राजनीति

समृद्धिसँगै अब शुरु हुन्छ डिजिटल नेपाल यात्रा : प्रधानमन्त्री ओली

चैत १७, २०७५

    दमक, झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले अब डिजिटल नेपालको यात्रा शुरु हुने बताए। आइतबारदेखि झापाको दमकमा शुरु वृहत वाङ्मय सभाको उद्घाटनका क्रममा उनले समृद्धिको यात्रासँगै अब डिजिटल यात्रा पनि शुरु हुने बताएका हुन्। 

    दमक नगरपालिकाले तयार पारेको एप्सको समेत उद्घाटन गरेका ओलीले अब डिजिटल नेपालको युग शुरुवात गर्ने भन्दै यो काम दमकले थालेको भन्दै प्रशंसा गरे। ‘बाटाभरि झुण्डिएका तार अब शोभायमान हुँदैनन्। सवै अण्डरग्राण्ड गरिन्छ’ प्रधानमन्त्रीओलीले भने, ‘यस्ता कुरा सुन्दा नेपालको इतिहास नपढेका, हामी नेपाली को हौ भन्ने थाहै नपाएका, देशको आवश्यकता के हो भन्ने थाह नपाएकाले हल्का फुल्का टिप्पणी पनि गर्लान्। तर कुनै पनि हालतमा याे अभियान रोकिँदैन।’ 
    कुनै आरोप वा टिप्पणीबाट सरकारले विकासको काम नरोक्ने उनको दावी छ। प्रधानमन्त्री ओलीले भने,‘तपाइँ आफै भन्नुहाेस्। केपी ओली प्रधानमन्त्री भएका बेला काम रोकिएर बस्न सक्ला? असम्भव।’

    गायत्री मन्त्र जप्न आग्रह

    नेपाल महान् पूर्खाको तपोभूमि रहेको भन्दै प्रधानमन्त्री ओलीले विश्वकै प्राचीन ग्रन्थ बेद समेत यही नेपालको रचना भएको धारणा राखेँ। प्रदेश १ को कोशी क्षेत्रमा बेदको रचना भएको र त्यसको पनि सवै भन्दा उच्च मन्त्र गायत्री रहेको प्रसंग निकाल्दै ओलीले भने,‘हाम्रा पूर्खाले बेद जस्तो प्राचीन र महान् ग्रन्थ तयार पारेँ। त्यसमा गायत्री मन्त्र छ। त्यसैले त्यो हरेक दिन विहान जप्नुपर्छ भनेर सिकाए।’ यो अभिव्यक्तिसँगै उनले गायत्री मन्त्र समेत सुनाएका थिए। 

    २०२५ सालतिर आफूले पनि कविता लेखेको प्रसंग सुनाउँदै उनले त्यस बेला ठूलो साहित्यकार बन्ने रहर भएको पनि बताए। तर आफ्नो बाटो फेरिएपछि साहित्यकार हुन नसकेको तर रुची भने अझै रहेको उल्लेख गरे। 'राम्रोसँग भाका हालिएका, खिपिएका शव्दहरू युगौ युग बाँच्छन्। प्रधानमन्त्री ओलीले ‘हे कान्छा ठट्टैमा यो बैश जान लाग्यो’ जस्ता कर्णप्रिय गीतहरू सुन्दर र कर्णप्रिय भएकै कारण वर्षौसम्म सवैले सम्झिरहेको प्रसंग पनिसुनाए। 

    नेपाल भिखारी होइन

    भर्खरै मात्र लगानी सम्मेलन सकेको प्रसंग उल्लेख गर्दै उनले नेपालले भिख नमागेको बरु लगानीका लागि आह्वान गरेको प्रष्ट पारे। ‘नेपालमा विदेशीहरूलाई लगानी गर, नेपाललाई फाइदा देऊँ, नाफा कमाउ भनेको हो’, प्रधानमन्त्री ओलीले भने,‘नेपाल भिख माग्ने देश होइन। तर कसैले दिन्छु भन्यो भने अहिले नाई भन्ने अवस्था पनि छैन। यो अवस्थाको पनि अब अन्त्य गरिन्छ।’ 

    स्थानीय विकास निर्माणका योजनाहरू समेत प्रसंग उठाउँदै उनले केही सडक निर्माणमा ढिलाई भएको थाहा भएको तर संघीयता कार्यान्वयनका क्रममा समन्वयमा भएको समस्याले ढिलाई भएको उल्लेख गरे। तर यो अवस्था रहन नदिने वातावरण बनाइसकिएको उनको भनाई थियो। कमल गाउँपालिमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने वातावरण बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले भने,‘केहि विवाद भयो। सरकार पेलेर जान पनि सक्थ्यो। तर मैले त्यो चाहिन। सवै कुरामा सहमति भई सकेको छ। अव ५/१० अर्वको रंगशाला बन्छ। मैले लगानी गर्ने पैसा खोज्न थालिसकेको छु।’ साेही क्रममा ओलीले साहित्यकार मोहन भण्डारी, झाँक्री खोले तथा विज्ञान अन्वेशक अरुणकुमार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका थिए। 

    प्रधानमन्त्री ओलीका नयाँ घोषणा

    आफ्नो गृहनगरमा भएको सभालाई सम्बोधनका क्रममा उनले केही नयाँ योजनाहरूको घोषणा पनि गरे। झापा र इलामको सीमा चुरे क्षेत्रमा भुकम्प अध्ययनको केही काम भइसकेको बारे प्रधानमन्त्री ओलीले त्यहाँ भुकम्प संग्रहालय तथा अध्ययन केन्द्र स्थापना गरिने पनि बताए। यसका लागि पुन : निर्माण प्राधिकरण र नगरपालिकाले समन्वय थालेको समेत उनले जानकारी दिए। यस्तै दमकमा भ्यु टावर निर्माणले अव गति लिने भन्दै त्यसको नाम युवराज दाहाल स्मृति भ्यु टावर राख्न उनले नगरपालिकालाई आग्रह गरे। 

    ‘दमकको विकासका लागि साह्रै खटेका युवराज दाहाललाई हेलिकोप्टर दुर्घटनामा हामीले गुमायौं, उनले दमकका लागि धेरै काम गर्नु भएको छ। त्यसैले त्यो भ्यु टावरको नाम उहाँको स्मृतिमा राख्न म नगरपालिकालाई आग्रह गर्दछु।’ यस्तै दमकमा प्रज्ञा प्रतिष्ठानको भवन निर्माणको काम अघि बढाउन समेत उनले आग्रह गरे। नगरपालिकालाई जमिनको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भवन नबनेसम्म कार्यालय सञ्चालन गर्न भाडा समेत आफूले दिने उनको भनाई थियो। 

    प्रधानमन्त्री ओलीले नगरपालिका परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको उद्घाटन समेत गरे। सो भवन ३ करोड ४४ लाख रुपैयाँको लागतमा निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए। कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य, संस्कृतिको प्रवर्द्धनका लागि कुनै कन्जुस्याँई नगर्ने धारणा पनि राखेका थिए। 

    कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा आयोजित बृहत संगोष्ठिले प्रदेशको भाषा, कला र साहित्यको विकासका लागि महत्वपूर्ण योगदान दिन अपेक्षा गरिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]