नयाँ नक्साविरुद्ध उभिएपछि राजनीतिक तरंग

|

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीले बिहीबार संसद सचिवालयमा दर्ता गरेको संसोधन प्रस्तावले नेपालको राजनीतिमा अर्को तरंग ल्याएको छ। उनको यो कदमका कारण उनको पार्टी समाजवादी नै अफ्ठेरोमा परेको छ।

नयाँ नक्सा संशोधनका लागि आवश्यक प्रमाण नपुग्ने भन्दै संसद सचिवालयमा संशोधनको सूचना दर्ता गरेपछि बुधबारै उनको विशालनगरस्थित घरमा युवाहरुको समूहले आक्रमण प्रयास गर्दै कालोझण्डासमेत गाडे।

लगातार भारतको पक्ष लिँदै नेपालविरुद्ध अभिव्यक्ति दिइरहेको अवस्थामा गिरीले नयाँ नक्साविरुद्ध संशोधनको सूचना संसद सचिवालयमा दर्ता गराएपछि समाजवादी पार्टीले उनीमाथि कस्तो कारवाही गर्ला? धेरैलाई चासोको विषय बनेको छ।

नेपाल सरकारले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। अब त्यसलाई निशान छापमा राखेर आधिकारिकता दिने प्रक्रियामा सरकार लागेको छ। यसलाई संदमा पेश गरिएपछि अब उक्त संशोधन विधेयक पारित हुन मात्रै बाँकी छ।

सरकारको यो कदममा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले उक्त कुरामा सरकारलाई साथ दिने बताइसकेका छन्। तर, समाजवादी पार्टीकी सांसद गिरीले भने नेपालले नक्सा जारी गर्नुअघि भारतलाई सोध्नुपर्ने, छलफल गर्नुपर्ने कुरा औँल्याइन्।

लिम्पियाधुरा, कालापानी, लिपुलेक भारतकै भूमि हो भन्दै विवादित अभिब्यक्ति दिँदै आएकी उनी नक्सा संशोधनविरुद्ध संसदमै उभिएपछि झन् विवादित बनेकी छन्। 

लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयकविरुद्ध संशोधनको सूचना दर्ता गराएपछि उनी झनै आलोनाको निशाना बनेकी छन्। 

उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी छन्। गिरीले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी हुन्।  

उनलाई उनकै पार्टीका प्रमुख सचेतकले उक्त सूचना फिर्ता नलिए कारबाही गर्ने चेतावनी पनि दिइसकेका छन्। ‘एकदमै मनलाग्दी उहाँको भयो । त्यही भएर कडा भएर चिठ्ठी लेखेको छु । अब फिर्ता गर्नको लागि भन्दा मान्‍नुहुन्‍न भने हामी उहाँविरुद्ध सख्त कारवाहीमा जान्छौं,’ समाजवादीका प्रमुख सचेतक उमाशंकर अगरियाले भने, ‘केहीले पार्टीमा जति छुट दिँदै गयो, त्यति मनलाग्दी गर्दै जानुभएको छ, राष्ट्रिय मुद्दामा पनि।’ उनले संविधान संशोधनका लागि सूचना दर्ता गर्ने ७२ घण्टाभित्र सूचना फिर्ता नगरे पार्टीले गिरीलाई कारबाही गर्ने उनले बताए।

समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि उक्त संसोधनको सूचना फिर्ता नगरे कारबाहीको चेतावनी दिएका छन्। बाबुरामले देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्न नहुने र कसैले गरे दण्डनीय हुने पनि बताएका छन्। 

‘जनता समाजवादीपार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो। यसका नेताकार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउनेने कार्य गर्नुहुँदैन र गर्न सक्दैनौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन्। कसैलाई कुनै भ्रम नहोस्।’  

समाजवादी पार्टीका मिडिया प्रमुख विश्‍वदीप पाण्डेले आफ्नो फेसबुकमा लेख्दै संसोधनको सूचना फिर्ता नलिए पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने बताएका छन्।

उनले जनता समाजवादी पार्टीको स्पष्ट धारणा पनि यही रहेको जिकिर गरेका छन्। ‘सरिताजीले हिजो दर्ता गरेको संशोधन फिर्ता लिनु भएन भने पार्टीले उहाँलाई सांसद पदबाट मात्रै होइन', उनले लेखेका छन्, 'पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्नेछ । जसपाको स्पष्ट कुरा यही हो।’ 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.