समाज

प्रगतिशील लेखक संघमा विवाद

चैत १७, २०७५

    काठमाडौं : एघारौँ राष्ट्रिय सम्मेलनको तयारीमा रहेको प्रगतिशील लेखक संघमा केही पदाधिकारी र सल्लाहकारले बहिष्कार गर्ने जनाएपछि विवाद देखिएको छ। संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आइतबार विज्ञप्ति जारी गरी संस्थाबाट अलग हुने घोषणा गरेकाले लगाएका आरोपमा आधार नभएको जिकिर गर्दै प्रलेसमा कुनै विभाजन नआएको स्पष्ट पारेका हुन्।

    प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन यही चैत २२ र २३ गते काठमाडौँमा हुँदैछ। विसं २००९ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सो संस्था वामपन्थी स्रष्टाहरूको साझा मोर्चा मानिन्छ। कुनै बेला कमलमणि दीक्षित, धर्मराज थापा, कृष्णचन्दसिंह प्रधान, गोकुल जोशी जस्ता स्रष्टा थिए। रमेश विकल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, निनु चापागाईं, घनश्याम ढकाल र अमर गिरीले संस्थाको नेतृत्व गरिसकेका छन्।

    दशौँ सम्मेलनपछि प्रलेसले संघीय संरचनाअनुसार वैचारिक र सृजनात्मक कार्यक्रम सञ्चालन गरिरहँदा केही घटक र पदाधिकारीबाट असहयोग भएको जनाउँदै विज्ञप्तिमा विवाद मिलाउन केन्द्रीय सल्लाहकारहरू प्राडा. जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी र ईश्वरचन्द्र ज्ञवाली र प्रलेस नेतृत्वबीच पहल भए पनि उनीहरू अलग हुने घोषणा आउनु दुःखद भएको उल्लेख गरिएको छ।

    पछिल्लो समय प्रलेसका सचिवालय सदस्य संगित श्रोता र राजु स्याङ्तानले आफूहरूको लिखित असन्तुष्टि नेतृत्वलाई बुझाएर अलग हुने जनाएका थिए भने केही सल्लाहकार र सदस्यले प्रलेसको औचित्य नरहेको भन्दै वक्तव्य प्रकाशन गरेका थिए।

    विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जान सकिने भन्दै हालै सम्पन्न प्रलेस काठमाडौं सम्मेलन वैधानिक रहेको दाबी गरिएको छ। प्रलेसले मातृभाषा विभाग खडा गरे पनि जिम्मेवारी लिनेहरूले उचित काम नगरी तिनैले नेतृत्वमा आक्षेप लगाइनु औचित्यहीन भएको जनाइएको छ।

    'प्रलेस विभाजित भएको होइन, यसमा रहनुभएका केही साथीहरू यसबाट बाहिरिनुभएको हो, उहाँहरूलाई सङ्गठित रूपमा आफ्ना सिर्जनात्मक गतिविधि गर्ने स्वतन्त्रता छँदैछ', विज्ञप्तिमा भनिएको छ, 'नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनलाई अझ उचाइमा पुर्‍याउन उहाँहरूले इमानदारीका साथ पहल गर्नुभयो भने प्रलेस नेपाल उहाँहरूसँग पनि सहकार्य गर्न तयार छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]