छापा

राप्रपाको अधिवेशन ७४ जिल्लामा, दीपक मनाङे मनाङ अध्यक्ष

माघ २६, २०७३

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको छ। २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको छ। बारामा मात्रै अधिवेशन हुन बाँकी छ। निर्वाचन भएका ४५ मध्ये काठमाडौं र डडेल्धुराको नतिजा पनि आइसकेको छ।

    ‘मंगलबार राप्रपाको बाराबाहेकको ७४ जिल्लामा अधिवेशन भए, यसमा ३१ जिल्लाको नतिजा मंगलबार नै आयो,’ राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘२९ जिल्लामा सहमति र दुई जिल्लाको निर्वाचनबाट नेतृत्व चयन भएका छन्। बाँकीको नतिजा बुधबार आउँछ।’ आगामी ६ देखि ९ फागुनसम्म काठमाडौंमा राप्रपाको एकता महाधिवेशन हुँदैछ ।

    मंगलबार बेलुकासम्म आएको परिणामअनुसार डडेल्धुरा र काठमाडौं जिल्लामा मात्र निर्वाचनबाट अध्यक्ष निर्वाचित भए। जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी भने अध्यक्षले चयन गर्नेछन्। ३१ जिल्लामा परिणाम आउँदा बहुमत अध्यक्ष थापानिकटका आएको बुझिएको छ।

    यसरी छानिन्छन् ३३ सय २० महाधिवेशन प्रतिनिधि 
    राप्रपाको महाधिवेशनमा नगरबाट दुई जना, उपमहानगरबाट तीन जना, महानगरपालिबाट पाँचजना, दुई सय ४० वटा निर्वाचन क्षेत्र र प्रत्येक जिल्लाबाट नौ–नौ जना, भ्रातृसंस्थाबाट चार–चार जना, प्रवासबाट ३० जना र केन्द्रीय अध्यक्षले ४० जना मनोनीत गरी तीन हजार तीन सय २० महाधिवेशन प्रतिनिधि छानिन्छन्।

    ७५ जिल्ला र दुई सय ४० निर्वाचन क्षेत्रबाटै मात्रै तीन हजार एक सय ७० प्रतिनिधि छानिन्छन् । भ्रातृसंस्थाबाट ८० जना, प्रवासबाट ३० जना र मनोनीत ४० छानिन्छन् ।

    प्रतिनिधि बन्न सकिनन् देवयानी 

    निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा दोलखाबाट प्रतिनिधि नहुने भएकी छन्। पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए ।

    खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ । दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा देवयानी छनोट भएकी थिइन्। राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो। उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको हो।

    दीपक मनाङे मनाङ अध्यक्ष

    डन दीपक मनाङे राप्रपाको मनाङ अध्यक्ष भएका छन्। बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनाङे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनाङे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए ।

    हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो। मनाङे प्रवेश गरेपछि राप्रपा बलियो भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]