त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
दमक, झापा : जब वर्षायाम शुरू हुन्छ अनि इलामको दक्षिणी भेग चुलाचुलीवासीको पिरको पारो चढ्दै जान्छ। भौगोलिक रुपमा इलामवासी भए पनि झापाका बजारमा निर्भर उनीहरूको दैनिकी वर्षायामका करिव ३ महिना चौपट हुन्छ।
आकाशमा जति जति बादल बढ्छ, चुलाचुलीबासीको मन त्यतिनै कालो हुँदै जान्छ। गाउँलाई जेलेर बग्ने आधा दर्जन खोलाहरू पार गरे झापाको दमकसम्म पुग्नु र दैनिक चाहिने वस्तुको जोहो गर्नु पातमै ज्यान राख्नु सरह हुन्छ।
दैनिक उपभोग्य सामग्री खरिददेखि स्वास्थ्य उपचार सम्ममा झापाको दमकमा निर्भर रहन बाध्य चुलाचुलीका बासिन्दाको दैनिकी वर्षायामका झण्डै तीन महिना कष्टकर हुने गरेको छ।
चुलाचुलीका कतिपय विद्यार्थी समेत अध्ययनका लागि दमक नै आउने गरेकाले वर्षायाममा पठन-पाठन त ठप्प जस्तै हुने गरेको छ। चुलाचुलीमा बिधुवा, रतुवा, मावा, चाँजु तथा कमल खोलाले हैरान बनाउने गरेको छ। चुलाचुली ४ का होमनाथ दाहाल चुलाचुलीबासीका लागि सवै भन्दा ठूलो पिर नै खोलाको रहेको बताउँछन्
सबै वडाहरूमा खोलाको बाढी तथा कटानको पिर रहेको र पर्याप्त पुल समेत नहुँदा वर्षायामका कठिनपूर्वक तीन महिना काट्नु पर्ने उनले सुनाए। स्राेत हुनेले त वर्षायाम भरी चाहिने दैनिक उपभोग्य वस्तुको जोहो बेलैमा गरेका हुन्छन् तर नहुनेले दिनहुँ आम्दानी गर्दै गर्जो टार्नु पर्छ।
वर्षायाममा बाढी र डुवानले दैनिक उपभोग्य वस्तु खरिदमा समेत कठिनाई हुने उनले बताए। यस्तै चुलाबासीबासीका लागि रोजगारीको मुख्य क्षेत्र झापाको दमक नै हो। चुलाचुलीका बिभिन्न वडाबाट दिनहुँ मजदुरीका लागि सयौ व्यक्ति दमक आउने गरेका छन्।
दमकको निर्माण क्षेत्रसँगै पसल, उद्योग तथा कतिपय कार्यालयमा उनीहरूको रोजगारी निर्भर रहेको छ। तर वर्षायाममा खोलामा पानीको सतह बढ्न साथ उनीहरूको रोजीरोटी नै संकटमा पर्ने गरेको छ।
स्राेत साधन भन्दा समस्या ठूलो
चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राई गाउँपालिकाको आन्तरिक स्राेत साधनले नभ्याउने भएकाले सवै ठाउँमा पुल तत्कालै हाल्न सम्भव नरहेको बताउँछन्। प्रदेश तथा संघीय सरकारमार्फत आवश्यक स्थानमा पुल निर्माणका लागि पहल भइरहेको उनले बताए।
दमक १ जोड्ने स्थानमा रतुवा खोलामा पुल निर्माण भई रहे पनि यो पर्याप्त छैन। माथिल्लो भेगका बासिन्दाका लागि लक्षित गरी अर्को स्थानमा समेत पुल निर्माणको जरुरी रहेको उनले बताएका छन्। उनका अनुसार विधुवा खोलाले वडा ५ र ६ का बासिन्दालाई आउ जाउमा समस्या पारेको छ। यस्तै रतुवाले वडा ५ को आधा भुगोल र वडा ६ लाई अलग बनाउँछ।
मावा खोलाको बाढीले सिंगो वडा ६ लाई नै घेरामा पार्ने गर्छ भने चाँजु खोलाले सवै भन्दा बढी क्षेत्रलाई प्रभाव पार्ने गरेको छ। यसले वडा ३ देखि ६ सम्मका बासिन्दालाई सहर र गाउँपालिकासँगको सम्बन्ध टाढा बनाउँछ। यस्तै पूर्वी सिमानाको रुपमा रहेको कमल खोला पनि त्यस क्षेत्रका बासिन्दालाई समस्यामा पार्ने गरेको छ।
दुधे र बुकुवा खोलाले वडा नं. ५ र ६ तथा वागद्वार खोलाले वडा नं.१ का बासिन्दाको जनजीवननै कष्टकर बनाएको छ। यति धेरै खोलाहरू रहेको र जोखिम समेत उच्च भएकाले वर्षायाममा जनजीवन सहज बनाउन दर्जनौं स्थानमा पुलको आवश्यकता परेको अध्यक्ष राई बताउँछन्।
पूर्वाधार पहिलो आवश्यकता
गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल यी समस्याको गाउँपालिकाले प्राथमिकता दिएको र दिर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत सहयोग आवश्यक बताउँछिन्। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई गाउँपालिकाका बासिन्दाको आर्थिक समृद्धिका लागि समेत पूर्वाधार मुख्य आवश्यकता रहेको बताउँछन्।
‘यहाँ आवश्यक स्थानहरुमा पुल भई दिने हो भने यहाँको साग सव्जी तथा पशु चौपाय दमकसम्म पुर्याउन समेत सहज हुने थियो’ उनले भने, ‘यदि वर्षायाममा समस्या हुने थिएन भने दमकबाट दैनिक उपभोग्य सामग्री ल्याउनदेखि बिरामी हुँदा अस्पताल सम्म पुर्याउन समेत सहज हुने देखिन्छ तर के गर्नु तत्कालै यी सवै स्थानमा पुल हाल्न सम्भव देखिँदैन।’
मानवीय संशाधानको विकास र सशक्तिकरण प्राथमिकतामा राख्नु पर्ने भए पनि खोलाहरूमा पूर्वाधार निर्माण अत्यन्तै जरुरी रहेकाले विकास बजेट त्यता केन्द्रित गर्नु परेको उनले बताए। केही स्थानहरूमा भने क्षति न्यूनीकरणका लागि तटबन्ध बनाउने काम पनि भइरहेको छ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत वडा नं. ४ र ५ का केही स्थानमा स्पर बनाउने र बाढीको क्षति कम गर्ने प्रयास भइरहेको वडा ४ का वडाअध्यक्ष कालिदाश भट्टराईले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।