समाज

बन्दीपुरमा पर्यटक आकर्षित गर्न निजी जग्गामै बसपार्क निर्माण

असार २०, २०७६

    तनहुँ  : बन्दीपुर गाउँपालिकाले सवारी पार्किङ व्यवस्थापनका लागि बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ। सार्वजानिक जग्गाको अभाव भएकोले व्यक्तिगत जग्गा भाडामा लिएर बस पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। 

    दिन प्रतिदिन पर्यटकको आवागमन बढ्दै गएकोले पार्किङ सहज बनाउन १५ वर्षको व्यक्तिगत जग्गा भाडामा लिएर बसपार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। उनका अनुसार सो अवधिका लागि ५ रोपनी जग्गा भाडामा लिएको हो। मासिक ३ हजार रुपैयाँ बस पार्कको भाडा तिर्ने गरी जग्गा लिएर निर्माण गरिएको उनले बताए। 

    ‘पार्किङको समस्याले पर्यटन व्यवसायमा असर पर्न सक्ने भएकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण गरिएको हो’ उनले भने ‘जग्गावालाले पनि राम्रो कामको थालनी भन्दै सस्तो भाडा दरमा जग्गा दिनुभयो’ वसपार्क निमार्णको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ। 

    गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण गरिदिएपछि बन्दीपुरका पर्यटन व्यवसायी खुसी भएका छन्। बस पार्क निर्माण पहाडकी रानी बन्दीपुरमा पर्यटकको आवगमनलाई सहज हुने विश्वास स्थानीयले लिएका छन्। 

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष तथा तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष बैस गुरुङले धेरै सवारी साधान आउने हुँदा बस पार्कको अभाव खड्किएको बताए। गुरुङले भने ‘पार्किङको व्यवस्थापनका लागि असहज भएको भन्दै ट्राभल एजेन्सीबाट गुनासो गर्ने गर्थे। अब पार्क निर्माणपश्चात् सहज हुनेछ।’ 

    बन्दीपुर बजारमा हाल एक निजी क्षेत्रबाट निर्माण गरिएको बस पार्क रहेको छ। सवारी साधनको चाप बढ्दो र साँघुरो पनि भएकोले बस पार्क निर्माण गर्नुपरेको गाउँपालिकाले जनाएको छ। 

    बसपार्क निर्माणका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय शुकदेव लम्सालले जानकारी दिए। मोटरसाइकल, ट्याक्सी, जीप जस्ता साना खालको सवारी साधन पार्किङको लागि टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष थापा बताए। दीर्घकालीन रुपमा पार्किङको समस्या सामाधान गर्न अर्को स्थान पनि अध्ययन गरिएको बताए। 

    बन्दीपुर तनहुँको मुख्य पर्यटकीय गन्तव्य हो। बन्दीपुरबाट विभिन्न हिम श्रृंखलाका साथै हरिया फाँट, तरेली र पहाडका खोचमा रहेका सुन्दर फाँटको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ। 

    बन्दीपुरको मुख्य आर्कषणमा नेवारी कला र संस्कृति, दोहोरो लाइन मिलाएर बनाइएका प्यागोडा शैलीका कलात्मक घर, ढुंगा विच्छाइएका बाटाहरू, विभिन्न मठ मन्दिर रहेका छन्।  पर्यटकीय नगरी बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको पहिलो गन्तव्यको रुमा सूचीकृत गरेको छ।

    सूचीकृत गरेसँगै बन्दीपुर आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ। वार्षिक करिव तीनलाख पर्यटक बन्दीपुरमा आउने गरेको बन्दीपुर गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]