बल्ल बनाउन थालियो अलग्गै क्‍वारेन्टाइन

|

काठमाडौं : कोरोना भाइरसको  रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले निर्माण गरेक‍ा क्‍वारेन्टाइनमा ८ जना गर्भवतीले शिशु जन्माएका छन्।

कोरोना भाइरसको त्रास बढ्दै गएपछि मुलुकबाहिर र जिल्लाबाट आएका नागरिकलाई राख्‍न क्‍वारेन्टाइन बनाइएको छ। अधिकांश गर्भवतीहरु भारतबाट आइ क्‍वारेन्टाइनमा बसेका थिए।

यसबीचमा क्‍वारेन्टाइनमै आठजनाले बच्चा जन्माएका छन्। प्युठानको नौबहिनी गाउँपालिका-७ स्थित नेरा आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेकी  सरस्वती पुनले जेठ ३१ गते शिशुलाई जन्म दिइन्। जेठ १७ गते भारतबाट आएर श्रीमान् प्रेम पुनसँगै क्‍वारेन्टाइनमा बसेको थिइन्।

अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ३ को ठाँटीमा नवदुर्गा माविमा बनाइएको क्‍वारेन्टाइनमा सुना नेपाली जेठ १६ गते सुत्केरी भएकी थिइन्। श्रीमान सहित बसेका नेपालीहरु जेठ १२ गते भारतबाट आएका थिए।

दाङको तुलसीपुरस्थित रक्षाचौरको क्‍वारेन्टाइनमा बसेकी अनिता यादवले जुम्ल्याहा शिशुको जन्म दिएको थिइन्। भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट हिडेर घर पुगेको थिइन्।

बाजुराको त्रिबेणी नगरपालिकामा निर्माण गरेको क्‍वारेन्टाइनमा २३ वर्षीय प्रमिला नेपालीले जेठ १९ गते शिशुको जन्म दिएको थिइन्। भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकी थिइन्।

दैलेखको पश्‍चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकामा क्‍वारेन्टाइनमा बसेकी १९ वर्षीय मीना विश्‍वकर्माले जेठ १६ गते शिशुको जन्म दिएको थिइन्। मीना र उनी जेठ १० गते श्रीमान मनबहादुर विश्‍वकर्माको  साथमा भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेकी थिइन्।

डोटीको सिलगढी नगरपालिका-२ को देवी माध्यमिक विद्यालय खातिवडाको क्‍वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका-३ की भवानी आधारभूत विद्यालय खन्याडी छडीमाडौंको क्‍वारेन्टाइनमा रहेकी २५ वर्षीया पुजा सार्कीले छोरा जन्माएकी थिइन्। गीता भारतबाट श्रीमान अमर आउजी सँगै क्‍वारेन्टाइनमा बसेका थिए। त्यसैगरी, पुजा पनि  श्रीमान गगन सिंह सार्कीसँगै भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए।

पश्‍चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्‍वारेन्टाइनमा बसेकी कमला नेपालीले वैशाख १६ गते शिशुको जन्म दिएको थिइन्। चितवनको वीरेन्द्रनगर हुदै उनीहरु श्रीमानसँग क्‍वारेन्टाइनमा बसेका थिए।

त्यसैगरी, उदयपुरबाट गएर ओखलढुंगाको रामपुरमा क्‍वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले वैशाख १० गते मृत शिशु जन्माएकी थिइन्। मोलुङ गाउँपालिका -१ की  १६ वर्षीया अविवाहित युवतीले क्‍वारेन्टाइनमा बसेको बेला मृत शिशुको जन्माएकी थिइन्।

प्युठानको नौबहिनी गाउँपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा एक महिलाले शिशुको जन्म दिएपछि स्थानीय सरकारले निर्माण गरेको गर्भवती महिला बस्ने र अन्य सामान्य मानिस बस्ने क्‍वारेन्टाइन कस्तो छ थाहाखबरले बुझ्ने प्रयास गरेको छ।

'अबदेखि गर्भवतीलाई छुट्टै कोठा'

'क्‍वारेन्टाइन निर्माण गर्दा हामीले सामान्य महिला र पुरुषको लागि भनेर मात्र बनाएर बनाएको थियौँ', नौबहिनी गाउँपालिकाका प्रशासकीय अधिकृत थानेश्वर भण्डारी बताउँछन्,'तर, गर्भवती महिला देखेपछि विशेष खालको क्‍वारेन्टाइन बनाउनुपर्ने महसुस भएको छ।'

उनले भने,'सामान्य महिलालाई जस्तै गरेर क्‍वारेन्टाइनको कोठामा राखिएको थियो। तर अहिले गर्भवती महिलालाई लक्षित गरी छुट्टै कोठा निर्माण गरिएको छ। गर्भवती महिलाको कोरोना परीक्षणमा नेगेटिभ आएर घर पठाइसकिएको छ।‘

भण्डारीका अनुसार स्वास्थ्य चौकी आसपासमा  क्‍वारेन्टाइन बनाइएको छ। क्‍वारेन्टाइनमा रहेका सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। गाउँपालिकामा २३ वटा क्‍वारेन्टाइन छन्। २ सय ९९ पुरुष र ३२ महिला गरि गाउँपालिका ३ सय ३१ जना क्‍वारेन्टाइनमा छन्।

गाउँपालिकाको सबै सरकारी विद्यालयलाई क्‍वारेन्टाइन बनाइएको उनले जानकारी दिए। सुत्नको लागि भुइमा ओछयाउने गुन्द्री, म्याट र ओडने कम्बल दिएको भण्डारीले बताए। बिहान खाजामा चिया बिस्कुट, खानामा दाल,भात र तरकारी र दिउँसो खाजा तथा साँझमा  खाना दिने र सातामा एकपटक मासु सहितको खानेकुरा दिने गरेको उनले प्रष्ट पारे।

'स्वास्थ्यको जिम्मा स्थानीय निकायले लिनुपर्छ'

अहिलेको समयमा क्‍वारेन्टाइनमा बसेका सबैजनाको लागि राज्यका सबै अंगहरु जिम्मेवार हुनुपर्छ,अझ यस्तो समयमा गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने नेपालगञ्जका भेरी अस्पतालका मेडिकल सुपरिडेन्टेड डा. प्रकाश थापा बताउँछन्।

उनले भने,' क्‍वारेन्टाइनमा बसेका महिलामा सुत्केरीको व्यथा लाग्ना साथ तुरुन्तै नजिकैको स्वास्थ्य लानुपर्छ। त्यसको लागि बढी स्थानीय सरकार जिल्ला जनस्वास्थ्य कार्यालय बढी जिम्मेवार हुनुपर्छ।'

क्‍वारेन्टाइनमा बस्ने समयमा महिलाहरु गर्भवती छ, छैनन्, त्यसको परीक्षण गरेर क्‍वारेन्टाइनमा राख्नुपर्ने थापाले बताए। समयमा गर्भवती महिलाको उपचार हुन नसकेमा महिला र बच्चाको ज्यान पनि जान सक्ने उनको भनाइ छ। स्थानीय सरकारले बनाएको अधिकांश क्‍वारेन्टाइन व्यवस्थित नरहेको उनले प्रष्ट पारे। सम्भव भएमा गर्भवती महिलालाई क्‍वारेन्टाइनको सुरुबाट अस्पतालमा गर्नुपर्ने उनको सुझाव छ।

'गर्भवतीलाई स्वास्थकर्मीको निगरानी'

स्थानीय सरकारले बनाएको क्‍वारेन्टाइनको अनुगमन गरिरहेको छौ, गर्भवती महिलाले धमाधम क्‍वारेन्टाइनमा बच्चा जन्माउन थालेपछि महिलाको लागि बस्ने छुट्टै कोठा बनाउनको लागि व्यवस्था गरिरहेको प्रदेश ५ का चिकित्सा महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले बताए।

उनका अनुसार गर्भवती महिला भएमा प्रत्यक्ष स्वास्थ्यकर्मीको रुपमा राख्न लगाउने व्यवस्था गरेका छौ। गर्भवती महिला भएमा क्‍वारेन्टाइनको छुट्टै कोठामा व्यवस्थित तरिकाले राख्न पनि निर्देशन दिइसकिएको छ।

भारतबाट आएको मानिसलाई क्‍वारेन्टाइनमा राख्नुपर्ने भएकोले पनि गर्भवती महिला लगायत सबैलाई राखिएको उनले चौधरीले बताए। अबदेखि गर्भवती महिलाहरु आएमा स्वास्थ्यकर्मीको निगरानीमा राखिने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.