राजनीति

राप्रपा फुट र एकताको इतिहास

कहिले व्यक्तित्वको टकराव त कहिले दरबारका कारण फुट्यो राप्रपा

असार २७, २०७३

    काठमाडौं‌- मिल्न लागेको राप्रपाको इतिहास भने टुटफुट र षडयन्त्रले भरिपूर्ण छ। कार्यकर्ताभन्दा नेता प्रधान पार्टी भएकोले नेताहरुकै पदको खिचातानी र सत्ता राजनीति नै विवादको कारण बनेको छ। त्यसमा पञ्चायतकालदेखिको इगोले मलजल पुर्‍याएको छ।

    २०४७ जेठ १५ गते एकै दिन राप्रपा चन्द र राप्रपा थापा नामका दुइटा पार्टी खुले। एकै पार्टी खोल्ने भनेर तयारी थियो। नाम राखिएको थियो राप्रपा। तर निर्वाचन आयोगमा पहिले सूर्यबहादुर थापा अध्यक्ष भएर राप्रपा थापा दर्ता भयो । त्यसैदिन लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको राप्रपा चन्द दर्ता भयो । राप्रपा नाम भएका दुइटा निवेदन आएपछि आयोगले नै राप्रपा पछाडि थापा र चन्द थपिदिएको जानकारहरु बताउँछन् ।

    एकता र विभाजन

    २०४८ सालको संसदीय चुनावमा दुबै राप्रपा बढारिए। राष्ट्रिय मान्यता पाउन ३ प्रतिशत भोट आवश्यक थियो। त्यो दुबैले पुर्‍याए। २ सय ५ क्षेत्रको प्रतिनिधिसभामा राप्रपा चन्दबाट पशुपतिसम्सेर राणा सिन्धुपाल्चोक, प्रकाशचन्द्र लोहनी नुवाकोट र रामकृष्ण आचार्य रसुवाबाट विजयी भए। दार्चुलाबाट अकबरबहादुर सिंह विजयी भएर राप्रपा थापाको वीउ जोगाए।

    चुनाव हारेपछि दुबैलाई मिल्नुपर्ने चेतना र दबाब पर्यो। अन्तत २०४९ सालमा दुबै पार्टी एक भएर राप्रपा बन्यो। एक भएको फाइदा राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा लियो। प्रत्यक्षतर्फ २० सिटमा विजयी भए पनि देशभर शानदार मत ल्याए राप्रपाका उम्मेदवारले। राप्रपा त्रिशंकु संसदमा सत्ताको साँचो बन्यो। एकताले ल्याएको खुसी अंहकारमा परिणत भयो। उदार र कठोर पञ्चहरुबीच ध्रवीकरण देखा पर्न थाल्यो। मनमोहन अधिकारी नेतृत्वको एमाले अल्पमतको सरकार गिराएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै राप्रपा सत्तामा पुग्यो।

    त्यसपछि सुरु भयो फोहोरी खेल। देउवा सरकार ढालेर चन्द प्रधानमन्त्री बने एमालेको सहयोगमा। फेरि आफ्नै नेता चन्दलाई विस्थापित गरेर कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने। दुई बहादुरबीच सत्ताका लागि घम्साघम्सी पर्‍यो। यही विवादका बीच २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो, संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर। सुरुमा नयाँ राप्रपा नाम दिइएकोमा पछि राप्रपा चन्द नामाकरण गरियो।

    २०५६ सालको निर्वाचनमा राप्रपा चन्दले जित्न सकेन। तर राष्ट्रिय दलको हैसियद भने जोगायो। राप्रपाबाट ११ जनाले जिते पनि देशभरबाट मत घट्यो। २०५१ देखि शासनसत्तामा प्रभाव जमाएको राप्रपाका नेताहरुको महत्व हुन छोड्यो। सदैव शासन सत्ता वरिपरि रहेकाहरुलाई पावरलेस भएर बस्न स्वभाविक रुपमा कठिन हुन्छ। सत्ताको साँचो गुमेपछि दुबैले एकताकाे आवश्यकता देखे। कार्यकर्ताको दबाब महसुस गरे। अन्तत् २०५७ सालमै दुबै पार्टी एक भए।

    फुटमा दरबार पनि कारक

    राप्रपाको विभाजन र फुटमा दरबार पनि कारक बन्यो। जब राजा ज्ञानेन्द्रले सक्रिय शासनको सुरुवात गरे। त्यसपछि राप्रपामा विवाद बढ्दै गयो। २०५९ असोज १८ गते लोकेन्द्रबहादुर चन्दलाई राजाले प्रधानमन्त्री बनाए। त्यतिबेला सूर्यबहादुर थापा थिए राप्रपा अध्यक्ष। त्यो कदमलाई परिस्थितजन्य बाध्यताको संज्ञा दियो थापा निवास मालिगाउँमै बसेको बैठकले। तर भित्रभित्र त्यो कदम स्वीकार गर्नसक्ने पक्षमा थिएनन् थापा। त्यस कमदप्रति दलहरु र भारत समर्थन नभएपछि चन्द हटेर थापा फेरि प्रधानमन्त्री बने। दरबारले पालैपालो प्रधानमन्त्री बनाए पनि दुवैलाई बलियो हुन भने दिएन। चन्द र थापाबीच विवाद चुलिदै गयो।

    २०६१ माघ १९ मा राजाले पूरै शासन हातमा लियो। यो कदमलाई राप्रपाबाट स्वागत गराउने प्रयास गरियो। तर अध्यक्ष पशुपतिसम्सेर राणा र पूर्वअध्यक्ष सूर्यबहादुर थापा दुवै यसको विपक्षमा उभिए। दरबारले अब राप्रपा कब्जा गर्ने वा फुटाउने रणनीति सुरु गर्‍यो। २०६२ पुष २६ र २७ गते काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो। निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन। त्यसपछि त्यो समूह राप्रपा नेपाल नामाकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो।  

    राप्रपा नेपाल गठन हुनुअगावै राजाकै सक्रिय शासनको बेला राप्रपाबाट संस्थापक अध्यक्ष सूर्यबहादुर थापा अलग भई राष्ट्रिय जनशक्त्ति पार्टी गठन गरे। पहिलो संविधानसभा चुनावमा ३ सिट हात पारेको जनशक्त्ति पार्टी र पशुपति सम्सेर राणा अध्यक्ष रहेको राप्रपाबीच २०७० असारमा एकता भएको थियो।

    अवसर पाउन साथ विवाद गर्ने र फुटने राप्रपा नेताहरु अलि अप्ठेरो पर्नासाथ एकताको हात फैलाउन तयार भइहाल्ने गरेका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]