क्वारेन्टाइनमा बसेकालाई परीक्षणबिनै घर पठाइने

|

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरिएका एक हजार ६७२ जनाको पिसिआर परीक्षण बाँकी रहेको छ । यस प्रदेशका  १५ अस्पतालबाट ३३४ जना ठिक भएर डिस्चार्ज भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डिस्चार्ज हुनेमा कोरोनाका शंकास्पद लक्षण र आरडिटी पोजेटिभ आएर अस्पताल भर्ना भएर निको भएका हुन्।

डिस्चार्ज भएकामा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट १२१ जना रहेका छन्। यस्तै, बयालपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३०, जिल्ला अस्पताल डोटी र महाकाली अस्पतालबाट २७÷२७ जना रहेका छन्।

यस्तै जिल्ला अस्पताल अछामबाट १९, जिल्ला अस्पताल बझाङबाट १८ , टीकापुर अस्पतालबाट १४, जिल्ला अस्पताल बैतडीबाट १०, जिल्ला अस्पताल बाजुराबाट आठ, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५÷५, चौमला स्वास्थ्य केन्द्रबाट तीन, जोगबुढा अस्पतालबाट दुई र कोल्टी स्वास्थ्य केन्द्रबाट एकजना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको शंकामा अस्पतालको आइसोलेसनमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए। अहिले प्रदेशभरी २८ जना शंकास्पद र ९३ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ।

१६ सयभन्दा बढी नमुनाको परीक्षण बाँकी 

कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरिएका एक हजार ६७२ जनाको पिसिआर परीक्षण बाँकी रहेको छ। उक्त नमुना सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका हुन्। नमुना परीक्षणको पालोमा धनगढी स्थित प्रयोगशालामा रहेका छन्।

निर्देशनालयले संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै गत शुक्रबारदेखि पाँच दिनका लागि थप संकलनको काम स्थगित गरेको थियो। अहिले पुनः संकलनको काम पनि सुरु भएको छ। 

पिसिआर परीक्षण भएकोमा १९१ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमित मध्ये २१ जना डिस्चार्ज भएका छन् भने दुईजनाको मृत्यु भएको छ। यस्तै, धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौं रेफर गरेको छ।

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी परीक्षणमा धेरैमा पोजेटिभ देखाएकाले परीक्षणमा समस्या भएको बताइएको छ। प्रदेश सरकारले सुदूरपश्चिमका पडाडी जिल्ला बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने भनेर गत चैत १५ गते निर्णय गरेको थियो तर हालसम्म पनि स्थापना हुन सकेको छैन।

क्वारेन्टाइनमा बसेकालाई परीक्षणबिनै घर पठाइने 

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै क्वारेन्टाइनमा बसेका नागरिकलाई परीक्षणबिनै घर पठाउन भनेको छ। १४ दिन क्वारेन्टाइनमा बसिसकेका र कुनै लक्षण नदेखिएका व्यक्तिलाई सात दिन होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाइन लागेको हो। 

स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा हाल ६६ हजार जना क्वारेन्टाइनमा बसिरहेका र सबैको परिक्षण गर्न आरडिटी किट अभाव रहेको बताए।

सुदूरपश्चिमका विभिन्न अस्पतालबाटै कोरोना संक्रमितलाई पनि परीक्षणबिनै साताजनालाई घर पठाइएको छ। जिल्ला अस्पताल डोटीले बिहीबार एक, सेती प्रादेशिक अस्पतालले जेठ २३ मा बैतडीका चार र अछामका दुईजना संक्रमितलाई परीक्षणबिनै घर पठाएको हो।

१४ दिन आनइसोलेसनमा रहेका संक्रमितलाई कुनै लक्षण नदेखिए होम आइसोलेसनमा बस्ने गरी घर पठाउन सक्ने नयाँ निर्देशिका पारित भएको छ। सोही निर्देशिकामा टेकेर संक्रमितलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ। संक्रमितलाई कोरोना निको नहुँदै घर पठाउँदा गाउँमा त्रास बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.