उपप्रमुख र प्रतिपक्षीको मोर्चाबन्दी

|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ। विवादपछि बैठक बीचमै रोकिएको छ। 

बैठकमा विवाद शुरु भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सबै एजेण्डा बहुमतले पारित भयो भन्दै बैठकस्थल छाडेर गएको उपप्रमुखसहितका वडाअध्यक्षहरुले आरोप लगाएका छन्।

लामो समयदेखि बस्न नसकेको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका बैठक शुक्रवार कृषि विकास बैंकको तालिम केन्द्र बोडेमा बस्ने गरी आव्हान गरिएको थियो। 

बैठकमा आर्थिक वर्ष २०७६÷७७ को योजना कार्यान्वयन, आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सञ्चालन आदेश स्वीकृति, अस्पताललाई रकम हस्तान्तरण, कोरोना महामारीमा भएको राहत वितरणको प्रतिवेदन स्वीकृति र खर्च भुक्तानीको एजेण्डा तय भएको थियो। 

त्यसैगरी जग्गा एकिकरण आयोजनासम्बन्धी उपत्यका विकास प्रोधिकरणसँग भएको पत्राचार, रोटरी क्लब मध्यपुरको समन्यवमा नेपाल कोरिया अस्पतालमा भेन्टिलेटर र डायलासिस जडान गर्ने सम्झौता, नगरपालिकाको नक्सा पास प्रणालीलाई ईबिपिएस प्रणालीबाट सञ्चालन गर्ने, कोरोना महामारीबीच खटिएका नगर स्वयम सेवकहरुको व्यवस्थापनसहितका ९ वटा एजेण्डा तय गरिएको थियो। 

दिउँसो साढे २ बजे शुरु भएको बैठकमा तेस्रो एजेण्डामा प्रवेश नगर्दै विवाद शुरु भएको वडा नं. २ का वडाअध्यक्ष राम थापामगरले जानकारी दिए। 

उनले उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतका कार्यपालिका सदस्यहरुले बैठकका केही एजेण्डामा विरोध गर्ने वित्तिकै नगरप्रमुख श्रेष्ठ सबै एजेण्डा बहुमतले पारित भयो भन्दै निर्णय पुस्तिका बोकेर गएको आरोप लगाए।

बैठकबीचमै रोकिएपछि बैठक स्थल बाहिर समेत विवाद भएको छ। बैठकस्थल बाहिर उपप्रमुख मधिकर्मीसहितका कार्यपालिका सदस्यहरुले नगरप्रमुख श्रेष्ठसँग बैठकको निर्णय पुस्तिका हेर्न पाउनु पर्ने माग गरेका थिए। 

उनीहरुले बैठक स्थगित भएको हो की एजेण्डामा निर्णय भएको हो स्पष्ट जानकारी पाउनुपर्ने माग गरेका थिए। नेपाली कांग्रेसका नेता एवम् मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुखका प्रत्यासी अष्ट कवेलेसमेत नगरप्रमुख श्रेष्ठसँग बैठकबारे जानकारी मागेका थिए।

बैठकअघि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रेस विज्ञप्ती जारी गर्दै स्वीकृतिका लागि ल्याएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सञ्चालन आदेशको मस्यौदा जनप्रतिनिधिलाई उपलब्ध नगराएको, अस्पताललाई योजनाबिना ६ करोड रुपैयाँ दिने निर्णय गराउन लागेको, आर्थिक नियम विपरित अस्पतालमा सामान खरिद गर्ने त्रिपक्षीय सम्झौता गरिएको भन्दै विरोध गरेका थिए।

त्यसैगरी कोरोना महामारीको नियन्त्रण र रोकथाममा जनचेतना अभिबृद्धिका लागि नगरपालिकाले नियुक्त गरेका २० जना नगरस्वयम सेवकहरुलाई प्रक्रिया नपुर्याई नगरप्रमुखको ठाडो आदेशमा नगरप्रहरीमा नियुक्त गर्न लागेको भन्दै उपप्रमुख मधिकर्मीले विज्ञप्ती मार्फत विरोध गरेको थियो।

उपप्रमुख मधिकर्मीले नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम र शीर्षक भन्दा बाहिर गएर आदेशको भरमा गैर कानुनी कार्य भएकोमा सोलाई कार्यपालिकामा ल्याई अनुमोदन गर्न लागेको भन्दै विरोध गरेका थिए। 

यता नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बैठक सकिएपछि उपप्रमुखलगायतका केही कार्यपालिका सदस्यहरुले अनावश्यकरुपमा विवाद गरेको आरोप लगाए। उनले उपप्रमुखसहित केही सदस्य विवाद गर्ने योजनाका साथ बैठकमा आएको आरोप समेत लगाए। उनले भने, उहाँहरु बैठकका एजेण्डामा असहमतिको विज्ञप्ती जारी गरी जसरी पनि विवाद गर्ने उद्देश्यले बैठक आउनुभएको हो।

उपप्रमुखसहितका केही सदस्यहरु तीनवटा एजेण्डामा नोटअफ डिसेन्ट लेख्ने उद्देश्यले बैठकमा आएको र होहल्ला गरेर अनावश्यकरुपमा विवाद सिर्जना गरेको नगरप्रमुख श्रेष्ठले दावी गरे। उनले आफूमाथि लगाएका आरोप झुटो भएको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.