चीनको वुहानबाट करिब पाँच महिना अघि शुरू भएर विश्वलाई नै आतंकित पार्न पुगेको कोरोना भाइरसको कारण नेपाल पनि ८० दिनको लकडाउनपछि अब जीवन सहज हुने तिर गएको छ।
यस सिलसिलामा सरकारले आवश्यक व्यवस्थापन, कोरोनाका बिरामीहरुलाई उपचार गर्नको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिईको उपलब्धता, विविध स्वास्थ्य उपकरण, क्वारेन्टिनको उचित व्यवस्था कसरी गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ। साथै दैनिक ज्यालादारी गरेर खाने मजदुरको लागि खानपानको व्यवस्था, सडक बालबालिका लगायतका नागरिकलाई भोकबाट मुक्ति दिन सरकारले सक्यो सकेन भन्ने पनि आफ्नै ठाउँमा छ।
सरकारले कोरोना व्यवस्थापनका क्रममा १० अर्ब रकम सकिएको जानकारी दिएको छ। सरकारले खर्च गर्यो तर नागरिक समाजले विश्वास गर्न सकेनन्। त्यसैले आज युवाहरू सडकमा उत्रेर सरकारसंग हिसाब मागिरहेका छन्। आवश्यक पिसिआर परिक्षण समेत नगरी त्यत्रो रकम कहाँ खर्च भयो भन्ने जिज्ञासा धेरैमा छ।
८० दिन नागरिकलाई घरभित्र राखेर सरकारले तत्कालका लागि र कोरोनापछिका लागि के रणनीति बनायो ? जे होस् लकडाउन खुकुलो भयो,एकप्रकारको उकुसमुकुस अन्त्य भयो। तर, न कोरोना आतंक अन्त्य भएको छ न त नागरिकको मनोबल उच्च भएको छ।
यसबेला विभिन्न अस्पतालमा मानसिक विरामी बढि रहेका छन् । आत्महत्या गर्नेका संख्या बढिरहेको छ। यसले मानिसहरूको मनोबल गिरेको छ। तनाव बढेको छ र भविष्यप्रतिको चिन्ताले सताएको निस्कर्ष निकाल्न सकिन्छ ।
विश्वअर्थतन्त्रलाई नै असर गरेको यो कोभिड १९को महामारीका कारण नेपालीको भबिष्य कस्तो हुने हो सोचनीय छ। सही तरिकाले मानसिक तथा भौतिक व्यवस्थापन भएन भने मानसिक तनावमा बाँच्नेको संख्या बढ्नसक्छ।
कोरोनाका कारण कतिको रोजगारी गुमेको छ। कतिको व्यापार व्यवसाय चौपट भएको छ । कृषि, पर्यटन, उद्धोग हरेक क्षेत्रमा यसको प्रत्यक्ष, अप्रत्यक्ष असर पुगेको छ। तथापी, सबैभन्दा ठूलो कुरा व्यक्तिको मानसिक शान्ति र स्वास्थ्य नै हो। व्यक्ति स्वस्थ रह्यो भने न रोजगारी, कमाई, सफलता, फाइदा, उन्नतिको महत्व रहन्छ। यसको समाधान सरकारको मुख ताकेर मात्रै हुँदैन।
कति सरकारका तर्फबाट पहल गर्नुपर्ने आवश्यक कार्ययोजना र रणनीति छन् भने कति हामी आफैंमा विवेकपूर्ण र समझदारीतापूर्वक यो कठिन परिस्थितिलाई सामना गर्नुपर्नेछ।
प्रत्येक व्यक्तिले आफ्नो खुसी, स्वास्थ्य र मानसिक दशा ठिक नराख्ने हो भने भोलिका दिनमा तनावग्रस्त व्यक्तिहरूको संख्या नबढ्ला भन्न सकिन्न। त्यसको लागि मनोवैज्ञानिक आधारले मिल्ने खुसी, मानसिक शान्तिका उपायहरू र स्वस्थ रहने कलाका ति आयामलाई आफैंले आत्मसात गर्नुपर्छ। जसले मनोबल उच्च राख्न र तनावमुक्त हुन मद्धत पुग्नेछ।
ध्यान र योगलाई निरन्तरता
वर्तमान प्रतिकुल अवस्थालाई मनन गर्दै हामीले योग, ध्यानलाई समय नदिएर समस्या समाधान हुँदैनन्। हामी परिस्थितिको बारेमा जति सोच्दै जान्छौं त्यति मानसिक तनाव बढ्दै जान्छ। योग, ध्यान जस्ता शारीरिक र मानसिक स्वास्थ्य दुबैलाई हित हुने अभ्यासहरूलाई निरन्तरता दिंदै गयौं भने हाम्रो मानसिक शान्तिको मात्रा बढ्छ।
ध्यान र योगको अभ्यासले मन शान्त हुन्छ, अनावश्यक विचारहरू निष्क्रिय हुन पुग्छन् र अकारण रमाइलो लाग्न थाल्छ। विना कारण खुसी बढ्न थाल्छ। यसो गर्नाले शरीरमा इन्डोरफिन नामक हर्मोनको पनि वृद्धि गर्छ। जसले हाम्रो बानी र स्वभावलाई परिवर्तन गरिदिन्छ। रेडियो, टिभीका कार्यक्रम हेर्दा र सुन्दा पनि शिक्षामूलक, मनोरञ्जन दिने, प्रज्ञाको विकास गर्ने खालका र आवश्यक जानकारीमुलक समाचार र सकारात्मक संदेशहरूमात्र हेर्ने र सुन्ने गर्न थाल्छौं।
योग, ध्यान नगर्ने व्यक्ति समस्या अरूमा देख्छ भने ध्यान र योगको विकास हुँदै गएपछि व्यक्ति आफ्नै स्वभावमा रमाउन थाल्छ। अरुलाई सुधार्न होइन आफैंमा शान्त, प्रसन्न, खुसी र सम्यक स्वीकारकासाथ जीवन बाँच्न थाल्दछ। अनावश्यक चिन्ता लिन छोडछ।
प्रसंशा र स्वीकार गर्ने बानीको विकास
देश जतिसुकै सम्पन्न होस्। हामी आर्थिकरूपमा जतिसुकै सम्पन्न बनौं। तर हाम्रो पारिवारिक मेल, साथीभाइसंगको सुमधुर सम्बन्ध, कार्यालय या जहाँपनि, सबैसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ। एकठाउँमा मात्र व्यवहार देखाउन सकिएन भने हाम्रो सफलता र सम्पन्नताको कुनै महत्व हुँदैन। सबैसंगको सुमधुर सम्बन्ध विनाको कर्मले हामीलाई खुसी दिंदैन।
घरमा श्रीमतीले या कसैले पनि मिहिनेत गरेर प्रेमपूर्ण खाना बनाएको हुन्छ। घरको सरसफाई, व्यवस्थापन, किनमेल, करेसाबारी, बालबच्चा, आमाबुबाको हेरचाह, औषधि, पानी लगायतका गनेर नसकिने काम घरका सदस्यले गरेका हुन्छन् । यसले परिवारमा सजिलो भएको हुन्छ। हामीले यो सम्झेर कतिपटक कसैलाई प्रशंसा गरेको वा धन्यवाद दिएका छौं ? घरका सदस्यले यो गर्ने नै काम त हो भन्ने हामीलाई लाग्छ। आफ्नै मान्छेले गरेको काम पनि धन्यवाद दिनुपर्ने ? औपचारिकता निभाउनुपर्ने भन्ने मान्यता हुन्छ।
अरुको प्रशंसा गर्न सक्नु खुबी हो, गुणवत्ता हो । जसले अपेक्षा नगरी प्रशंसा पाउँछ त्यतिबेला ऊ ज्यादै खुसी हुन्छ। सरसफाई गरिदिने, गाडी चलाउने चालक, उब्जाएर भान्छासम्म पुर्याइदिने कृषक जो सुकै हुन् जसको सहयोगबाट हाम्रो जीवनयापन सहज भएको छ ति सबैप्रति मिलेसम्म धन्यवाद व्यक्त गर्ने गरौं।
कार्यालयमा आफूभन्दा तल्लो तहका कर्मचारीले अभिवादन गरेनन् भने रिस उठ्ने पनि हुन्छन् कोही। कतिपय परिचारिका र कार्यालय सहयोगीहरू आफूभन्दा उमेरमा पाको दिदी आमा, दाई, बुबा सरहका हुन्छन्। हामी आफैंबाट अभिवादन गर्दा, उनीहरूको कामको प्रशंसा गर्दा हाम्रो मानवीयतामा ह्रास पक्कै आउँदैन।
आज यो संकटको समयमा पनि कमजोर वर्गलाई उनीहरूको मनोबल बढाउन धेरै मानवीय सहयोग गर्न सकिन्छ। यो बानीले हाम्रो शरीरमा ड़ोपामिन नामक हर्मोनको वृद्धि हुन्छ। हामीमा सकारात्मक गुणवत्ताको विकास हुन्छ। सकारात्मक बन्नाले भविष्यप्रतिको चिन्ता भन्दापनि वर्तमानमा जीवनलाई कसरी खुसी भएर आनन्दकासाथ बिताउन, त्यसमा केन्द्रित हुन मद्धत पुर्याउँछ।
यो संसारमा केहि पनि स्थायी छैन, जीवन नै स्थायी छैन भने जीवनमा आइपर्ने प्रतिकुलता कसरी स्थायी हुन्छन् र ? भन्ने प्रज्ञा जागृत हुन र सम्यक स्वीकार भाव जाग्न सक्यो भने मानिस तनाव र चिन्तामा जाँदैन। प्रशंसा र स्वीकारको भावले जीवनमा धैर्यताको पनि विकास हुन्छ।
धैर्यता गुम्नु र जीवनका प्रतिकुल अवस्थाप्रति कथा बनाउनु मानसिकरूपमा अशान्त हुनु र तनावमा जानुका कारण हुन्।
प्रेम दर्शाउने
जीवनमा जोसंग पनि हामी नजिक छौं, जीवनमा जसको सहयोग र साथले प्रत्यक्ष, अप्रत्यक्षरूपमा हाम्रो सहयोग गरिरहेका छन्। हामीलाई नभएर समाज र राष्ट्रको हितमा काम गरेका छन् ति व्यक्तित्वप्रति प्रेम दर्शाउने बानीले विभेदको संस्कार हट्छ। ऊच, निचको भावना नराखी मानवीय भाव दर्शाउने र प्रेमको अभिव्यक्ति विकास गर्नाले व्यक्ति तनावमा जानै सक्दैन।
प्रेम दर्शाउनुको अर्थ हो जीवनमा कसैको हौसला बढाउनु हो। जीवनको महत्व दर्शाउनु र प्रेम नै जीवनलाई सृजनात्मक बनाउने र प्रत्येक क्षणलाई अहोभावपूर्वक बाँच्न सिकाउने माध्यम हो। हामीभित्र प्रेम छ भनेर मात्र हुँदैन त्यसलाई व्यक्त गर्न पनि जान्नुपर्दछ। प्रेम दर्शाउने अनेक उपाय छन्, व्यक्तिले अपेक्षा गर्नुपूर्व नै उसको नजिक गएर धन्यवाद व्यक्त गर्दै निकट भाव दर्शाउने।
गल्ती वा एक अर्कामा कुनै कुराको तुस बाँकि रहेको छ र क्षमा माग्नु छ भने पनि निकटता दर्शाउने, अभिवादन गर्ने, फूलको गुच्छा उपहार दिने जस्ता अनेक माध्यमबाट हामी प्रेम दर्शाउन सक्छौं। यो बानीको विकास हुनु भनेको हाम्रो शरीरमा अक्सिटोसिन नामक हर्मोनको विकास गराउनु पनि हो। जसले मानिसलाई उर्जाशील बनाउँछ।
त्यसैले व्यक्तिगत, सामाजिक र वैज्ञानिक आधारबाट पनि तनाव मुक्त रहनको लागि कुनै परिश्रम र मुल्य नपर्ने यी विधिलाई निरन्तरता दिन सक्यौं भने मनोवैज्ञानिक रूपमै हामीमा खुसी, सुखी हुने बानीको विकास हुन्छ।
संवाद र सञ्चार
आजको युग सूचना र जानकारीको युग हो। सूचना पाउने धेरै माध्यम, टिभी, रेडियो, पत्रपत्रिका, सामाजिक संजाल आदि आदि माध्यमको प्रयोग गर्छौं हामी। यी सबैको प्रयोगको उद्देश्य हो सही जानकारी र सूचनाले हाम्रो जीवनको विकासमा मद्धत पुर्याउँछ।
साथीभाई, सम्बन्धको नेटवर्कमा हामीले शिक्षामुलक, प्रज्ञा जागृत हुने, सकारात्मक बन्न सघाउने, स्वस्थ जीवन बाँच्न प्रेरित गर्ने, जीवनलाई उत्साहि बनाउने खालका सामग्री मार्फत जानकारी दिनु पर्छ। यसले तनावमा गएको व्यक्तिमा पनि हौसला प्राप्त हुनसक्छ। कसैलाई सही, सकारात्मक, प्रेमपूर्ण, भावपूर्ण, साहस र हौसला प्रदान गर्ने सूचना, जानकारी र उत्प्रेरात्मक सामग्री प्रस्तुत गर्न सक्यौं भने अरूको जीवनमा पनि हित हुने कार्य गर्न सफल हुन्छौं। यस्तो बानीको विकासले हाम्रो शरीरमा सेरोटोनिन् नामक हर्मोनको विकास हुन्छ।
आजका मानिसलाई भौतिक सम्पन्नताले मात्र होइन मनोवैज्ञानिक कारणले दु:ख, तनाव र दिक्दारीमा लगिरहेको हुन्छ। त्यसैले व्यक्ति स्वयंले आफ्नो मनोविज्ञान सकारात्मक बनाउन यी आयामहरूलाई आत्मसात गर्नुपर्छ। राज्यको तर्फबाट पनि मनोवैज्ञानिक रूपले आफ्ना नागरिकहरू तनाव र मानसिक रोगका सिकार नबनुन् भनेर मनोबल बढाउने खालका उत्प्रेरणात्मक कार्यक्रममा जोड दिनुपर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।