समाज : मिडिया

पत्रकारको न्यूनतम पारिश्रमिक साउन १ देखि नै लागू हुन्छः सञ्चारमन्त्री राई

नभए आन्दोलनः पत्रकार महासंघ

फाइल फोटोः दीपक केसी/थाहाखबर
असार २७, २०७३

    काठमाडौं : सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताएका छन्।

    सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि १९ हजार ५०० रुपैयाँ, कर्मचारी/कामदारका लागि १४ हजार ४०० रुपैयाँ, अन्य सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि १४ हजार १०० रुपैयाँ र कर्मचारी/कामदारका लागि १२ हजार ५०० रुपैयाँ तलब तोकेर यही वैशाख २३ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकार पछि नहट्ने उनले स्पष्ट पारे।

    पछिल्लोपटक न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७२ असारमा दिएको सुझावका आधारमा झन्डै १० महिनापछि २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निर्णय गरेको थियो। 

    न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा काठमाडौंमा आयोजित ‘मिडियामा न्यूनतम पारिश्रमिक कार्यान्वयन’ विषयक अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले भने– ‘पत्रकारको न्यूनतम पारिश्रमिक लागू हुन्छ, त्यसका लागि मिडिया सञ्चालकले राखेका ११ बुँदे मागका बारेमा समेत छलफल हुँदैछ।‘ 

    मन्त्री राईले मन्त्रिपरिषद्ले गरेको न्यूनतम पारिश्रमिकसम्बन्धी निर्णय साना लगानीका मिडिया बन्द गर्ने नभई समग्र पत्रकारको पेसागत सुरक्षाका लागि गरिएको समेत स्पष्ट पारे। उनले अनावश्यक टीकाटिप्पणी गर्नेभन्दा पनि न्यूनतम पारिश्रमिक कार्यान्वयनतर्फ सहयोग गर्न मिडिया सञ्चालक, पत्रकार तथा सबै सरोकारवालासँग अपिल गरे।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले मिडियालाई सरकारले दिने अन्य सुविधामा वृद्धि गरेर भए पनि ती सबै मिडियामा न्यूनतम पारिश्रमिक लागू गर्नुपर्नेमा जोड दिए। ‘हरेक परिवर्तनका मुद्दालाई संस्थागत गर्न भूमिका निर्वाह गर्ने, आवाजविहीनको आवाज उजागर गर्ने पत्रकारको भौतिक र आर्थिक सुरक्षाको सुनिश्चित गरिनुपर्छ’,  अध्यक्ष विष्टले भने। यदि कार्यान्वयन नभएको खण्डमा महासंघ सङ्घर्ष गर्न पनि पछि नपर्ने उनको भनाइ छ।

    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय राजपत्रमा नआएसम्म कार्यान्वयन हुन नसक्ने दाबी गरे। उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तलब निर्धारण गर्ने मात्रभन्दा पनि कार्यान्वयन भए/नभएको पनि अनुगमन गर्नुपर्नेमा जोड दिए।

    ‘पत्रकार चप्पल कारखानाका कामदारले तलब नपाएको बारेमा समाचार लेख्छन्, तर आफैँले नौ महिना तलब पाउँदैनन्’–उनले भने।

    पत्रकार प्रतीक प्रधानले १९ हजार ५०० तलब कार्यान्वयन गर्नका लागि साना लगानीका साना मिडियालाई समस्या हुने धारणा राखे।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता अग्निप्रसाद थपलियाले सुसूचित, चेतनशील र व्यावसायिक पत्रकार तथा सञ्चारमाध्यम धैर्य र रचनात्मक हुने हुँदा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या नहुने विश्वास व्यक्त गरे।

    श्रमजीवि पत्रकार ऐन २०५१ (पहिलो संसोधन २०६४) अन्तरगत गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको पेशागत सुरक्षाबारे कार्यको थालनी गरेको दुई दशक पूरा भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]