काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुस...
काठमाडौं : नेपाली सेनाका २५ जना महासेनानी (कर्णेल)ले हाइयर कमाण्ड तथा म्यानेजमेन्टको तालिम सम्पन्न गरेका छन्। २५ जना कर्णेलले २०७५ साल चैत्र पाँच गतेदेखि सैनिक वार कलेज नगरकोटमा तालिम लिएका हुन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार नारायणहिटीमा रहेको उपत्यका पृतनामा तालिम समापन गरे। प्रधानसेनापति थापाले नेपाली सेनाको अपरेसनल तहका नेतृत्व वर्ग तयार गर्ने उद्देश्य अनुरूप विगत ६ वर्ष अगाडिदेखि नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको यो तालिमले जटिल अपरेसनल परिस्थितिको सूक्ष्म मूल्याङ्कन गर्दै सही निर्णय लिन सक्षम तुल्याउने बताए।
उनले आफू मातहतका नेतृत्व टीमलाई सोही बमोजिम निर्देशित गर्न योग्य बनाउन मद्दत पुग्ने थापाले विश्वास व्यक्त गरे। तालिमबाट संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यको विविध कार्यहरू प्रभावकारी ढंगले सम्पादन गर्न र अन्य बहुर्राष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न मद्दत पुग्ने विचार व्यक्त गरे।
थापाले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले नेपालको सुरक्षा चुनौतीको विश्लेषणका लागि पेशागत दक्षताका साथ उच्च सैनिक संस्कार र मान्यताको थप विकासमा समेत यस किसिमको तालिम फलदायी सावित हुने बताए।
नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा विश्वविद्यालयको स्थापनाको नीति अघि सारेकोले त्यससँग सम्बन्धित चुनौतीहरूलाई समेटेर अध्ययन, विश्लेषण र सुझावहरू दिई राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको अवधारणालाई परिणाममुखी बनाउन तालिम कोशेढुंगा सावित हुने पनि उनको भनाइ छ।
तालिममा बेस्ट स्टुडेन्ट इन इन्डिभिजुअल रिसर्च पेपर राइटिङमा सर्वोत्कृष्ट हुने महासेनानी माधव थापालाई शिल्ड, प्रमाणपत्र र ३० हजार नगद पुरस्कार प्रदान गरियो। यस्तै अन्य प्रशिक्षार्थीहरुलाई प्रधानसेनापति थापाले प्रमाणपत्र वितरण गरे।
समापन कार्यक्रममा विभिन्न विषयका प्राध्यापक, काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिकाका प्रमुख, पूर्वप्रधानसेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीहरु, पूर्व न्यायधिवक्ता, पूर्व सचिवहरू, पूर्व राजदूतहरू, विभिन्न विषयका विज्ञहरू र प्राज्ञिक व्यक्तिको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।