|

बैतडी : कोरोना संक्रमित थपिन सक्ने भन्दै पूर्वतयारी स्वरुप बैतडीमा २०० शय्या क्षमता रहने आइसोलेसन कक्ष बनाइँदैछ। जिल्लामा यसअघि ६ संक्रमित र ४५१ जनाको आरडिटी नतिजा पोजेटिभ आएको थियो। उनीहरूको पीसीआर परीक्षण नतिजा आउन बाँकी छ।

पीसीआर रिपोर्ट आउन बाँकी रहेकाहरूमा कोरोना पुष्टि भइहाले उनीहरूलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा शय्याको संख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘प्रत्येक स्थानीय तहमा कम्तीमा २० शय्या क्षमता भएका आइसोलेसन बनाउन पत्राचार गरिएको छ।' 

कोरोना भाइरस जोखिम नियन्त्रण तथा रोकथाम जिल्लास्तरीय समन्वय समितिको बैठकबाट निर्णय भएबमोजिम आइसोलेसन निर्माण गरिने लागिएका हुन्।जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको र धेरैले निर्माण प्रक्रिया पनि सुरु गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले भने, ‘संक्रमितहरु थपिनसक्ने भएकाले पूर्वतयारीस्वरुप पालिकाहरुमा आइसोलेसन वार्ड निर्माणको काम भइरहेको छ।’

बैतडीमा हाल ३२ शय्या क्षमताको आइसोलेसन कक्ष रहेको छ। जिल्लामा हाल चार हजार १५० नागरिक क्वारेन्टाइनमा बसेका छन्। १० वटै स्थानीय तहमा गरी ६ हजार २३९ शय्या क्षमताका क्वारेन्टाइन रहेका छन्।  

बैतडीमा हालसम्म ६ जनामा कोरोना पुष्टि भएको छ। जेठ ९ गते संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका पहिलो कोरोना संक्रमित यही जेठ २१ कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भइसकेका छन्‌।

जेठ १० गते संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाकै ४ जना भने कोरोना निको नहुँदै सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ। जेठ १९ गते संक्रमण पुष्टि भएका पाटन नगरपालिकाका युवकको भने पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ। ती युवकको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको थियो।

नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा राखेर सामान्य अवस्थामा रहेमा संक्रमितलाई बिना परीक्षण डिस्चार्ज गर्न सकिने भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.