फिचर

कार्यालय सहयोगी गराउँछिन् सुत्केरी, मुख्‍य जिम्मेवार को?

इन्चार्ज भन्छन्- जति भने पनि सम्बन्धित निकायले सुनेन

असार १९, २०७६

    मुगु  : जिल्लाको एक स्वाथ्य चौकीमा कार्यालय सहयोगी भरमा सुत्केरी गराइँदै आइएको छ। जिल्लाको छायांनाथ रारा नगरपालिका-७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएकी हुन्।  

    २०६९ साल देखि वर्थिङ सेन्टर स्थापानाको समयदेखि नै स्वास्थ्यकर्मीविना नै कार्यालय सहयोगी नेपालीले सुत्केरी गराउँदै आएकी छन्। सहयोगीमा भर्ना भएकी नेपालीले बिनापढाइ तथा तालिम नभई अनुभवका आधारमा सुत्केरी गराउँदै आएको स्वीकार गरेकी छन्।

    गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य चौकी ल्याउँछन्, त्यो बेला स्वास्थ्यकर्मी हुँदैनन् बाध्य भएर अनुभवको आधारमा आफैँले सुत्केरी गराउँदै आएको नेपालीले बताइन्।

    ‘मेरो काम सरसफाइ गर्ने हो सुत्केरी गराउने होइन भन्ने गरेको भए पनि स्थानीयले सुत्केरी गराउन दबाब दिने गर्छन्' नेपालीले भनिन्। यो आर्थिक वर्ष २०७५र ६७ मा पिना स्वास्थ्य चौकीमा ७१ जना जना गर्भवती महिला स्वास्थ्य चौकीमा आई सुत्केरी भएका पिना स्वास्थ्य चौकिले जनाएको छ। त्यसमध्ये १२ भन्दा बढी गर्भवती महिलालाई एक्लै सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यकर्मीलाई खबर गरी सुत्केरी गराएको नेपालीलेको भनाइ  छ।

    सुई लगाउने पनि कार्यालय सहयोगी नै

    नेपालीले सुत्केरी मात्र गराउदिनन् सुई हाल्ने काम पनि आफैँ गर्छिन्। यदि बिरामी छटपटाएमा र  साल ढिला आएर कठिन हुने अवस्था आएमा अनुभवका आधारमा सुई पनि आफैँ लगाउने गरेको कार्यालय सहयोगी नेपालीले बताइन्। ‘सुत्केरी महिलालाई राति ल्याउँछन् स्वास्थ्यकर्मी हुँदैन बाध्यताले आफैँ सुत्केरी गराउनुपर्छ' नेपालीले भनिन्।

    सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाँदा स्वास्थ्यकर्मी नहुने हुँदा बाध्य भएर कार्यालय सहयोगी भए पनि विश्वासका साथ सुत्केरी गराउन दिने गरेका स्थानीयको भनाइ छ। सुत्केरी गराउन स्वास्थ्य चौकीमा ल्याइ पुयाउँदा स्वास्थ्यकर्मी हुँदैनन्, गर्भवती महिला छटपटाउछन्।

    अनमी नहुँदा समस्या 

    त्यो बेला कार्यालय सहयोगी भए पनि अनुभवको आधारमा पदम नेपालीलाई सुत्केरी गराउन आग्रह गर्ने गरेका र आजसम्म सुत्केरी गराएका महिलामा अप्रिय घटना नघटेको र राम्रो भएको वडा नं ७ कि स्थानीय महिला माया नेपालीले बताइन्।

    कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको तथ्य र साँचो भएको स्थास्थ्य चौकी पिनाका इन्चार्ज पदमबहादुर सजेवालले बताए। उनका  अनुसार  अनमी अभावले यस्तो भएको भएको उनले सुनाए।

    स्थास्थ्य चौकी पिनाका ईन्चार्ज पदम बहादुर सजेवालका अनुसार स्वास्थ्य चौकीसँगै २०६९ साल देखि  बर्थिङ्ग सेन्टर स्थापना भएयता पदम नेपालीलार्ई कार्यालय सहयोगीका रुपमा भर्ना गरिएको र उनको काम सुत्केरी महिलाको  सरसफाइ गर्ने भए पनि दरबन्दी अनुसारका अनमी  नभएपछि  कार्यालय सहयोगीको भरमा सुत्केरी गराउनुपरेको बताए।

    भएका कर्मचारी पनि राजनैतिक खिचातानी गरेर कागजमा तान्छन्,के गरौँ बिरामी स्वास्थ्य चौकीमा आउँछन्, छटपटिन्छन् बाध्य भएर अनुभवको आधारमा कार्यालय सहयोगीले  सुत्केरी गराउन बाध्य भएको हो‘इन्चाज सेजुवालले बताए।

    तालिम प्राप्त स्थास्थ्यकर्मीले सुत्केरी गराउनुपर्ने नेपाल सरकारको नीति भए पनि त्यस्ता दक्ष अनमी नहुँदा  बाध्यताले यस्तो हुन पुगेको बताइन्छ। पिना स्वास्थ्यचौकीमा दुईजना  स्थायी र एकजना अस्थायी अनमीको दरबन्दी भए पनि अहिले खाली छ।

    एकजना  भर्खरै काजमा ल्याइएकी अनमी छन्। उनको घर टाढा भएर पनि राति आउने गर्भवती महिलालाई कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएको इन्चार्ज सेजुवालको भनाइ छ। ‘जटिल बिरामी आएमा मलाई फोन गररे बोलाउनुहुन्छ, केहिले काहीँ फोन नलागेमा र नर्मल केस आएमा एक्लै भए पनि कार्यालय सहयोगीले सुत्केरी गराउँदै आएकी छिन्’ सेजुवालले भने।

    जति भने पनि कसैले सुन्दैनन् : स्वास्थ्य इन्चार्ज

    अनमी व्‍यवस्थापनलगायत कार्यालय सहयोगीले सुत्केरी गराउनुपर्ने अवस्था आएको विषयमा सम्बन्धित निकायमा पटकपटक जानकारी गराउँदा पनि सम्बिन्धत निकाय मौनदर्शक भएर बसेका स्वास्थ्य इन्चार्ज सेजुवालले दुखेसो सुनाए। ' जतिपटक भने पनि कुनै निकायले चासो दिएका छैनन्' उनले भने। 

    अप्रिय घटना घटे इन्चार्ज र समितिले जिम्मा लिनुपर्छ : वडा अध्यक्ष

    पिना बर्थिङ सेन्टरमा कर्मचारी छैनन् भन्ने कुरा छायानाथ रारा नगरपालिको स्वास्थ्य फाँटमा जानकारी गराएको भए पनि  सुनुवाइ नभएको छायानाथ रारा नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष हरि चन्द्र शाहीले बताए। उनका अनुसार कार्यालय सहयोगीले सरसफाइ गर्ने हो। सुत्केरी गराउने हैन भोलि कुनै घटना घटेमा सम्बन्धित स्वास्थ्य इन्चार्ज र  स्वास्थ्य व्‍यवस्थापन समितिले जिम्मा लिनुपर्ने अध्यक्ष शाहीले बताए।

    कार्यालय सहयोगीले सुत्केरी गराउन मिल्दैन

    नियमले तालिम प्राप्त स्वास्थ्यकर्मीले  सुत्केरी गराउनुपर्ने  हुन्छ। तर, कर्मचारी समायोजनसँगै बर्थिङ सेन्टरमा जनशक्ति अभाव  भएको स्वीकार गर्दै छायानाथ रारा नगरपालिकाका स्वास्थ्य फाँटका प्रमख पशुपति शाहीले पनि जनशक्ति अभाव छ भन्दैमा कार्यालय सहयोगीबाट सुत्केरी गराउन नमिल्ने बताए।

    'त्यो कसरी भयो महिनाको अन्तिम दिन बर्थिङ सेन्टरबाट सुत्केरी महिलाको तथ्यांक आउने गरेका भए पनि पिना स्वास्थ्य चौकीबाट त्यस्तो भएको पुष्टि आएको छैन। रिर्पोटका आधारमा बोल्ने हो त्यसबारे मलाई कुनै जानकारी छैन' स्वास्थ्य प्रमुख शाहीले भने।

    यता, स्वास्थ्य कार्यालय मुगुका डा‍‍‍. सुरज गरौका अनुसार यस विषयमा आफूलाई जानकारी नभएको बताए। यस विषयमा सम्बिन्धत स्थानीय सरकारले निगरानी राख्‍नुपर्ने  उनको भनाइ छ। 'कार्यालय सहयोगीले सरसफाइ गर्ने हो जोखिम केसमा काम गर्न मिल्दैन' गरौले थपे, 'यस विषयमा के हो सम्बिन्धत स्वास्थ्य चौकीका इन्चार्जसँग बुझ्‍नेछौँ।' 

नन्दबहादुर रोकाया

रोकाया थाहा खबरका मुगु समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]