|

सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच भएको झडपमा २० भारतीय सैनिक मारिए। आफ्ना थप १५ सैनिक बेपत्ता भएको भारतले जनाएको छ। 

भारतीय सेनाले सो रात दुई पटकसम्म दुई देशबीचको सीमा छुट्याउने 'लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)' पार गरेर आक्रमण थालेपछि आफूहरुले प्रतिवाद गरेको चीनले बताएको छ।

भारतले चाहिँ सीमा विवादबारे वार्ता गर्न जाँदा चिनियाँ सैनिकले आफ्ना सैनिक मारिदिएको आरोप लगाएको छ। झडपमा भारतीय सेनाका कमाण्डिङ अधिकृत नै मारिएका छन्। 

चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए

तीन घण्टासम्म दुई देशका सैनिकहरूबीच झडप भएको बताइएको छ।

ढुङ्गा, चक्कु र लठ्ठी प्रयोग 

भारत र चीन दुवै आणविक शक्ति सम्पन्न देश हुन्। सीमामा दुवै देशका सैनिक अत्याधुनिक र भारी हातहतियारसहित खटिन्छन्। तर २० जना भारतीय सेनाको ज्यान जानेगरी भएको झडपमा गोली चलेको पुष्ट खबर अहिलेसम्म आएको छैन।

समुद्री सतहबाट १४ हजार फिटमाथि आधारातसम्म भएको सो झडपमा दुवै पक्षले ढुङ्गा, चक्कु र लाठी प्रयोग गरेका थिए।

भारतले चीनकाे सिमानजिक पहाडी जमिनी युद्धमा प्रयोग गर्ने बोफोर्स तोप यसअघि नै राखिसकेको छ भने चीनले पनि होबित्जर तोप तैनाथ गरेको छ। तर सोमबार राती भएको झडपमा बन्दुक या तोप केही पनि चलेको जानकारी आइसकेको छैन।

घाइते सैनिकले उपचार नपाउँदा चिसोले मृत्यु

गलवान उपत्यका समुद्री सतहबाट १४ हजार फिटभन्दा धेरै उचाइमा छ।

यति चिसो ठाउँमा भएको झडपमा घाइते भएका सैनिकको उपचार भारतले समयमै गर्न नसकेको र चिसोकै कारण उनीहरुको ज्यान गएको हुनसक्ने माउन्टेन वारफेयर (पर्वतीय युद्धकला) का जानकारहरु बताउँछन्।

चीनका पनि ४३ सैनिकको ज्यान गएको भारतीय मिडियाहरूले दावी गरेका छन्। तर चीनका तर्फबाट आफ्ना सैनिक हताहत भएकाबारे अहिलेसम्म पुष्टि भएको छैन।

भारतले नै बढाउँदै थियो तनाव 

चीनसँग रक्तपात पूर्ण झडपको पृष्ठभूमि भारतले नै तयार गरेको देखिएको छ। मे पाँच तारिखमा पूर्वी लद्दाखको पैंगोंग ताल नजिकै भारतले करिब २०० सेनालाई चिनियाँ सेनासँग भिड्न पठाएको थियो। पूरै रात टकरावको वातावरण बनेको थियो र त्यसको भोलिपल्ट नै दुई देशका सैनिकबीच हात-हालाहाल भएको थियो। 

९ मे मा पनि उत्तरी सिक्किमको नाकु ला सेक्टरमा भारतका १५० सैनिक चिनियाँ सैनिकसँग आमनेसामने भएका थिए। भारतले लेह एअरबेसबाट आफ्नो सुखोई एमकेआई फाइटर प्लेन चीनतर्फ उडाएको थियो।

त्यसलगत्तै भएको झडपमा भारतका १० सैनिक घाइते भएपछि दुवै देशका सैनिक कमान्डरबीच वार्ता भएको थियो। त्यसपछि झडप रोकिएको थियो। 

बेखबर थियो नयाँदिल्ली

भारतीय अनलाइन दैनिक भास्करका अनुसार सोमबार रात १२ देखि २ बजेसम्म लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएको थियो। यो घटनाबारे दिल्लीलाई पनि कुनै जानकारी थिएन। 

चिनियाँ सेनासँगको झडपमा आफ्ना २० सैनिक मारिएको ११ घण्टापछि मंगलबार दिउँसो २ बजेतिर बल्ल भारतीय सेनाले विज्ञप्ति जारी गरेको थियो। तर सो विज्ञप्तिमा कर्नेसहित आफ्ना तीन सैनिक मारिएको दावी गरिएको थियो। 

दिउँसो तीन बजेसम्म पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २० राज्यका मुख्यमन्त्रीसँग छलफल गरिरहेका थिए। देशवासीलाई मास्क लगाएर मात्र बाहिर निस्कन उनी सुझाव दिँदै थिए। 

मंगलबार राती आठ बजे बल्ल प्रधानमन्त्री मोदीको निवासमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत भेला भए। 

बैठक बसिरहँदा राती १० बजेमात्र चीनसँगको सीमामा २० सैनिक जवान शहीद भएको खबर आएको थियो। सो खबर आएपछि राती १०ः३० बजे मोदी निवासमा बसेको सो बैठक अन्त्य भयो। 

झडपपछि चीनद्वारा वार्ता आह्वान 

सीमामा भारतीय सैनिक हताहत भएपछि स्थितिलाई थप खराब हुन नदिन चीनले मंगलबार बिहानै वार्ताका लागि भारतलाई आह्वान गरेको थियो।

गलवान उपत्यकामै भएको सो बैठकमा दुवै देशका मेजर जनरलका बीच कुराकानी भएको भनिएको छ। 

पालैपालो भारतीय सैनिकको शव 

चिनियाँ सैनिकहरूले भारतीय सैनिकको शव एकपछि अर्को गरी पठाएका थिए। केही भारतीय सैनिकहरु नदीमा खसेको बताइएको छ।

नदीमा अहिले पनि सैनिकको शव भेटिइरहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। 

ज्यान गुमाएका २० मध्ये १६ सैनिक बिहार रेजिमेन्टका रहेको खुलेको छ। 

तीन सैनिकलाई गोली लागेको दावी 

भारतीय सैनिक सूत्रले तीन सैनिकलाई गोली लागेको दावी गरेको छ।

चीनले ४५ जना भारतीय सैनिकलाई कब्जामा लिएको र यीमध्ये २५ जनालाई मात्र छाडिदिएको भनिएको छ। १३५ जना भारतीय सैनिक घाइते भएको बताइएको छ। 

चीनको उपस्थिति झन् मजबुद

पछिल्लो रक्तपातपूर्ण झडपपछि चीनले लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।

त्यस क्षेत्रमा चिनियाँ सैनिक हेलिकोप्टरले नियमित उडान भरिरहेको खबर भारतीय मिडियाहरूले नै दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.