|

म्याग्दी : म्याग्दीका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहको उपल्लो क्षेत्रमा यतिबेला धमाधम धान रोपाइँ शुरु भएको छ। 

समयमै पानी परेकाले किसानले यसपटक सिंचाईको समस्या भोग्नुपरेको छैन। बुधवार ज्यामरुककोटको विमिराबोटमा खेत हिल्याउँ गरेका नारायण शर्माले यस वर्ष पानीको अभाव नहुँदा रोपाइँ सजिलो भएको बताए।

नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाइँ गर्न थालेको कृषकहरुले बताएका छन्। ‘कोरोनाको डर भएपनि भौतिक दुरी र स्वास्थ्य सतर्कता अपनाएर रोपाइँ गर्न थालेका छौ,’ बरंंजाका हितमान रोकाले भने, ‘छिमेकमा अर्मपर्म गरेर रोपाइँ गरेका छौं, पानी परिरहेकाले सजिलो भएको छ।’ 

बगरफाँट, रत्नेचौर सिंगा, अर्मनको छिसवाङ, पिपलबोट, खोप्टी, पिपलबोट, सेराफाँट र पुलाचौर म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हुन्। गहुँ छरेको र हिउँदे बाली नलगाएको खेतमा जेठको अन्तिम साताबाट रोपाइँ सुरू हुन्छ। 

उपल्लो म्याग्दीका अधिकांश ठाउँमा सामाजिक दुरी कायम गर्दै किसानहरु धान रोपाइँमा व्यस्त रहेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्। मालिका गाउँपालिका ५, देविस्थानका वडाअध्यक्ष पिपला बूढाले रोपाइँको चटारो भएपनि सामाजिक दुरी कायम गरेर किसानहरुले काम गरिरहेको बताइन्।

विगतका वर्षहरुको तुलनामा यस वर्ष धान रोपाइँ गर्न निकै सहज भएको किसानले बताएका छन्‌।लामो बन्दाबन्दीका कारण शहरबजार र घरबाट बाहिर रहेका व्यक्तिहरु पनि गाउँमा फर्किएकाले कृषि मजदुरको कुनै समस्या नभएको ज्यामरुककोटका कृषक ज्ञान सापकोटाले बताए। सापकोटाले भने, ‘यस वर्ष खेताला (कृषि मजदुर) र पानीको अभाव नहुँदा सजिलैसँग रोपाइँ हुँदैछ।‘

विगतका वर्षमा मजदुर अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि सहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएका छन्। 

परिवारका सबै सदस्य घरमै रहेकाले खेतीबाली लगाउन सजिलो भएको किसानहरुको भनाइ छ। ‘कोरोनाले गर्दा यसपाली खेतीबाली लगाउन खेताला खोज्न परेको छैन,’ सापकोटाले भने, ‘काम गर्ने मान्छे घरमै छन्, आनन्दै छ।’ 

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगका साथै कृषकहरुले परम्परागत प्रविधिको भरपुर प्रयोग गरेका छन्। खेत जोत्नका लागि मिनिटिलर वा ट्याक्टर प्रयोग गरिएपनि हल गोरु नारेर रोपाइँ गर्नुको मज्जा नै बेग्लै हुने युवा पुस्ताका कृषकहरुको भनाई छ।

कृषि ज्ञान केन्द्र म्याग्दीले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। म्याग्दीमा गौरीया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा वार्षिक चार हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.