|

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा तीन महिने शिशुमा कोरोना पोजिटिभ देखिएको छ, तर आमालाई संक्रमण भएको छैन। संक्रमित नवजात शिशुको कसरी उपचार गर्ने भन्नेमा चिकित्सकहरू नै अलमलमा परेका छन्‌। 

कञ्‍चन गाउँपालिकाको वडा नं ५ स्थित लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा आमासँगै रहेकी शिशुमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। क्वारेन्टाइनको एउटै कोठामा सँगै रहेका बाबु र आमामा भने कोरोना नेगेटिभ देखिएको छ। 

शिशुलाई मात्रै कोरोना पोजिटिभ देखिएपछि उनलाई ‘आइसोलेट’ गरेर उपचार गर्न गाह्रो भइरहेको वडा नं ५ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। ‘तीन महिने शिशुलाई आमासँग छुटाएर राख्न सकिँदैन, आमा स्वस्थ रहेकाले सँगै राख्न पनि मिलेको छैन, हामी अन्यौलमा छौं,’ वडाध्यक्ष अधिकारीले भने। 

संक्रमण देखिएका शिशुसहित आमा र बाबु भारतको मुम्बईबाट आएर जेठ ६ गते सीधै क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेको केही दिनपछि तीनै जनामा आरडिटी परीक्षण गरिएको थियो। परीक्षणमा बाबुको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा र शिशुमा पोजिटिभ देखिएको वडाध्यक्ष अधिकारीले बताए। त्यसलगत्तै आमा र शिशुको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो। 

गर्भमा रहेको बच्चालाई कोरोना सर्छ कि सर्दैन ? कसरी जोगाउने ?

संक्रमण देखिएपनि शिशुलाई आइसोलेसन केन्द्रमा पुर्‍याइएको छैन। क्वारेन्टाइनमा रहेका अन्यले संक्रमितसँगै बस्न नमानेपछि क्वारेन्टाइनकै अर्को छुट्टै भवनमा शिशु र आमालगायत अन्य दुई संक्रमितलाई सँगै राखिएको छ, तर स्तनपान र उनको रेखदेखका लागि निकै समस्या परिरहेको वडाध्यक्ष अधिकारीले बताए। 

‘संक्रमण नभएकी आमाले संक्रमित शिशुको स्याहार गरिरहनु भएको छ, उहाँमा पनि कोरोना सर्न सक्ने ठूलो जोखिम छ,’ अधिकारीले भने, ‘आमामा दीर्घ प्रकृतिको रोग रहेछ भने घातक पनि हुन सक्छ, स्वास्थ्य परीक्षणका लागि हामीसँग जनशक्ति नै छैन।’ 

शुक्रबार नै गाउँपालिकाले संक्रमित शिशु र आमालाई बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा लैजान खोजेको थियो। तर, त्यहाँ शय्या (बेड) अभाव रहेको जानकारी पाएपछि क्वारेन्टाइनमा नै राखिएको छ। अधिकारीले भने, ‘व्यवस्थापन कसरी गर्ने बडा गाह्रो भइरहेको छ, क्वारेन्टाइनमा सँगै रख्दा अन्यले विरोध गर्न थाले, त्यसैले छुट्टै राखेका छौं।’

यसो त आमा र बाबुमा संक्रमण नदेखिदा शिशुमा संक्रमण कसरी देखियो भन्ने कुरा गाउँपालिकालाई थाहै छैन। हालसम्म उक्त क्वारेन्टाइनमा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ।  

रुपन्देहीमा शिशुमा कोरोना संक्रमण देखिएको यो पहिलो मामिला भने होइन। सैनामैना नगरपालिका वडा नं ४ मा ११ महिने शिशुलगायत आमा र बाबुलाई समेत कोरोना संक्रमण देखिएको छ। संक्रमित सबैजना वडा नं १ मा रहेको प्राकृतिक चिकित्सालयको क्वारेन्टाइनमा बसिरहेका छन्। आमालाई पनि संक्रमण देखिएकाले शिशुको हेरविचार आमाले नै गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए। 

प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वाथ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले सुरक्षाका तरिका अपनाएर क्वारेन्टाइनमा नै आमाको नजिक राखेर शिशुमा देखिनसक्ने लक्षणहरुको निगरानी गर्नुपर्ने बताए।

‘शिशुलाई आमाको हेरचाह अत्याधिक आवश्यक हुन्छ, त्यसैले सुरक्षाको सबै तौर तरीका अपनाएर शिशुको स्याहार गर्नुपर्छ,’ उनले भने, ‘धेरैमा लक्षण नदेख्दै निको भएका छन्, लक्षणहरुमाथि नियमित निगरानी गरेर आइसोलेसनमा आमासँगै शिशुलाई राख्नुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.