|

म्याग्दी : म्याग्दीको एक मात्र नगरपालिका बेनीभित्रकै सबैभन्दा जोखिमयुक्त बेनी-बगरफाँट-दुधेखोला-भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीबासी बन्दाबन्दी र वर्षाको समयमा पनि दिनभर श्रमदानमा खटिरहेका छन्।

पर्याप्त बजेट हुँदाहुँदै पनि बन्दाबन्दीका कारण विकास निर्माणका कैयौं योजना/आयोजनाहरू संचालन हुन नसकिरहेको अवस्थामा बेनी नगरपालिका वडा नं ३, भकिम्लीमा भने जनस्तरबाट नै धमाधम काम भैरहेको छ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेरडेढ दशकअघि ट्र्याक खोलेको सडक कच्ची र साँघुरो अवस्थामै रहेको छ। चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि दूधेखोला-हल्लेगौडा-डाँडाखानी-डोले हुँदै मुसुङ्ग-भकिम्ली जोड्ने १३ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। 

नगरपालिकाको बजेटबाट मात्रै सडक विस्तारमा गति नलिने देखिएपछि भकिम्लीबासी उर्लिएर सडक निर्माणमा दैनिकजसो श्रमदान गरिरहेका छन्। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सडक स्तरोन्नतीसहित आवश्यक पूर्वाधारको काममा ढिलासुस्ती हुन थालेपछि भकिम्लीवासी विहानदेखि साँझसम्म सडक स्तरउन्नतीमा खट्ने गरेको वडा अध्यक्ष पदम पुनले बताए। ट्र्याक खुलेको डेढ दशकपछि म्याग्दीको बेनी नगरपालिका-३, दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नतिले पछिल्लो दुईवर्ष यता निरन्तरता पाइरहेको छ। 

नगरपालिकाको बजेटबाहेक स्तरोउन्नति भइरहेको क्षेत्र आसपासका बस्तीबाट हरेक घरधुरीले २ दिन र माथिल्लो क्षेत्रबाट यूवा, आमा समुहको नेतृत्वमा आएर १ दिन श्रमदान गर्ने गरेका छन्‌।

बेनी नगरपालिकाले विनियोजन गरेको ६० लाख रुपैयाँबाट ढलान २ सय मिटर, पक्की नाली ६ सय मिटर, सोलिङ ३ सय मिटर, कच्ची नाली ३ सय मिटर, र ग्याबिनजाली ३ सय ५० थान लगाइने छ। उक्त सडकमा स्थानीयले करिब १० लाख रुपैयाँ हाराहारीमा श्रमदान गर्ने स्थानीय याम बहादुर घर्तीले बताए। 

सडक स्तरोन्नतीका लागि राजनीतिक दलका कार्यकर्तासहित विद्यालयका शिक्षकले समेत श्रमदान गरेका छन्। तीन मिटर चौडाइ सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएपछि स्थानीय समेत उत्साहित छन्। 

साँधुरो घुम्तीसँगै जोखिमपूर्ण सडकका कारण बस्ती आसपासमै दुर्घटना देखेका भकिम्लीबासी यो सडकलाई नमुना बनाउने अभियानमा रहेका छन्। भकिम्लीका हरेक विकास निर्माणमा विगतदेखि नै समुदायले श्रमदान गर्दै आएका छन्‌।

सडकमा स्थानीयसँगै वडा अध्यक्ष पदम पुनले पनि निरन्तर श्रमदान गरिरहेका छन्। सडकको स्तरोन्नती गरिए भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुन बताउँछन्। यो सडक बेनी नगरपालिकाको गौरवको योजना समेत हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.