|

बैतडी : कोरोना अतिप्रभावित भारतबाट फर्किनेको संख्या बढ्दै गएपछि बैतडीमा पीसीआर परीक्षणको दायरा बढाउन माग गरिएको छ। सरकारले कोरोना परीक्षणको दायरा बढाउन नसक्दा संक्रमण जोखिम बढ्दै गएको भन्दै जिल्लावासीले गम्भीर हुन सरोकारवासँग आग्रह गरेका हुन्‌।

संक्रमण बढी भएका मुलुकबाट आएका नागरिकको पीसीआर परीक्षण नगरेर आरडिटीकै भरपर्दा भयावह अवस्था आउन सक्ने जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्रमुख पृथ्वीराज अवस्थीको भनाइ छ। कोरोनाले आतङ्क सिर्जना गरेकाले सरकारले परीक्षण दायरा बढाउन आवश्यक रहेको उनले बताए। हाल सुदूरपश्चिम प्रदेशमा एक मात्र कोरोना परीक्षण गर्ने पीसीआर मेसिन धनगढीमा मात्रै रहेको छ।

प्रदेशभरबाट संकलित नमूना परीक्षण एउटै प्रयोगशालामा परीक्षण गर्नुपर्दा निकै ढिलाई हुने गरेको छ। प्रदेश सरकारले गत चैतमा बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापनाको निर्णय गरेपनि हालसम्म कार्यान्वयन हुन नसक्दा जोखिम बढ्दै गएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।

३ हजार ४ सय नागरिक क्वारेन्टाइनमा 

बैतडीमा भारतबाट फर्केर आएका ३ हजार ४ सय नागरिक क्वारेन्टाइनमा बसिरहेका छन्। जिल्लाका सबै स्थानीय तहमा गरेर ३ हजार ४ सय ७२ जना क्वारेन्टाइनमा बसिरहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

सिगास गाउँपालिकाको क्वारेन्टाइनमा ५४३ जना बसेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए। यस्तै पुर्चौडी नगरपालिकामा ४४७, पञ्चेश्वर गाउँपालिकामा ४१७, दोगडाकेदार गाउँपालिकामा ३५९, पाटन नगरपालिकामा ३४९,दशरथचन्द नगरपालिकामा ३४२, मेलौली नगरपालिकामा ३१६, शिवनाथ गाउँपालिकामा २५२, डिलाशैनी गाउँपालिकामा २३० र सुर्नया गाउँपालिकामा २१७ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

भारतबाट फर्केर १४ दिन नकटेका र आरडिटी पोजेटिभ आएर रिपोर्ट आउन बाँकी रहेकाहरू हाल क्वारेन्टाइनमा बसिरहेका हुन्। यसका साथै जिल्लामा आरडिटी किट अभाव हुँदा पनि क्वारेन्टाइनको बसाई लम्बिएको छ। आरडिटी किट अभाव भएपछि स्थानीय सरकारले आफैँले किनिरहेका छन्।

क्वारेन्टाइनको बसाई लम्बिँदा व्यवस्थापनमा समेत चुनौती थपिँदै गएको स्थानीय तहहरूले जनाएका छन्। बैतडीमा हाल २३६ स्थानमा गरी ६ हजार ९८९ बेडका क्वारेन्टाइन रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.