|

सुर्खेत : कर्णााली प्रदेश सरकारले सडक दुर्घटना परेकाहरुको उद्धार गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले जानकारी दिए।

मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना बढी हुने भएकाले पनि सरकारले सडक दुर्घटनाहरुमा परेकाहरुलाई उद्धार गर्ने कार्यक्रम ल्याएको जनाए।

‘कर्णालीमा सडक दुर्घटना पनि भइरहेका छन्, भौगलिक विकटताका कारण घाइतेहरुले समयमा उपचार नपाएर ज्यान गुमाएका छन्,’उनले भने, ‘हामीले प्राकृतिक विपद बिमा सबै नागरिकले गरिसकेका छौं, सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम पनि ल्याएका छौं।’

मन्त्री ज्वालाले सडक दुर्घटनामा परेकाहरुको आवश्यकताअनुसार गाडए वा हवाईमार्गबाट पनि उद्धार गरिने बताए। ‘आवश्यकताअनुसार गाडीबाट हुन्छ कि हेलिकप्टरबाट हुन्छ, सडक दुर्घटनामा परेकाहरुको उद्धार प्रदेश सरकारले गर्छ, उपचारको ढिलाइका कारण सडक दुर्घटनामा परेकाले ज्यान गुमाउनु पर्दैन,’ उनले भने, ‘सरकारले उद्धारका साथै उपचार पनि गर्छ।’

उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दुई करोड रकम विनियोजन गरेको मन्त्री ज्वालाले जानकारी दिए। उनले देशमै कर्णाली बढी सडक दुर्घटना हुने र मुत्यु हुने प्रतिशतका आधारमा अगाडि भएको भन्दै सडक सुरक्षा कार्यक्रमअन्र्तगत सो कार्याक्रम ल्याएको जनाए।

‘कर्णालीमा सडकको स्तर पनि राम्रो छैन, सडक सुरक्षासम्बन्धी जनचेतना पनि कमी छ,’ उनले भने, ‘सडक सुशासन कार्यक्रम तथा जन चेतना कार्यक्रम पनि अघि बढाउनु पर्छ।’ यसअघि पनि कर्णाली सरकारले सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.