लकडाउनमा डोका बेचेर २५ हजार आम्दानी

|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलामा मौलिक ‘चिमखोले डोको’ बुन्ने पेशा संरक्षण गर्न स्थानीयलाई उद्यमशीलता तालिम प्रदान गरिएको छ।

डिभिजन वन कार्यालय म्याग्दीले सामुदायिक वनमा उद्यमशीलता अभिवृद्धि कार्यक्रम अन्तर्गत चिमखोलाका २० जनालाई बाँस तथा निगालोका डोको, डाली र मुढा लगायतका सामाग्री बनाउने तालिम दिइरहेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए। जेठ २३ गतेदेखि सुरू भएको तालिम एक सातासम्म सञ्चालन हुनेछ।

स्थानीय रानीवन चिमखोला सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो। चिमखोलामा उत्पादन गरिने मौलिक डोको र डालीको माग अत्यधिक छ।

खासगरि ग्रामीण भेगमा घरायसी सामान बोक्नको लागि डोकोको प्रयोग गरिने भएपनि शहरी क्षेत्रमा समेत सजावट र कोसेली बोक्ने प्रयोजनमा चिमखोले डोको र डालीको प्रयोग हुँदै आएको छ। रंग लगाएर आकर्षक बनाइएको डोको र डालीलाई उपहारको रूपमा समेत आदान-प्रदान गर्ने चलन छ।

पछिल्लो समय मौलिक चिमखोले डोको बुन्ने पेशा हराएर जाने जोखिम बढेपछि डिभिजन वन कार्यालयले स्थानीयस्तरमा उद्यमशीलता विकासलाई ध्यानमा राखेर तालिम सञ्चालन गरेको फरेष्टर रामजी शर्माले बताए। चिमखोला क्षेत्रमा प्रशस्त मात्रामा पाइने निगालोको उपयोग गर्नसक्दा स्थानीयको आयआर्जन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई छ।

चिमखोलाका स्थानीय २० जनाको सहभागिता रहेको तालिममा स्थानीय सरबहादुर पुन र पोष्टहादुर पुनले डोको र डाली तथा रूपेश नेपाली र सन्तबहादुर शेरपुञ्जाले मुडा बुन्ने तालिम दिइरहेका छन्‌।

लकडाउनमा डोको बेचेर २५ हजार आम्दानी

कोरोनाको कहरका कारण कतिपय मानिसहरुले आफ्नो पेशा-व्यवसाय वा दैनिकीमा नै ठूलो समस्या उत्पन्न भएको बताइरहँदा म्याग्दीका केही युवाले भने महामारी अवधिलाई पनि अवसरमा परिणत गरेका छन्।

बेनी नगरपालिका-२, ज्यामरुककोटका विक्रम बोहोरा यसको उदाहरण बनेका छन्। उनी अहिले कृषि कर्ममा प्रयोग हुने बाँस र निगालाबाट बन्ने नेपाली मौलिक सामाग्री बनाउन व्यस्त छन्।

बोहोराले बाँस र निगाँलाबाट थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङगो), सोली, कोर्को, डोका र स्याखुलगायतका विभिन्न सामाग्री बनाएर गाउँ-घरका आवश्यकता पूरा गरेका छन्‌ भने घरमै काम गरेर नगद आर्जन पनि गरिरहेका छन्‌।

लकडाउनको २८ औं दिनसम्म घरमा नै बसेर उनले बाँस र निगालाबाट कृषि कर्ममा प्रयोग हुने बन्ने ५२ वटा सामाग्री बनाएर २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.