेको छ। दुई करोड ९० लाख ५० हजार रुपैयाँ लागत स्टिमेट गरिएको यो योजनामा हालसम्म दुई करोड १८ लाख ६२ हजार रुपैयाँ खर्च भैसकेको डिभिजन कार्यालयका सूचना अधिकारी  विक्रमप्रसाद साहले बताए।

    रायडाँडा खानेपानी आयोजनाजस्तै अवस्था अरूको पनि छ। २०५६ मा स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेर सुरु भएको बुर्तिबाङ खानेपानी आयोजनाको पनि १९ वर्ष समय बितेको छ। तर अझै पूरा भएको छैन। प्रगति भने ४८ प्रतिशत मात्रै भएको छ।

    हालको ढोरपाटन नगरपालिकाका १२ हजार ७४४ घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु भएको योजना समयमा मागे जति बजेट नपाएकै कारण पूरा हुन नसकेको हो। 

    आयोजनाका आधारभूत कामबाहेक केही पनि काम भएको छैन। ‘बर्सेनि बजेट आउँछ क्रमगत योजना भएकाले बजेटले थेग्ने काम मात्रै हुन्छन्। बाँकी काम अर्को वर्षलाई सरेर जान्छन्,’ सूचना अधिकारी साहले भने, ‘हामीले दिएको बजेट कार्यान्वयन गराउने र चाहिने बजेट माग्ने मात्रै हो।’ 

    ढोरपाटनमा खानेपानी पुर्‍याउन योजनाको प्रगतिको हिसाबले हेर्ने हो भने अझै २० वर्ष कुर्नुपर्ने देखिन्छ। यो आयोजनाको कुल लागत ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ हो। हालसम्म नौ करोडभन्दा खर्च भैसकेको छ। बाँकी काम पुरा गर्न झन्डै तीन करोड रुपैयाँ आवश्यक पर्ने कार्यालयले जनाएको छ। यो आयोजना बाग्लुङपश्चिमकै ठूलो आयोजना हो। 

    जिल्लाको दक्षिण क्षेत्रको केन्द्र कुश्मिसेरा बजारमा खानेपानीको आपूर्ति गर्ने गरी बृहत् कुश्मिसेरा खानेपानी आयोजना सुरु भएको नौ वर्ष पुग्यो। जैमिनी नगरपालिकाको केन्द्र (साबिकको कुश्मिसेरा गाविस) लाई खानेपानी पुर्‍याउने गरी सुरु भएको योजनाको प्रगति ५० प्रतिशत मात्रै छ। 

    आयोजनाको मुहानदेखि रिजर्व ट्याङ्कीसम्मका काम भएका छन्। आयोजनाअन्तर्गतका टुक्रे योजनाहरूको काम पनि अलपत्र अवस्थामा छन्। पाँच हजार ३८२ घरधुरीलाई खानेपानी पुर्‍याउने लक्षका साथ सुरु भएको यो योजना पनि बजेट अभावकै कारण समयमा सम्पन्न हुन नसकेको हो। 

    कुल ६ करोड १८ लाख १८ हजार रुपैयाँ लागत अनुमान गरिएको यो योजनामा हालसम्म तीन करोड ३६ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ। यो वर्ष पनि आयोजनाका लागि सात लाख ८८ हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ। 

    सामान्यतया खानेपानी आयोजना पूरा गर्ने अवधि दुई वर्षलाई मानेर प्रारम्भिक स्टिमेट गरिने गरेको प्राविधिकहरू बताउँछन्। बाग्लुङ जिल्लामा १९ वर्ष पुरानादेखि नयाँसमेत गरी ६३ वटा खानेपानी योजना डिभिजन कार्यालयमार्फत सञ्चालित छन्। केही ठूला योजना केन्द्र सरकार मातहतमा ठेकेदार कम्पनीहरू मार्फत सञ्चालनमा रहेका छन्।

    प्रदेश सरकारअन्तर्गत सञ्चालित योजनाहरूको काम गर्दा स्थानीय सरकारसँग डिभिजनले समन्वय नगरेको गुनासो छ। ‘वर्षौं पहिला बनेका उपभोक्ता समितिका खातामा रकम पठाएर काम अल्झिरहेको छ,’ बाग्लुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘लामो समय अल्झेका योजनाको विषयमा हामीले चासो राख्दासमेत डिभिजनले बेवास्ता गर्‍यो। उपभोक्तालाई पूर्ण बजेट उपलब्ध गराएर काम गर्न कार्यालयले दिँदैन।' 

    खरिदका काम कार्यालयमार्फत हुने र जडान तथा निर्माणका काम मात्रै उपभोक्ता समितिले गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख प्रेमप्रसाद डोटेलले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]