समाज : मिडिया

अलबिदा मुल्ला नसरुद्दीन अर्थात पण्डित बाबुराम भट्टराई

ढल्यो पत्रकारिताको बलियो खम्बा

असार १९, २०७३

    बुटवल : हरेक दिनजसो मुल्ला नसरुद्दीन नामको पात्र एउटा सन्देश लिएर घरघरमा पुग्थ्यो। सटिक विचार र व्यङ्ग्यले यो पात्रलाई स्थापित गराएको थियो। मुल्ला नसरुद्दिन अर्थात् पण्डित बाबुराम भट्टराई–बुटवलमा ३० वर्षदेखि सक्रिय पत्रकारिताको बलियो खम्बा थिए। अब उनको चर्चित स्तम्भबाट ‘पण्डितजीको थनथन’ पढ्न पाइने छैन।

    शनिबार आफ्नो काम पूरा गरी घर फर्किएका भट्टराईको आइतबार बिहान साढे दुई बजे निधन भयो।

    ‘मुल्ला नसरुद्दीनले पेरिस विश्वविद्यालयको दर्शन विभागमा पढाउँथ्यो। कुरैकुरामा उसले भन्यो–‘विश्वमा दर्शन विषयको सर्वश्रेष्ठ प्राध्यापक मै हूँ’, आइतबार प्रकाशित ‘बुटवल टुडे’ दैनिकमा उनले लेखेको खसोखास स्तम्भमा उल्लेख छ। आफूले लेखेको स्तम्भ पत्रिकामा पढ्न नपाउँदै उनी यो संसारबाट बिदा भए। सँगै मुल्ला नसरुद्दिन पनि अस्तायो।

    राती १ बजे युरो कप हेरेका भट्टराई एक्कासी अचेत भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। लगत्तै  डाक्टरले उनलाई मृत घोषणा गरे। अस्पतालले भनेको छ–‘भट्टराईलाई हृदयाघात भयो।‘ प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार भट्टराई ६६ वर्षका थिए। 

    सरकारी जागिर छाडेर पत्रकारिता सुरु गरेका भट्टराई नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक उपसभापति पनि हुन्। ‘म र उहाँबीचको सहकार्य अहिले पनि सम्झिन्छु, एकदमै मिलनसार, कसैलाई हेयभाव नराख्ने र बहुमुखी प्रतिभा भएका व्यक्ति हामीले गुमायौँ’, पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईंले भने, ‘२०४९ सालतिर उहाँ र म दैनिक जनसंघर्षमा सँगै काम गर्‍यौं, म प्रधान सम्पादक थिएँ र उहाँ सम्पादक हुनुहुन्थ्यो, उहाँको लेखनशैलीबाट म एकदमै प्रभावित थिएँ।’ 

    भट्टराई अनुवाद साहित्यमा पनि दख्खल राख्थे। तसलीमा नसरीन, राहुल सांकृत्यायनलगायतका पुस्तक नेपालीमा अनुवाद गरिसकेका भट्टराईले नेपाली साहित्यमा समेत योगदान पुर्‍याएका छन्। उनी मोफसलमै रहे जसका कारण उनको साहित्यिक योगदानबारे ठूलो चर्चा भएन।

    २००७ साल असार १५ गते अर्घाखाँचीको पोखराथोकमा जन्मिएका पण्डित हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरमा बस्दै आएका थिए।

    उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्। पण्डित भट्टराईले बुटवलमा दैनिक जनसंघर्षमा सम्पादक, दैनिक लुम्बिनी, नयाँ सत्ता दैनिक र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गरेका थिए।

    ‘गीत, कविता, कथा, नाटक, स्वास्थ्य, उपन्यास, काव्य, व्यङ्ग्य तथा सामयिक सन्दर्भमा तत्काल लेख्न सक्ने असाधारण क्षमता उहाँमा थियो’, उनका नातेदार समेत रहेका पत्रकार दीपक ज्ञवालीले भने।

    बुद्ध दर्शनमा विशेष रुचि राख्ने भट्टराईका एक दर्जन पुस्तक प्रकाशित छन्। पत्रकार भट्टराईको निधनले सञ्चारक्षेत्र शोकमा डुबेको छ। नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको आइतबार देवघाटमा अन्तिम संस्कार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]