|

बारा : वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कोरोना संक्रमितको शनिबार अन्त्येष्टि गरिएको छ। मृत्यु भएका संक्रमित पाँच वर्षीय बालकको शव बाराको निजगढ–६ स्थित जनसिर्जनशील सामुदायिक वनमा गाडेर नेपाली सेनाको टोलीले शनिबार अन्त्येष्टि गरेको हो।

निमोनियाले ग्रस्त भई वीरगञ्जमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएका बालकको आरडिटी र पिसिआर दुवै रिपोर्ट पोजेटिभ आएको थियो।

वीरगञ्ज लानुअघि निजगढमा उपचार

बालकलाई वीरगञ्जमा लैजानुअघि स्थानीय अस्पताल र मेडिकलमा उपचार गराइएको खुलेको छ। निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढस्थित निजगढ सामुदायिक अस्पताल र दुईवटा निजी क्लिनिकमा जाँच गराएका थिए। 

सुरुमा निजी क्लिनिकमा पुगेका उनीहरुको सुझावको आधारमा अटो रिक्सामा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो। अस्पतालका चिकित्सकले वीरगञ्ज रिफर गरेपछि अस्पतालकै एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा पु¥याइएको थियो। गम्भीर अवस्थामा आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

कन्ट्रयाक ट्रेसिङ सुरु

बालकको कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङ सुरु गरिएको छ। निजगढ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रमेश लामाका अनुसार मृतक बालकको छरछिमेकी, झारफुक गर्ने धामी, अस्पतालसम्म जान प्रयोग गरिएको यातायातका साधन, एम्बुलेन्स र अटो, औषधि पसल र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीसहित उनीहरुका सम्पर्कमा आएका १०० जनाको कन्ट्रयाक टे«सिङ गरिएको छ। 

‘मृतकको प्रत्यक्ष सम्पर्कमा आएका ४५ जना र उनीहरुको सम्पर्कमा आएका गरी १०० जनाको नामावली संकलन गरिएको छ,’ संयोजक लामाले भने, ‘नामावली संकलन गरिएकाहरुको स्वाब संकलन गर्नका लागि भिटिएमका लागि अनुरोध गरिएको छ।’

संक्रमितका आमा, बुवासहित सम्पर्कमा आएका सबैलाई सेल्फ आइसुलेटेड गरिएको छ। संक्रमितको आमा, बुवाको वीरगञ्जमै स्वाब संकलन भइसकेको छ।

सतर्कता बढाइयो

कोरोना संक्रमणबाट बालकको मृत्यु भएपछि निजगढमा सतर्कता बढाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि निजगढमा त्रास देखिएको छ। बालकलाई लगिएको स्वास्थ्य संस्था सिल गरिएको छ भने बजार पनि बन्द गरिएको छ।

शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ। बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ति निकालेका छन्। नगर प्रमुख सुरेशकुमार खनालले जारी गरेको सूचनामा शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ।

साथै, विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधि पसलबाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ। निजगढ नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरु (औषधी पसलबाहेक) सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (बिरामी बोक्ने एम्बुलेन्सबाहेक) पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ।

त्यसैगरी अनावश्यक घरबाहिर हिँडडुल नगरी घरभित्रै बसिदिन, व्यक्तिगत दूरी बनाइ सुरक्षित बसिदिन पनि आग्रह गरिएको छ।

बारामा कोरोनाबाट ज्यान गुमाए दुई पुगे

बालकको मृत्यु भएसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुवैको वीरगञ्जको अस्पतालमा मृत्यु भएको हो।
 
बारामा पहिलो र देशकै चौथो मृत्यु जेठ ४ मा बाराको करैयामाई गाउँपािलका–७ का ७० वर्षीय वृद्धको भएको थियो। वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्युपछि संक्रमण पुष्टि

बारामा कोरोना संक्रमणबाट ज्यान गुमाएका दुवै जनाको रिपोर्ट मृत्यु भएपछि मात्र पुष्टि भएको छ। भेन्टिलेटरमा राख्नुअघि आरडिटी अस्पतालमै उपलब्ध किटबाट आरडिटी परीक्षण गरिएको थियो। त्यसपछि नारायणी अस्पतालको किटबाट समेत परीक्षण गरियो। दुवैमा रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसअघिका मृतक संक्रमित वृद्धको दाहसंस्कार सकिएपछि नौ दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो। दाहसंस्कार गरेर आफन्त किरिया बसेको अवस्थामा मृतकको कोरोना पुष्टि भएको थियो।    

अस्पताल प्रशासनले कोरोना परीक्षणको रिपोर्ट नआउँदै शव परिवारलाई बुझाएको भन्दै आलोचना भएको थियो।

बारामा अझैं ३३ जना उपचाररत

बारामा कोरोना भाइरसबाट हालसम्म ९३ जना संक्रमित भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बाराका फोकल पर्सन शंकर गुप्ताका अनुसार संक्रमितमध्ये दुईजनाको मृत्यु भएको छ।

बारामा ५८ जनाले कोरोना जीतेर डिस्चार्ज भइसकेका छन् भने ३३ जना अझैं आइसुलेशन वार्डमा उपचाररत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.