काठमाडौँ: शून्य संख्यामा झरेको कोभिड -१९ का संक्रमित पुनः बढ्न थालेका छन्। पछिल्लो एक हप्तायता मात्रै काठमाडौँ उपत्यकामा दर्जनभन्दा ब...
धूँवाको मुस्लोमा उपचार गर्न बाध्य बिरामी
- जीवराज चालिसे -
बुटवल : प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो लुम्बिनी प्रादेशिक अस्पताल। अस्पतालको पश्चिमतर्फ पोषण पुनर्स्थापना गृहको आडैमा एक फोहोर-मैला जलाउने मेसिन अर्थात् इन्सिनेटर छ। इन्सिनेटरमा अटाई–नअटाई प्याड, सुइका डब्बा, पञ्जा, औषधिका डब्बा, रक्ताम्मे रुमाल तथा टालालगायतका औषधिजन्य फोहोर जलाउनका लागि कोचिएको छ। इन्सिनेटरको चिम्नीबाट धूँवाको मुस्लो बाहिर निस्किरहेको छ।
इन्सिनेटरमा नअटेका फोहोरलाई त्यसकै पछाडिपट्टी खुला ठाउँमा जलाउनका लागि थुप्रो पारिएको छ। थुप्रोको एक छेउबाट धूँवाको मुस्लो खुला आकासमा फैलिरहेको छ भने अर्को छेउमा बजारका छाडा चौपाया आएर चरिरहेका हुन्छन्। इन्सिनेटर रहेको ठाउँदेखि १० मिटर पूर्वमा कुपोषित बालकालिकाको उपचार गर्ने पोषण पुनर्स्थापना गृह छ।
पुनर्स्थापना केन्द्र नजिकै म्याटर्निटी वार्ड ‘प्रसूति केन्द्र’ छ। फोहोर जलाउने ठाउँबाट आएको धूँवाले पोषण पुनर्स्थापना केन्द्र, म्याटर्निटी वार्डलगायत कुष्ठरोग उपचार कक्षसम्म पनि धूँवा रुमल्लिरहेको देख्न सकिन्छ। दैनिक एक हजार जनाभन्दा धेरै बिरामी उपचारका लागि आउने लुम्बिनी अस्पतालमा जो सुकैले पनि देख्न सक्ने परिदृष्य हो यो।
पोषण पुनर्स्थापना केनद्रमा दैनिक औषत ६ जना बालबालिकाले उपचार लिइरहेका हुन्छन् भने म्याटर्निटी वार्डमा दैनिक औषत १५ जनाको डेलिभरी हुने गर्दछ। त्यहाँबाट निस्केको धूँवा अस्पतालको पछाडिपट्टी रहेको बस्तीसम्म पुग्छ। यसरी नै अस्पतालले संक्रामक फोहोर-मैलाको व्यवस्थापन गर्दै आएको छ।
दमको उपचारका लागि गुल्मीबाट अस्पताल आएका सन्तकुमार श्रेष्ठले झन् बिरामी पर्न सक्ने अवस्था रहेको बताए। ‘म जस्ता बिरामीलाई थोरै धूँवाले पनि निकै गाह्रो बनाउँछ। यहाँ फैलिएको धूँवाले मेरो खोकी रोकिएकै छैन’ उनले भने।
अस्पतालमा रसायनजन्य फोहोरलाई प्रशोधन गर्ने ‘ट्रिटमेन्ट प्लान्ट’ नहुँदा खुला ठाउँमा नै जलाएर व्यवस्थापन गर्नु परेको हो। खकार, रगत, थुक, वीर्यजन्य फोहोरमैलालाई तत्काल प्रशाेधन या नस्ट गरिनु पर्दछ नत्र मानव स्वास्थ्यका लागि यी निकै संक्रामक मानिन्छन्। संक्रामक फोहोर-मैलाको व्यवस्थापन फितलो हुँदा उपचार गर्न आउने बिरामीदेखि लिएर अस्पताल वरपरका वासिन्दाको स्वास्थ्यमा गम्भीर खेलबाड भएको उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष नर्बु लामाले बताए। ‘अस्पतालले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउनु पर्छ। यसरी धेरै मान्छेको स्वास्थ्य जोखिममा परेको छ’ उनले भने।
अस्पतालबाट दैनिक डेढ क्विन्टल फोहोर निस्किन्छ, जुन इन्सिनेटरको क्षमताभन्दा निकै धरै हो। अहिले प्रयोग गरिएको इन्सिनेटरलाई हानिकारक भएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध गरिसकेको छ। अस्पतालले सिर्जित फोहोर-मैलाका सामान्य वर्गीकरणसमेत नगरी यसै जलाउने गरिएको छ। यसबारे अस्पतालका निमित्त प्रमुख डा.विष्णुप्रसाद पौड्यालले कुनै पनि प्रतिक्रिया जनाउन चाहेनन्।
चिकित्सकहरूका अनुसार रसायनजन्य फोहोर अन्य फोहोरभन्दा बढी संक्रामक हुने हुँदा खुला ठाउँमा जलाउन हुँदैन। यस्ता फोहोर जलाउँदा उत्पन्न हुने कार्वनमोनोअक्साइन, डायोक्सिन, कार्वनडाइअक्साईड, सिएफसी नामक ग्यासहरूले मानव स्वास्थ्यमा छिट्दै नकारात्मक असरहरू देखाउन सक्ने फिजिसियन डा. नन्दु पाठक बताउँछन्। ‘डायोक्सिन र कार्वनमोनोअक्साइड जस्ता ग्यास मानव स्वास्थ्यमात्र नभई वातावरणकै लागि घातक मानिन्छन्। स्वास–प्रश्वासमा यसले मुख्य समस्या निम्त्याउन सक्छ’ उनले भने।
अस्पतालको तथ्यांकअनुसार यहाँ प्रदेशका सबैजसो जिल्लाहरूबाट दैनिक १२ सय जना बिरामी उपचारका लागि आउँछन्। यसो त यहाँ मात्र होइन, प्रदेशका सबै ठूला सरकारी अस्पतालहरूमा औषधिजन्य फोहारमैलाको सुरक्षित व्यवस्थापनको लागि आधुनिक प्रविधियुक्त ‘प्लान्ट’ छैन। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या बाँकेको भेरी प्रदेशिक अस्पताल। ती अस्पतालमा समेत प्रदुषणयुक्त वातावरणमा बिरामी स्वास्थ्य उपचार गराउन बाध्य हुने गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।