काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडौं : संवैधानिक परिषदबाट पार्टी सभापति एवं परिषद् सदस्य शेरबहादुर देउवाकाे अनुपस्थितिमा निर्वाचन आयाेगकाे प्रमुख र समावेशी आयाेगकाे सदस्य सिफारिस गरेकोप्रति कांग्रेस सांसदहरूले बुझ्नुपर्ने आग्रह गरेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। आइतबार दिउँसो बसेकाे समिति बैठकमा कांग्रेस सांसद भिमसेनदास प्रधानले चैत ११ गतेको परिषदकाे बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले कार्यव्यस्तताका कारण परिषद बैठक केही दिन सार्न अनुराेध गर्दा पनि परिषद अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेकाे र उक्त विषयमा सभापति देउवासँग थप बुझ्नुपर्ने भएकोले समिति बैठक केही दिन सार्न आग्रह गरेका थिए। समितिमा पार्टीका वरिष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्की र पुष्पा भुसाल पनि अनुपस्थित भएकाले पार्टीमा छलफल गर्नुपर्ने प्रधानको भनाइ थियाे। उनले समितिले सहमतिबाट नै समिति अगाडि जानुपर्ने धारणा राखेका थिए।
प्रतिपक्ष र सत्तारूढ दल मिलेर नै अगाडि बढ्नुपर्ने त्यसाे हुन नसके व्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा हुने प्रधानको भनाइ थियाे। समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद जितेन्द्रनारायण देवले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिप्रति कांग्रेसको असहमति नभएको तर प्रक्रियामा भने असहमति रहेकाे धारणा राखे। उनले आफूहरूलाई पार्टीमा थप छलफलका लागि समय नदिए बहिष्कार गर्नुपर्ने अवस्था आउने जानकारी गराएका थिए। नेपाल कम्युनिस्ट पार्टीका सांसद याेगेश भट्टराईले कांग्रेसको मागकाे सम्मान गर्दै केही दिन समिति बैठक सार्नुपर्ने कुरामा सहमति जनाएका थिए। उनले कांग्रेसले समिति बैठक विगतमा पनि बहिष्कार गरेर आफ्नै राजनीतिक विगत नहेरेकाे बताए। लाेकतान्त्रिक पार्टीले बहिष्कार गर्न नहुने उनको धारणा थियाे। समिति सभापति लक्ष्मणलाल कर्णले समिति बैठक बहिष्कार गर्नु ठीक नहुने बताए।
समितिलाई छलफलका लागि व्यापक समय भएको तर बहिष्कार गर्नु ठिक नभएको उनले बताए। कर्णले संवैधानिक परिषदकाे निर्णय प्रक्रियामा समितिले केही गर्न नसक्ने भन्दै ती सिफारिस गलत भए समितिले आफ्नो कार्यक्षेत्र अनुसार रद्द गर्नुसक्ने पनि बताए। उनलेे समिति बैठक बहिष्कारलाई परम्परा नबनाउन पनि कांग्रेस सांसदहरूलाई सचेत गराएका थिए। सभापति कर्णले कांग्रेसको आग्रहअनुसार बैठक १९ गते मंगलबार दिउँसो २ बजेका लागि बाेलाएका छन। आज समितिबाट निर्वाचन आयाेगकाे प्रमुखमा संवैधानिक परिषदबाट सिफारिस दिनेश थपलिया र समावेशी आयाेगकाे सदस्यमा सिफारिस व्यक्ति विरुद्ध १० दिने उजुरी आव्हान गर्ने तयारी थियाे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।