लक्षण नदेखिएकालाई घर पठाउने निर्देशिकाअनुसार घर गएका थिए संक्रमित

|

बैतडी : आज सोमबार थपिएका सबै संक्रमित शिवनाथ गाउँपालिकाका हुन्। धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप हुनेमा १० महिला र ११ पुरुष छन्।

वडा नं २ का एक महिलासहित ७ जना, वडा नं ३ का ४ जना पुरुष, वडा नं ४ का ५ जना पुरुष, र वडा नं ६ का ५ जना पुरुष भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए। 

उनीहरु सबै गत जेठ ८ र ९ गते भारतबाट फर्किएका बुझिएको छ।  योसँगै बैतडीमा संक्रमितको संख्या २७ पुगेको छ।  जसमध्ये पाटनका १ जना अझै आइसोलेसनमा रहेका छन् भने ५ जना डिस्चार्ज भइसकेका छन्। संक्रमित २७ जनामध्ये २६ जना शिवनाथकै रहेका छन्। एक जना पाटन नगरपालिकाका संक्रमित आइसोलेसनमा रहेका छन् ।  

बैतडीका सबै संक्रमित सबै भारतबाट फर्किएका थिए

बैतडीका सबै २७ जना संक्रमित भारतबाट फर्किएका बुझिएको छ । यसअघि पुष्टि भएका ५ सहित आज थपिएका २१ जना सबै भारतबाट फर्किएका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  बैतडीमा भारतबाट फर्किएका ३ हजार १ सय जना अझै पनि क्वारेन्टाइनमै छन्।  

संक्रमित १७ जना यसअघि नै घर गएका थिए

शिवनाथका आज संक्रमण पुष्टि भएका २१ जनामध्ये १७ जना यसअघि नै घर गएको पाइएको छ। घर जानेहरुमा वडा नं २ का एक महिलासहित ७ जना, वडा नं ४ का ५ जना पुरुष, र वडा नं ६ का ५ जना पुरुष छन् । वडा नं ३ का ४ जना पुरुष मात्रै हाल क्वारेन्टाइनमा रहेका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र सिंह महताले बताए। 

भारतबाट फर्किएका उनीहरुको १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडिटी पोजेटिभ आएको र स्वाब संकलन पश्चात उनीहरु घर गएका हुन् । नयाँ निर्देशिकाअनुसार लक्षण नदेखिएका र सामान्य अवस्थालाई घर पठाउन सकिने स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार घर पठाइएको हो। 

यसअघि नै घर पठाइएका उनीहरुलाई पुनः ल्याएर आइसोलेसनमा राख्ने कि के गर्नेबारे छलफल भइरहेको उनले बताए।  बैतडीमा पहिलो संक्रमित गत जेठ ९ गते फेला परेका थिए । त्यसपछि जेठ १० गते थप ४ जनामा पुष्टि भयो भने जेठ १९ गते फेरि १ जना थपिएका थिए।  

गत जेठ १९ गतेपश्चात असार १ गते आज एकै दिन थप २१ जना संक्रमित थपिएका हुन् ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.