सरकारले हचुवामा निर्णय लिएको आरोप

|

काठमाडाैं : नेपाल सरकारका पूर्वसचिव तथा सीमा अध्यता द्वारिकानाथ ढुंगेलले अहिले नक्सामा पारिएको नेपाली भूमिको प्रमाण खोज्‍ने विषयमा सरकार उल्टो बाटो हिँडेको बताएका छन्। 

सरकारले भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेको नक्सा पहिले जारी गरेर पछि प्रमाण खोज्‍न टोली गठन गर्ने निर्णय आफ्नै खुट्टामा बन्चरो हाने जस्तै रहेको उनले बताएका छन्।

सरकारले बिहीबार विष्णु उप्रेतीको नेतृत्वमा भारतसँगको सीमा विवादमा वार्ताका लागि आवश्यक प्रमाण बटुल्न समिति बनाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  

ढुंगेलले प्रमाण संकलनको काम बाँकी हुँदै नक्सा जारी गरिनुलाई बेठीक भनेका छन्। ‘सरकार उल्टो बाटोमा, आफ्नो खुट्टामा आफैंले बन्चरो हान्यो,’ उनले भनेका छन्। 

नेपाल भारत सीमासम्बन्धी प्रमाण संकलन समितिमा कोको परे भन्दा पनि सरकार उल्टो बाटो हिँडेको उनको भनाई छ। ‘अहिले समितिमा को को परे, को परेनन् भन्‍ने कुरा सामाजिक सञ्जालमा देखिन थालेका छन। समितिमा परेका सबैलाई बधाई,’ उनी लेख्छन्, ‘तर, मूल विषय समितिमा को परे वा परेनन भन्‍ने होइन। सरकार उल्टो बाटो हिँड्यो। र, आफ्नो खुट्टामा बन्चरो हान्‍न पुगेको छ। यो कुरा विचारणीय छ।’ 

सबै प्रमाण बटुलेर तिनकै आधारमा नक्सा जारी गरेर भारतलाई वार्ता आह्वान गर्ने सरकारले अहिले किन प्रमाण संकलनका लागि समिति गठन गरेको भन्दै उनले प्रश्‍न गरेका छन्। ‘सबै प्रमाण छन्, तिनै आधारमा नक्सा निकालिएको भनेर भारतलाई वार्ता गर्न आह्वान गर्ने ओली सरकार अहिले आएर प्रमाण संकलन गर्ने कार्यआदेशसहित उप्रेती समिति गठन गर्न पुग्दछ,’ उनले भनेका छन्, ‘प्रमाण संकलन गर्ने काम बाँकी थियो भने किन नक्सा प्रकाशित गर्यो?’ 

उनले अहिले गठित समितिले प्रमाण पाइएन भन्यो भने सरकारले के गर्छ भन्दै प्रश्‍न पनि गरेका छन्। ‘किन प्रकाशित नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संविधान संशोधनको प्रस्ताव संसद समक्ष प्रस्तुत गर्यो?,’ उनले लेखेका छन्, ‘समितिले प्रमाण पाइएन भन्यो भने, के सरकार प्रकाशित नक्सा फिर्ता लिन्छ? सरकारको यस्तो ब्यबहारलाई छिमेकीले कसरी हेर्लान र पलट वार गर्लान्?’

अहिले बनेको समितिको मूल्यांकन गरेको की अवमूल्यांकन भन्दै उनले कटाक्ष पनि गरेका छन्। उनले सरकारले खेलाँची गरिरहेको वा विषयमा गम्भीर हुन नसकेको आफूले बुझ्‍न नसकेको प्रतिक्रिया पनि दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.