मिहिनेत खेर गएको गुनासो

|

काठमाडौंः सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको लकडाउनले अढाई महिना नाघेको छ। परीक्षा हुनु एक दिनअघि रोकिएको एसईई नहुने पक्का भएको छ। 

लामो समय अनिर्णयको बन्दी बनेको सरकारले बुधबारको मन्त्रिपरिषद्‍बाट यो पटकको नतिजा विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै जारी गर्न भन्दै परीक्षा नगर्ने निर्णय लियो। अब एसईई नै खारेज गर्नुपर्नेतर्फ मत बढ्दै गएको छ। 

लामो समय सरकार अनिर्णित हुँदा परीक्षा दिन तम्तयार करिब पाँच लाख विद्यार्थी लामो आन्योलमा बसे। लकडाउनको ७९ औँ दिनमा बल्ल बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको परीक्षा नगराई नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय लियो। यो निर्णयले कतिपय विद्यार्थी खुसी छन् भने कतिपय विद्यार्थी दुःखी पनि।

के भन्छन् विद्यार्थी?

समता शिक्षा निकेतनमा अध्ययनरतत सञ्‍जीवनी बुर्तेलले  दिनरात नभनी एसईईका लागि गरेको मेहनत खेर गएको बताइन्। ‘यस वर्षको एसइईमा राम्रो ग्रेड ल्याउन दिन रात मेहनत गरी पढेको थिएँ,’उनले थाहाँखबरसँग भनिन्,‘सरकारको यो निर्णयले मेरो मेहनत मात्र खेर गयो।’

उनले कोरोना कहरपछि परीक्षा दिन पाउने आशामा रहेको पनि सुनाइन्। ‘मैले यस्तो कहिलै सोचेको थिइनँ। एक न एक दिन परीक्षा दिन पाउँछु भन्‍ने आशामा थिएँ', उनले भनिन्, 'सरकारले परीक्षा नगराई आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र दिने निर्णय ल्यायो। यो निर्णय चाहिँ मलाई राम्रो लागेन।’

व्यवहारिक रुपमा एसइई परीक्षा दिन नपाएको भन्दै अरु साथीहरुले पनि दुःख व्यक्त गरेको उनले सुनाइन्। ‘परीक्षा दिन पाए व्यवहारिक कुरा जानिन्थ्यो’, उनले भनिन,‘प्राक्टिकल्ली ज्ञान पाइन्थ्यो। परीक्षा नदिई प्रमाणपत्र पाउनुको महत्व नै रहँदैन। त्यसैले म मात्रै दुखी छैन। मेरा साथीहरु पनि परीक्षा दिन नपाएकोमा दुखी छन्।’ 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यस वर्ष चार लाख ८२ हजार सात सय सात जना एसइई परीक्षा दिने तयारीमा विद्यार्थी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.