थापा भन्छन् : करिअर बबार्द भयो, क्षतिपूर्ति कसले दिन्छ?

|

इलाम : सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ५ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो। 

२ वर्षअघि विशेष अदातलबाट सफाई पाएका थापासहित ५ जनाको मुद्दा सरकारी वकिलले सर्वोच्चमा लगेका थिए। त्यसपछि उनीहरुको लागि सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षा थियो। आज सर्वोच्चले समेत सफाइ दिएपछि सागरले नेपाली फुटबलमा कम्व्याकको पर्खाइ रहेको बताए। थाहाखबरसँग कुरा गर्दै थापाले एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न एन्फाबाट पहल गर्नुपर्ने बताए।

एन्फालाई प्रश्न गर्दै थापाले भने, ‘हामीलाई नेपालको कानुनले पटक पटक सफाइ दिएको छ, अब एन्फाले प्रतिबन्ध फुकुवा गर्न कहिले पहल गर्छ ?’ एएफसीले सकारात्मक निर्णय दिए फेरि खेल जगतमा लाग्ने कप्तान थापाले बताए।

‘फुटबलमा कमब्याक गर्ने सोचेर बसेको छु।’ उनले भने, ‘वास्तविकतामा भन्नुपर्दा लामो समयको ग्यापका कारण फेरि फुटबल फर्कन पक्कै गाह्रो हुन्छ। फुटबल क्षेत्रमा आएर खेल्न सके खेल्ने नसके फुटबल विकासमा लाग्नेछु। यो बारेमा एन्फाले सोचोस्।’

उनले नेपाली फुटबलमा उचाइ लिइरहेको समयमा भएको प्रतिबन्धको क्षतिपूर्ति दिनुपर्ने बताए। ‘फुटबल करियर त सकियो समाजमा समेत बेइज्जत गराइयो। अब क्षतिपूर्तिको कुरा हुन्छ। यत्रो वर्ष फुटबलमै बिताइयो। फुटबलमै भविष्य बनाउने सोच बनाएसँगै प्रतिबन्ध लगाइयो। त्यो समयदेखि अहिलेसम्म ५ वर्षसम्म खेल्न नपाउँदाको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न आउनुपर्छ’, उनले भने, ‘एन्फाले दिने कि सरकारले ?’ फुटबलमा कमव्याकको लागि एएफसीको फुकुवा मात्र अब बाँकी रहेको उनले बताए। 

महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइए पनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए। अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.