एसइई सधैँका लागि बन्दै गर्नुपर्छ

|

काठमाडौं : कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) संचालन नगर्ने निर्णय गरेको छ। अब विद्यालयकै आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीले ग्रेड सिट प्राप्त गर्नेछन्। सरकारको यो निर्णयपछि शिक्षा क्षेत्रका कतिपय मानिस अब एसइई सधैंका लागि खारेज गरेर कक्षा १२ को परीक्षाका लागि विद्यालय तहको अन्तिम परीक्षा लिनुपर्ने तर्क गरिरहेका छन्।

कोरोनाका कारण विद्यालयहरु तत्काल नखुल्ने भएपछि अनलाइन वा दूरशिक्षा विधिबाट पठनपाठनको तयारी गरिएको छ। अहिलेका पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणालीका कारण यस्तो भर्चुअल विधिको पठनपाठन थप चुनौतीपूर्ण बनेको छ। यिनै विषयमा थाहाकर्मी नरेन्द्र सापकोटाले शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश।

यसपटक माध्यामिक शिक्षा परीक्षा (एसइई) नलिने सरकारको निर्णयप्रति तपाईंको टिप्पणी के छ?

संरचनागत चिन्तनबाट हेर्ने हो भने असाध्यै ठिक भएको छ। किनभने आधारभूत तह हाम्रो आठ कक्षासम्म हो। माध्यामिक तह १२ कक्षासम्म हो भनेपछि ८ र १२ कक्षाको जाँच लिनुपर्छ। बीचको जाँच भनेको विद्यालयको जिम्मामा हो। त्यसैले यो प्रयास बडो ठिक भएको छ। तर अफ्ठ्यारो कहाँनिर भयो भने अहिले एक पटकलाई मात्रै भनेर गर्यो भने बर्बाद छ। एकपटकलाई मात्रै भन्यो भने कोरोना वर्ष स्वतः पास ? भन्ने नकारात्मक अवस्था आउने सम्‍भावना हुन्छ।

हामीसँग त्यस्ता अनुभव छन्। जस्तो त्रिभुवन विश्वविद्यालयले स्वतः एक तह पदोन्नती भनेको ब्याचका प्राध्यापकहरू। अथवा सरकारले स्वतः पानी बढुवा भनेर जुन बदनाम भयो त्यस्तो खालको अवस्था हुन सक्छ। त्यसैले सरकारले के चिन्तन राखिरहेको देखिन्छ भने शिक्षा ऐन २०२८ को दफा (४-ट) को उपदफा १ र २ लाई परिमार्जन गर्न सकियो भने एउटा बाटो त्यहाँबाट निक्लन सक्छ।

दोस्रो बाटोचाहिँ सरकारले अहिलेको जुन प्रस्तावित शिक्षा ऐन संसदमा गएको छ त्यसमा यो कुराहरु राखिदियो भने उपयुक्त हुन्छ। यो दुईवटा बाटोमा सरकार हिँडिरहेको छ। त्यसैले सकारात्मक मोडमा छ भनेर बुझ्नुपर्छ।

एसइई परीक्षा अब सधैंलाई खारेज गर्नु पर्ने हो त?

हो। यो १० कक्षाको जाँच हो नि त। १२ कक्षासम्मको स्कूल बनाएपछि अन्तर्राष्ट्रिय जगतको नियम त्यही हो।

नेपालमा जसरी एसइइ परीक्षालाई महत्व दिइँदै आएको हो, अहिले आएर परीक्षा नलिने भन्दाचाहिँ तयारी गरेर बसेका विद्यार्थीलाई के प्रभाव पर्ने देख्नुहुन्छ?

यो त नचाहिने काम भयो। यसपटक सरकार दुईवटा कुरामा नराम्रोसँग चुक्यो। एउटा कोरोनाको कारणले दुई अढाइ महिनासम्म शिक्षकलाई त्यसै पैसा खुवाउनुपर्ने बाध्यता भयो। किनभने अहिले असार १ गतेदेखि पठनपाठन अघि बढाउने भनियो तर यो कोरोना महामारी सुरु भएको एक हप्ताभित्रै यो सबै काम गरिसक्नु पर्ने थियो।

दोस्रो चाहिँ यो परीक्षाको निम्ति जुन अन्योल भयो त्यसो हुनेबित्तिकै हामीजस्ता भुइँमान्छेले समाधानका उपाय दिइरहेका थियौं। त्यसलाई सरकारले ठ्याक्कै सुनिदिएन। तर यति पछि आएर विद्यार्थी तयारीमा बसिरहेका छन् परीक्षा नलिने निर्णय गर्दाखेरी के हो कसो भन्ने अवस्था पैदा गरिदियो। तर ढिलो भएपछि ठिक बाटो समातेको छ त्यस मानेमा सकारात्मक मान्नुपर्छ।

अब भविष्यमा अध्ययनका लागि चाहिँ विद्यार्थी कसरी तयार हुनुपर्छ?

हाम्रो शिक्षा प्रणाली लचिलो हुन्छ कि त्यहि परम्परामा बस्छ, यतिमात्रै प्रश्न हो। उदाहरणका लागि जस्तो अहिले विद्यालयले नम्बर हालिदिने भनेपछि धेरै नम्बर हालिदिन पनि सक्लान एउटा आशंका हुनसक्ने भयो। त्यसो हो भने ए प्लस ए ग्रेडिङ आयो भनेर कक्षा ११ मा म साइन्स पढ्छु, म अर्को विषय पढ्छु भनेर गए भने भर्ना नदिने भन्ने प्रश्न हुँदैन। दिउँ भनेदेखि उसको तागत नहुन सक्छ। यस्तो स्थिती आउन सक्छ। त्यसो हुँदा लचिलो स्कुलहरू बनाउनुपर्ने परिस्थिति हुन्छ।

विद्यार्थी त्यसैमा जानुपर्ने भो। अब विद्यार्थीलाई त कस्तो परिस्थिति आयो भने म दुईटा कक्षा तपाईंको स्कूलमा भर्ना गर्छु। कोर्षमा भर्ना हुने क्या, जम्मै भर्ना गर्दिन। दुईटा कोर्ष चाहिँ अर्को स्कूलमा भर्ना गर्छु। अर्को स्कूलमा भर्ना गर्दा म अनलाइनबाट पढ्न पनि सक्छु अफलाइन पढ्न पनि सक्छु। ट्युसन लिन पनि सक्छु वा आफैं पढ्न पनि सक्छु भन्ने किसिमको लचिलो प्रणाली भयो भनेदेखि बडो ठिक हुने भो।

अहिलेकै जस्तो अफ्ठेरो हुन भो भने अर्को उपाय गर्न सकिन्छ। त्यो भनेको जो विद्यार्थी म यो विषय पढ्छु भनेर गयो तर नसक्ने भयो भने उसका निम्ति सपोर्ट लिनसक्ने कक्षाहरु बनाएर सहयोग गर्ने किसिमले लान सकिन्छ।

हामीकहाँ विद्यार्थीको क्षमता रुचि हेरेरभन्दा पनि उसको मार्कसिट हेरेर कुन विषय पढ्ने भन्नेतिर अभिभावक, शिक्षक सबैले प्रोत्साहित गरिरहेका हुन्छन् नि?

तर हामीकहाँ अर्को सम्‍भावना पनि थियो। अहिलेका चर्चित डाक्टर अर्जुन कार्की जसले तेस्रो श्रेणीमा एसएलसी पास गर्नुभएको रहेछ। उहाँजस्तो मान्छेलाई चाहिँ म साइन्स पढेर डाक्टर बन्छु भन्दा कुनै बेला डाक्टर मथुरा श्रेष्ठले अवसर दिनुभएको रहेछ। उहाँले गरेर देखाउनुभयो त। अहिले डाक्टर अर्जुन कार्की होनाहार डाक्टरमध्येकै हुनुभयो त। यसरी पनि सोच्नुपर्छ अब। बदल्ने बेला यही हो।

अमेरिका युरोपमा पनि मार्कसिट हेरिँदैन क्षमता हेरिन्छ। जस्तो विद्वान इतिहासकार नयराज पन्तका छोरा डाक्टर महेशराज पन्त उहाँले कहिल्यै स्कूल पढ्नुभएन। तर जर्मनीबाट पीएचडी गरेर आउनुभो। जर्मनीले विश्वास गरेर यो मान्छेको क्षमता छ भनेर अवसर दिएरै उहाँले पीएचडी गर्न पाउनुभएको हो नि। यस्तो प्रणालीलाई पनि हाम्रो निर्णय गर्ने ठाउँमा बसेका निर्णायक मण्डलीले बुझिदिए राम्रो हुन्थ्यो। नजिर खोज्न विदेश जानै पर्दैन स्वदेशमै छन्।

कोरोनाको जोखिम रहेसम्म स्कुल खुल्ने छाँट देखिन्‍न, त्यसैले भिडियोमार्फत् पढाउन थालिएको छ। अहिलेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भर्चुअल माध्यामबाट पढाउन उपयुक्त छन्?

नभए बनाउनुपर्छ। किनभने नेपालकै उदाहरणमा गजब गजब भेटिन्छ। मदन राईको स्कूल खोटाङमा गएर हेर्न सक्नुहुन्छ। यहिँ ललितपुरको ढोलाहिटीमा गएर देख्न सक्नुहुन्छ। उहाँको स्कुलका विद्यार्थीले यहि पाठ्यक्रम पढ्छन्। तर उहाँले के गर्नुभएको छ भने खाने, लाउने, सुत्ने भनेर विभिन्न १३–१४ वटा विद्या बनाइ दिनुभएको छ।

अब यो सबै विद्यामा विद्यार्थी पारङ्गत हुन्छ भने त्यसले स्वतः पाठ्यक्रमलाई पूरा गरिसक्दो रहेछ। यस्तो चिन्तन एउटा कृषिको विज्ञले हाम्रै ठाउँमा गरिरहेका छन् नि। अनि हामी किन उहाँसँग नसिक्ने ? त्यसैगरी नारायण सिग्देल जो सुर्खेतको बड्डिचौरमा प्रधानाध्यापक हुनुहुन्छ। उहाँको विद्यालयमा कृषिलाई जोडेर विद्यार्थीलाई यसरी पढाइएको छ कृषिबाटै केटाकेटी कमाउँछन् र कृषिमै रमाउँछन् पनि। भइरहेको छ त।

प्रश्न चाहिँ गर्ने कि नगर्ने भन्ने हो। त्यसैले म शिक्षक साथीहरुलाई अलिकति तितो ढंगले के भन्छु भने तपाइले गर्न चाहनुहुन्छ हुन्छ कि चाहनुहुन्न हुन्न ?  तपाइँ निर्णायक हो। तर शिक्षकले अहिलेसम्म यो बुझ्न चाहेनन्। यो कोरोनाका बेला शिक्षक जुन आक्रामक भएर आउनु पर्ने हो। आउँदैन आएनन्। शिक्षा मन्त्रालयको निर्णय कुरेर बस्यो। सरकारको मुख ताक्नु पर्ने होइन नि। मेरो विद्यार्थी घरमा बसिरहेको छ भनेपछि मुटु त उसलाई दुख्नुपर्ने हो नि होइन र।

पाठ्यक्रम जस्तो भएपनि शिक्षकले व्यवहारिक शिक्षा दिन सक्छन् तर गरेनन् भन्ने तपाईंको कुरा ?

हो त। पाठ्यक्रम नै यस्तो छ भनरे शिक्षकले वाहियात कुरा गरेको हो। मरेको पाठ्यक्रम बोकेर हिँडेर त्यसैलाई दोष दिइरहने हो भने जिउँदो शिक्षक राखेको किन ? त्यो पाठ्यक्रमलाई तन्काउनुस, भत्काउनुस व्यवहारसँग जोडौं न। तरिका हो नि ठूलो कुरा।

तपाईंको तीर चाहिँ सधैं शिक्षकतिर मात्रै गइरहन्छ त?

नाईं भन्नुपर्ने कुरै छैन। किनभने मालिक नै उही हो। विद्यार्थीको निम्ति शिक्षकबाहेक अरु कोही हुँदै होइन। व्यवस्थापन समिति, सरकार उसलाई सहयोग गर्ने तत्व हो चालक त उही हो। भान्से हुने मान्छेलाई सबै कुरा कसैले ठिक्क पार्दिन्छ र?

भर्चुअल माध्यमबाट ठूला कक्षाकाले त पढ्लान् तर साना बालबालिकालाई पढाउन कसरी सहज होला ?

रेडियो टेलिभिजनबाट पढाउने। ठूला कक्षा होइन म कक्षा नै नगनिएको सुन्य कक्षाको विद्यार्थीका लागि भन्दैछु। केटाकेटीलाई रमाइलो चिज दिन पो जान्नुपर्छ त। बिचार गरौं रेडियोबाट के दिन सकिन्छ ? टेलिभिजनबाट के दिन सकिन्छ ? मोटु पत्लुको कार्टुन हेर्न बालबालिकालाई कसैले सिकाएको छ र हेर भनेर?

केटाकेटीहरुले मरेर हेरेका छन् नि। प्रश्न के हो भने त्यस्ता सामग्री बनाउन हिम्मत गरौं न बरु। संघ, प्रदेश र स्थानीय सरकार सबैले पैसा हालौं। चिन्तन गर्ने युवाहरुको ठूलो जमात छ। उनीहरुलाई चुनौती गरौं। नहुने कुरा के छ र?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.